नेपालमा पढ्दै कमाउँदै गर्ने वातावरण नै छैन

 पुष २२, २०८१ सोमबार ११:६:१६ | श्रीज्या काफ्ले
unn.prixa.net

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा अर्थशास्त्र विभागमा सर्वोत्कृष्ट भएर तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाउँदा म धेरै नै खुशी छु ।

पढाइमा सानैदेखि अब्बल थिएँ । परिवारको पनि साथ र सहयोग थियो । अहिले पनि छ । मजस्तै कतिपय छात्राहरुलाई यहाँसम्म आइपुग्न पारिवारिक र सामाजिक अवरोध हुने गरेको मैले देखेको छु । तर मैले त्यस्तो समस्या भोग्नु परेन ।

विद्यार्थीले पढ्ने आ–आफ्नो तरिका हुन्छ । मलाई चाहिँ पढ्नको लागि किताब नै चाहिन्छ । आफूभन्दा अगाडिका दाइदिदीको कपी ल्याएर पढ्न सकिन्छ । इन्टरनेटको सुविधा लिन सकिन्छ । सामाजिक सञ्जाललाई सही सदुपयोग गर्‍यो भनि पढ्नलाई जति पनि सामग्री पाइन्छ ।

मेरो सबैभन्दा बढी लेखेर पढ्ने बानी छ । मैले विषयलाई बुझ्दै पढ्दै लेख्ने गर्छु । एउटै विषय पढिरह्यो भने झ्याउ लाग्न सक्छ । त्यसैले पढ्दा विषय परिवर्तन गर्दै पढ्ने मेरो बानी छ । त्यस्तै कपीमा सफा र बुझिने लेखाइ हुनुपर्छ ।

अब मलाई नेपालमा महिला अर्थशास्त्रीको रूपमा चिनिने चाहना छ । त्यसका लागि मेहनत त गर्नुपर्‍यो । विदेशमा गएर विद्यावारिधी गर्ने सोच भएकाले त्यसको लागि तयारी गर्दैछु ।

विदेशको प्रणाली नेपालकोभन्दा फरक छ । गुणस्तरीय शिक्षा, अनुसन्धान र आफ्नो प्रतिभा प्रस्फुटन गराउन पाउने भएकाले पनि एक पटक विदेश जाने तयारी गरिरहेको छु । नेपालमै विद्यावारिधि गर्ने सम्भावना त छ तर बाहिरी देशमा गएर त्यहाँ सिकेको र अनुभव गरेका कुरालाई नेपालमा आएर कार्यान्वयन गर्न सकिन्छ कि भन्ने हो ।

विकसित देशमा नयाँ–नयाँ कुराको खोज अनुसन्धान भइरहेको हुन्छ । नेपालमा ल्याएर सानो कुराको कार्यान्वयन गर्न सक्यौँ भने पनि ठूलो प्रभाव पर्न सक्छ । त्यसैले एक पटक बाहिरी वातावरण थाहा पाउन पनि जान मन छ ।

नेपालमा पढ्दै काम गर्ने प्रणाली भएन

अहिले १२ कक्षा पास गर्ने बित्तिकै धेरै विद्यार्थीलाई विदेश जाने हुटहुटी लागिरहेको हुन्छ । कोही चाहिँ साथीको लहैलहैमा जाने प्रवृत्ति पनि छ । साथी गयो, म किन यहाँ बस्ने ? त्यहाँ गएर साथीले नयाँ फोन किनिसक्यो, आमाबुबालाई बोलाइसक्यो, अब मैले पनि त्यसै गर्नुपर्छ भन्ने एउटा प्रवृत्ति देखिन्छ ।

अर्को कारण चाहिँ बाध्यता छ । अहिलेलाई ऋण गरेर भए पनि जाने, पछि तिरिन्छ भनेर जाने गरेको पनि देखिन्छ । मुख्य कारण भनेको नेपालमा पैसा कमाउँदै पढ्ने वातावरण छैन । पैसा कमाउँदै पढ्यो भने आफ्नो अनुभव पनि भयो । साथै परिवारलाई अलिकति भए पनि आर्थिक रूपमा सहयोग पुग्छ । पैसा कमाउन थालेपछि विद्यार्थीलाई एउटा आश्वासन हुन्छ । यो प्रणाली जबसम्म लागू हुँदैन तबसम्म विद्यार्थी विदेशिने क्रम बढीरहन्छ ।

नेपालमा विद्यार्थीले स्नातक र स्नातकोत्तर गरे पनि जागिर पाउन गाह्रो छ । पाइहाल्यो भने पनि बिहानदेखि साँझसम्म काम गर्दा उसैलाई नै पुग्दैन । विदेशमा नेपालमा भन्दा कम समय काम गर्दा पनि धेरै आम्दानी हुन्छ । अर्को कुरा विद्यार्थीले अनुसन्धानमुलक शिक्षा सिक्नका लागि नेपालमा वातावरण छैन ।

मैले स्नातकोत्तर सकेँ, ‘गोल्ड मेडलिस्ट’ पनि हो । मैले विश्व बैङ्क, एशियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमा इन्टर्न पाउन एकदम गाह्रो हुन्छ । साथीले विदेशको विश्वविद्यालयबाट स्नातकोत्तर सक्दा उसको विषय अनुसार सजिलै इन्टर्न पाउँछ । त्यसका लागि त्यो विश्वविद्यालयले पनि सहज बनाइदिन्छ । यो भन्दै गर्दा नेपालमा केही पनि भएन भन्ने पनि होइन । प्रयोगात्मक प्रणालीमा हाम्रा विश्वविद्यालयहरुले मुख्य ध्यान दिनुपर्ने देखिन्छ ।

सुधारका उपाय

नेपाल सबैभन्दा धेरै जनशक्ति उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालय हो । देशमा धेरै निकायमा उच्च पदस्थतदेखि सेवामा कार्यरत जनशक्ति पनि त्रिभुवन विश्वविद्यालयबाटै उत्पादन भएका हुन् । सँगसँगै त्रिभुवन विश्वविद्यालय सबैभन्दा धेरै बेरोजगार उत्पादन गर्ने ठाउँ भनेर पनि चिनिन्छ ।

म पढेको अर्थशास्त्र सङ्कायमा एक्पोजर राम्रो पाएँ । त्यहाँ विदेशबाट प्राध्यापक बोलाएर पनि पाठ्यक्रमसहितका बारेमा जानकारी गराउनुहुन्थ्यो । तर साढे दुई वर्षको पाठ्यक्रमलाई साढे तीन वर्ष लाग्यो ।

काठमाण्डौ विश्वविद्यालयमा शैक्षिक पात्रोअनुसार परीक्षा हुन्छ, तर त्रिभुवन विश्वविद्यालयमा पात्रो बनाएर पनि लागू हुँदैन । त्रिभुवन विश्वविद्यालयमा स्रोत साधन हुँदा पनि काम नभएको देखिन्छ । पाठ्यक्रम पुरानो भएकाले अहिलेको समसामयिक विषयलाई पनि जोडेर विकास गर्नुपर्ने देखिन्छ ।

अर्को कुरा भनेको विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्न पनि कम ओजनको हुन्छ । त्यहाँ विद्यार्थीले गरेका प्रयोगात्मक अध्ययन अनुसन्धानमा आधारित भएर प्रश्न हुनुपर्ने हो । तर धेरैजसो प्रश्न कुनै शीर्षकको परिचय र व्याख्या गर मात्र भनेर सोधिन्छ । यसले विद्यार्थीको रचनात्मक उत्तरलाई सघाउ पुर्‍याउँदैन । त्यसैले परीक्षा प्रणाालीमा पनि सुधार हुन आवश्यक देखिन्छ ।

त्यसपछि भनेको प्रशासनिक प्रक्रियामा सुधार हुन जरुरी छ । परीक्षाको नतिजापछि पाइने  प्रमाणपत्र आउन पनि ढिला हुन्छ । हरेक सङ्कायको सोधपत्र तयार भएपछि एउटा कर्मचारीले हेरेर अङ्क टिपेर लैजानु हुन्छ । त्यसरी विश्वविद्यालयले कसरी छिटो नजिता दिन सक्छ ? कम्तीमा सामान्य प्रविधिको प्रयोग पनि गर्न नसकेको देखिन्छ ।

काठमाण्डौ विश्वविद्यालयमा प्रमाणपत्र लिनलाई चिन्ता लिनै पर्दैन । यो दिन प्रमाणपत्र आउँछ भनेर सूचना आउँछ त्यो दिन गयो लियो । कसैलाई भन्नु पनि पर्दैन ।

यस्तै त्रिभुवन विश्वविद्यालयमा परीक्षाको नतिजा आएपछि बल्ल सोधपत्र गर्न लगाइन्छ । नतिजा नआउँदासम्मको समय विद्यार्थीको यत्तिकै सयम खेर गइरहेको हुन्छ । त्रिभुवन विश्वविद्यालयमा सुधार गनुपर्ने साना कुराहरु धेरै छन् । सुधार गर्ने भनेर लागेको देखिन्छ, तर अझै सुधार हुन सकेको छैन ।

हाम्रो शैक्षिक प्रणालीमा विद्यालयदेखि नै सुधार हुनुपर्छ । सरकारी विद्यालयमा हेर्दा स्रोत साधन र शिक्षक कमी नहुँदा पनि प्रगतिशील शिक्षा पाइँदैन । त्यसैले धेरै अभिभावक आफ्ना छोराछोरीको राम्रो शिक्षाको लागि सरकारी विद्यालयमा नपढाएर निजी विद्यालयमा महँगो शुल्क तिरेर पढाउन बाध्य छन् ।

विश्वविद्यालयमा अनुसन्धान गर्ने खालको शिक्षा हुन जरुरी देखिन्छ । अनुसन्धान धेरै सङ्कायमा लागू हुने विषय हो । विद्यार्थीको कौशललाई हेरेर सक्षम बनाउनुपर्छ । विद्यार्थीले सैद्धान्तिक शिक्षा प्राप्त गरेर मात्र हुँदैन । यदि उसले पढेको शिक्षा व्यवहारमा प्रयोग गर्न जानेन भने काम लाग्दैन ।

हामीसँग अनुसन्धान गर्ने निकायहरु नभएका होइनन् । अनुसन्धान गर्ने निकायमा सरकारको लगानी भएको देखिँदैन । अनुसन्धान गर्ने निकायमा लगानी गरेर विद्यार्थीलाई समावेश गराउन सके केही नयाँ कुराहरु आउन सक्छ ।

सरकारी निकायमा मात्रै होइन निजी क्षेत्रले पनि विद्यार्थीले आर्जन गरेको शिक्षाको मूल्य दिनुपर्छ । काम गरेर पैसा कम दिने, दिए पनि समयमा नदिने र कतिपयले काम गराएर पैसा नै नदिने पनि गरेका हुन्छन् ।

यस्तो भइसकेपछि कोही पनि नेपालमा बस्दैन । काम गर्ने मानिसले आफ्नो उर्जावान समय दिएको हुन्छ । त्यसलाई अवमूल्यन गर्नुहुँदैन ।

अब विद्यार्थीले अहिले सूचना प्रविधिको युगमा घरमै बसेर पनि अन्तर्राष्ट्रियस्तरका प्राध्यापकसँग पढ्न र सिक्न सक्छन् । विद्यार्थीले आफूसम्बद्ध बाहिरी किताब पढ्ने, इन्टरनेटमा खोज्ने र लेख लेख्ने गर्नुपर्छ ।

नेपालमा सर्वोत्कृष्ट भएका विद्यार्थीलाई छात्रावृत्तिमा विदेशमा अध्ययन गर्न पठाउनुपर्छ । बरु विदेशमा पढिसकेपछि नेपालमै आएर काम गर्ने सर्तसहित सरकारले सम्झौता गर्न सक्छ ।

विदेशमा भएका विद्यार्थीलाई ल्याउन पनि सरकारले विभिन्न नीति ल्याउन सक्नुपर्छ । त्यसपछि नेपाली विद्यार्थी फर्कन सक्छन् । शिक्षा र रोजगारी मात्र होइन उचित स्वास्थ्य सुविधा पनि हुन जरुरी छ ।

विदेशमा आफ्नो परिवारसँग अलग्गिएर एक्लै बस्न सजिलो छैन । त्यसैले विदेश गएकालाई सरकारले नै नेपालमा आउने वातावरण बनाउनुपर्छ । सरकारले चाह्यो भने सम्भव पनि छ ।

अर्थतन्त्र सुधारको उपाय

म अर्थशास्त्रको विद्यार्थी भएको नाताले देशको अर्थतन्त्रको बारेमा पनि धेरथोर जानकारी भइरहेको हुन्छ । अहिले देशमा अर्थतन्त्रमा समस्या देखिन्छ । सरकारले पुँजीगत बजेट खर्च गर्न सकिरहेको छैन ।

ठूला पूर्वाधारको तीव्र विकास गर्न सके एकैपटक फड्को मार्न सकिन्छ । चालु आर्थिक वर्षको तथ्याङ्क हेर्दा पछिल्लो पाँच महिनामा १३ प्रतिशत मात्रै विकास खर्च भएको छ । सरकारले त्यही असारको महिना कुरेर बसेको हुन्छ । त्यही पनि वर्षाको समयमा बनाइने पूर्वाधार उतिखेरै भत्किन्छ ।

अहिले पालिका, प्रदेश र सङ्घीय सरकार छ । तीनै तहका सरकारले यसमा जिम्मेवार तरिकाले काम गर्नुपर्ने देखिन्छ । अर्को समस्या भनेको ठूलो रकम निर्माण व्यवसायीले समयमा पाउँदैनन् ।

त्यसरी अप्रत्यक्ष रूपमा मजदुरहरुलाई असर परेको देखिन्छ । सरकारबाट पाएको पैसा निर्माण व्यवसायीले आफ्ना मजदुरहरुलाई दिने हो । जब व्यवसायीले पैसा पाएनन् भने कसरी मजदुरलाई दिन्छन् । अन्तिममा मारमा त दिनभरी कमाएर साँझको जोहो गर्ने श्रमिकहरुलाई परिरहेको हुन्छ ।

अर्थतन्त्रमा एउटा कुराले धेरै कुरामा असर पारिरहेको हुन्छ । हामीले सरकारलाई कर तिर्छौं । सामान्य यातायातको बिलबुकको कर तिर्न जाँदा कार्यालयमा बिदा मागेर जानुपर्ने अवस्था छ ।

सरकारले आम्दानी गर्ने विषयमा पनि नागरिकले दुःख पाउनु परेको छ । यति दुःख पाएपछि नागरिकलाई कर तिर्न जान पनि दिक्क लाग्छ । अनि यसरी नागरिकलाई झन्झट गराएर कसरी सरकारले भनेजस्तो कर उठाउन सक्छ ?

ट्राफिकको जरिवाना तिर्न जाँदा भने व्यवस्था राम्रो छ । जरीवाना तिर्ने ठाउँको व्यवस्था राम्रो छ तर सरकारलाई आम्दानी हुने ठाउँमा नागरिकलाई हैरानी मात्र छ । बरु सरकारले जरीवाना तिर्न जाँदा नागरिकलाई झन्झट गराहोस् । जसले गर्दा अर्को पटक कसैले पनि गल्ती नगरोस् । त्यसैले अर्थतन्त्र सुधार्न पनि सबैले आ–आफ्नो ठाउँबाट साना साना कुरामा सुधार गर्नुपर्छ ।

(त्रिभुवन विश्वविद्यालय अर्थशास्त्रमा सर्वोत्कृष्ट विद्यार्थी श्रीज्या काफ्लेसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्रीज्या काफ्ले

काफ्ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र विभागकाे सर्वोत्कृष्ट विद्यार्थी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया