श्रीलङ्कासँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघ...
पुस २४, २०८१ बुधबार
क्रिसमस दिवस र अंग्रेजी नयाँ वर्ष २०२५ नजिकिँदै गर्दा शहरबजारका ठाउँठाउँमा छुट्टै रौनक बढ्न थालेको छ । मुख्य बजार, सपिङ मल र रेस्टुराँहरू क्रिसमसको झिलिमिलीले सजिएका छन् । ललितपुरको लबिम मल पनि चिटिक्क सिँगारिएको छ ।
मल बाहिर र भित्रको दृश्य आकर्षक छ, जहाँ सेतो, हरियो र पहेँलो बत्तीको सान्ता क्लजको प्रवेश गेट बनाइएको छ । निलो, हरियो, पहेँलो रंगका झिलिमिली बत्तीहरूले सजाइएको ठूलो, उज्यालो क्रिसमस ट्रीले सबैको ध्यान तान्छ । त्यहाँ पुग्नेहरु फोटो खिच्दै रमाइरहेका देखिन्छन् । भित्र प्रवेश गर्दा, रातो, हरियो र सेतो रंगहरूमा सिंगारिएको विशाल कोनाकार क्रिसमस ट्री झुन्ड्याइएको देख्न सकिन्छ, जसलाई चम्किला कृत्रिम ताराहरू र हावामा कुदिरहेका सुनौला हरिणका आकृतिहरूले थप आकर्षक बनाएको छ ।
रूखको टुप्पामा चम्किलो चाँदीको तारा छ, मलभरि झुण्डिएका ताराहरू, रंगीन सजावट र रेलिंगसँगै राखिएका सेता कृत्रिम ताराहरू तथा गहनाहरूले झन झिलिमिलि बनाएको छ । रंगीन कागज र सुनौलो धनुषले सजाइएका ठूला उपहार बक्सहरू राखिएको छ । ‘यी आकर्षक सजावटहरूले ग्राहकहरूलाई मलतिर आकर्षित गरिरहेका छन्,’ मलमै लुगा पसल चलाउँदै आउनुभएकी संगिता चौधरी भन्नुहुन्छ।
यो पर्वलाई इसाई धर्मावलम्बीले धुमधामले मनाउने गर्छन् । क्रिसमसमा प्रयोग हुने सबै सामानको विशेष महत्व छ । क्रिसमस ट्री, प्रायः झिलिमिली बत्ती र रंगीन गहनाहरूले सजाइएको यो चाडको केन्द्रीय प्रतीक हो, जसले येशू ख्रीष्टको जन्मोत्सवको प्रतिनिधित्व गर्दछ । बत्तीहरूले अँध्यारोमा सत्यको उज्यालो झल्काउँछन् । सेन्ट निकोलसको कथाबाट उत्पत्ति भएको परम्पराअनुसार झुण्ड्याइने जुत्ताहरूमा उपहार राख्ने चलन छ । रातो र सेतो पोशाकमा लामो सेतो दारीसहितको सान्ता क्लज, जो हरिणले तान्ने रथमा बसेर घरघरमा बच्चाहरूलाई उपहार बाँड्दै हिँड्छन्, क्रिसमसको अर्को महत्वपूर्ण प्रतीक हुन् । सान्ता क्लजलाई प्रायः बालबालिकालाई खुशी बनाउने रमाइलो पात्रका रूपमा चित्रण गरिन्छ ।
केही वर्षदेखि नेपालमा पनि क्रिसमसको प्रभाव बढ्दो छ, विशेष इसाई धर्मावलम्बीहरुले यो पर्वलाई धुमधामले मनाउँछन् । यो पर्वले नेपाली समाजमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । क्रिसमसले नेपाली समाजमा विविधता र समावेशीकरणलाई झल्काउँदै प्रेम र मेलमिलापको उत्सव बन्दै गइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।