शेयर बजारमा आज अहिलेसम्मकै उच्च कारोबार : चार अर्ब नाघ्याे

 फागुन १४, २०७६ बुधबार १५:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

शेयर बजारमा  बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ ।

शेयर बजारमा कारोबार रकम अहिले सम्मकै उच्च ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको भएको छ । १ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर खरिद बिक्री भएको छ । परिसूचक नेप्से पनि ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक ९ दशमलव ४९ अंकले बढेर ३ सय ३६ दशमलव शून्य ५ को छ ।

बुधबार शेयर बजार समान्य रहने आकलन लगानीकर्ताले गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि लगानीकर्ता उत्साहित हुँदा कारोबार रकम बढेको देखिन्छ । जसको कारण शेयरको माग बढ्न गइ नेप्सेमा पनि उच्च वृद्धि भएको छ ।

अर्थमन्त्री खतिवडा लगानीकर्ताले नरुचाइएका अर्थमन्त्री भएका कारण राष्ट्रिय सभाबाट बाहिरिँदा अर्थमन्त्रीबाट समेत बाहिरिनुपर्ने अवस्था आउने र शेयर बजार प्रति विरोधीका रुपमा चिनिएका व्यक्ति बाहिरिँदा बजारलाई फाइदा पुग्ने विश्लेषण लगानीकर्ताहरुको छ । जसका कारण केही दिन देखि बजारको कारोबार रकमसँगै नेप्से परिसूचक बढ्दै आएको छ ।

बाजरमा एभरेष्ट बैंक,राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपालको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कालिका पावर, गुरास लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, शिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनीका शेयरधनीले ८ दशमलव २९ प्रतिशतले गुमाएका छन् ।

बजारमा सबै समूहका सूचकहरु बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६ दशमलव १२ प्रतिशतले बढेको छ । बैंकिङ समूह पनि ३ दशमलव ८६ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ६३ प्रतिशत, होटल समूह ३ दशमलव ७७, निर्जीवन बीमा समूह ४ दशमलव १८ प्रतिशतले बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै २१ करोड ९९लाख ४७ हजार २ सय ५७ रुपैयाँको भएको छ । शिवम सिमेन्टको साढे १८ करोड रुपैयाँको कारोबार भएको छ । १० करोड भन्दा माथि कारोबार हुने ८ कम्पनी रहेका छन् ।

बजारमा ठुला लगानीकर्ताको प्रवेश हुन थालेपछि कारोबार रकम बढेको र साना लागनीकर्ताले पनि ठुला लगानीकर्ताको पछि लागेको देखिएको छ । त्यस्तै शेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सजिलै कर्जा उपलब्ध गराउन थालेपछि बजारमा कारोबार बढेको देखिन्छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया