टिपरको ठक्करबाट काठमाण्डौको सुन्दरीजल र तिनकुनेमा गरी दुई जन...
चैत २, २०८१ शनिबार
काठमाण्डौ – आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ ।
संविधानकै धारा ५१ मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकार, सुरक्षित हुने अधिकार, गलत व्यापारिक क्रियाकलापविरुद्ध कारबाही गराउन पाउने अधिकार, हानिविरुद्ध क्षतिपूर्ति पाउने तथा सुनुवाइ हुने अधिकारको प्रत्याभूति गरिएको छ ।
संविधान र कानुनमा स्पष्ट व्यवस्था भए पनि कार्यान्वयनमा समस्या छ । उपभोक्ताहरु अस्पताल, शिक्षण संस्था, सञ्चार, यातायत, विद्युत खानेपानी, बैंक तथा वित्तीय संस्था, खाद्यान्नलगायतमा वस्तु वा सेवा लिने क्रममा ठगिने गरेका छन् ।
बजारमा बिक्रीमा राखिएका हरेक वस्तु वा सेवामा अनिवार्य गुणस्तरको मानक तोकिनुपर्ने, लेबल नभएका वस्तु बजारमा बिक्री वितरण गर्न नपाउने कानूनी व्यवस्था छ ।
पालिकाका उपमेयर वा उपाध्यक्षको अध्यक्षतामा उपभोक्ता हित संरक्षण समितिले स्थानीय बजार व्यवस्थापन गर्ने, बजार अनुगमन गर्ने र उपभोक्ता सचेतना गर्ने गराउने दायित्व तोकिएको छ ।
सातवटै प्रदेश सरकारलाई पनि वस्तु तथा सेवा बजार व्यवस्थापन र उपभोक्ता सशक्तीकरण गर्ने दायित्वसमेत तोकिएको छ ।
यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन अवस्था अनुगमन गरेर यसको कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था गरिएको छ । तर कार्यान्वयन हुन सकेको छैन । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाका अनुसार नियामकीय निकायले प्रभावकारी काम गर्न नसक्दा उपभोक्ता अधिकार कार्यान्वयनमा समस्या देखिएको हो । आफ्नो अधिकार प्राप्तिको लागि उपभोक्ता आफैँ सचेत रहन उहाँको सुझाव छ ।
यसैबीच उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन हुन लागेको छ । उपभोक्ता अदालतको आज उद्घाटन हुने छ भने अदालतले भोलिदेखि आफ्नो काम शुरू गर्ने छ ।
अब उपभोक्ताले आफू ठगिएमा उपभोक्ता अदालतमा जान सक्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगीमा नपर्ने दाबी गर्नुभएको छ ।
उपभोक्ता अदालतबाट हुने फैसलाको नजिरका कारण उपभोक्ता ठगिने क्रम कम हुँदै जाने र अदालतबाट हुने फैसलाले व्यवसायीहरुमा पनि सुधार हुने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।