च्याउका थरीथरी परिकार : चिनेर र बुझेर मात्र खाऔँ

 पुष २२, २०८१ सोमबार १८:२९:२६ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डाै – पहिले एउटा उखान प्रचलित थियो– बाहुनले च्याउ खाओस् न स्वाद पाओस् । तर अहिले च्याउको स्वाद नपाउने मान्छे कमै होलान् । हिजोआज धेरैको भान्सामा च्याउको तरकारी अनिवार्यजस्तै भइसकेको छ । च्याउबाट तरकारी मात्रै होइन, अरू धेरै परिकार बनाउन सकिन्छ ।

भक्तपुरको नयाँथिमीमा रहेको मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टरका सञ्चालक आकाश बाडेकाअनुसार च्याउको तरकारी, अचार, मःम, छोइला, समोसा, चिया, सुप, बारा, योमरी लगायत परिकार बनाउन सकिन्छ । ‘च्याउका नयाँ–नयाँ परिकार बनाएर बेच्दा ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘च्याउको उत्पादनसँगै च्याउबाट बन्ने परिकारका बारेमा जानकारी दिन हामीले विभिन्न परिकार बनाउँदै आएको छौं ।’ 

चीन, जापान लगायत देशमा एउटा मानिसले वर्षमा औसत १५ किलो च्याउ खाने गरेकोमा नेपालमा भने औसत चार सय ग्रामभन्दा कम च्याउ खाने गरिएको उहाँको भनाइ छ । बाडे भन्नुहुन्छ, ‘हामीले च्याउ खाएकै छैनौं, खान जानेकै छैनौं ।’ यही जानकारी गराउनका लागि पनि विभिन्न च्याउका परिकार बनाउने गरेको उहाँले बताउनुभयो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ११ चापागाउँमा रहेको बज्रबाराही च्याउ बीउ उत्पादन उद्योगले पनि च्याउको उत्पादनसँगै विभिन्न परिकार पनि बनाएर बेच्ने गरेको छ । ‘मासुको परिकार जति बन्छ त्यतिनै च्याउको पनि परिकार बन्छ,’ उद्योगका सञ्चालक विकाश देशार भन्नुहुन्छ, ‘मासु नखाने शाकाहारीलाई मासु नै खाए सरह हुन्छ । मासुको परिकार नबन्ने पनि च्याउको परिकार बन्छ ।’ उद्योगले च्याउको उत्पादनसँगै च्याउको मःम, च्याउ र सिस्नो मिश्रित मःम, पकौडा, छोइला बनाएर उपभोक्तालाई खुवाइरहेको छ ।

च्याउको परिकार जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउ खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नेदेखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विज्ञहरु बताउँछन् । च्याउमा धेरै भिटामिन र खनिज पदार्थ पाइन्छ । च्याउमा पाइने पोषणको मात्रा यसको खेती गर्ने तरिकामा पनि भर पर्छ । यसमा च्याउमा फाइबर, प्रोटिन, भिटामिन सी, फोलेट, आइरन, जिंक र म्यांगनिजको राम्रो स्रोत हो ।

त्यस्तै भिटामिन ‘डी’, थियामिन, रिबोफ्लेभिन, नियासिन, भिटामिन ‘बी’, प्यान्टोथेनिक एसिड, फस्फोरस, पोटासियम, कपर र सेलेनियम च्याउमा पाइन्छ । तर कतिपय च्याउ विषालु पनि हुन्छन् । जङ्गली च्याउ खाएर ज्यान गुमाउने घटना बर्सेनि दोहोरिने गरेको छ । च्याउ अभियन्ता रुकशना थापाका अनुसार जङ्गलमा पाइने च्याउलाई चिनेर र बुझेर मात्रै खानुपर्छ । ‘च्याउबारे खोज अनुसन्धान गरिरहेका मानिससँग र च्याउको विशेषता हेरेर मात्र खानुपर्छ,’ उहाँले भन्नुभयो, ‘खाने र नखाने च्याउ एउटै देखिन्छ, यसको विशेषतामा अलिअलि मात्र फरक हुन्छ ।’ 

कस्ता च्याउ खान हुुँदैन ? 

च्याउ विशेषतः खान हुने, तितो, विषालु तथा काम नलाग्ने गरी जम्मा चार प्रकारका हुन्छन् । जङ्गली च्याउ भौगोलिक अवस्था अनुसार फरक–फरक हुन्छन् । त्यसैले सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा खानयोग्य भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र विज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगस् च्याउ पहाडी क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको सङ्कलन गर्ने गरिएको छ  ।

कहिलेकाहीँ च्याउ आफैंमा विषाक्त नभए पनि सङ्कलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउने च्याउ विज्ञहरु बताउछन् । च्याउ सङ्कलन तथा प्रयोग गर्दा विषेश सावधानी अपनाउनुपर्छ । हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुन्छ । डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्रायः विषालु हुन्छन् ।
च्याउको माथि रहने छाता छाम्दा खस्रो एवम् तलमाथि उठेको देखिएमा विषालु हो भनेर अनुमान गर्न सकिन्छ । नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो, गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा विचार पुर्‍याउन च्याउ विज्ञको सुझाव छ ।

विषालु च्याउको वरपर कीराहरु नलाग्ने हुन्छ । त्यसैले यी च्याउहरु हेर्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् । खान हुने वा नहुने च्याउ छुट्याउनु यी तरिकाहरु अपनाउन सकिन्छ । तर यसैको आधारमा च्याउ विषालु हो या होइन छुट्याउन गाह्रो हुन्छ । ठाउँ र हावापानी अनुसार च्याउको प्रजातिमा फरक पर्ने हुँदा कुन च्याउ खान हुने र नहुने ठ्याक्कै छुट्याउन भने विशेषज्ञता नै चाहिने विज्ञहरुको भनाइ छ ।   

च्याउको विषबाट बच्न के गर्ने ?

  • सकभर आफूले चिनेको र जानेको च्याउ मात्र सङ्कलन गर्ने वा बजारमा बिक्री वितरण गर्ने  र खाने । 
  • सङ्कलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवम् टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने ।
  • सकभर दुई प्रजातिका फरक–फरक च्याउसँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनुभन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।
  • उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रशोधन गर्दैमा च्याउको विष नष्ट हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।
  • च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुनपानी खान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै विधि अपनाउने ।
  • परम्परागत रूपमा प्रयोग गरिंदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ । तर छिटोभन्दा छिटो अस्पताल पु¥याउनु पर्ने हुन्छ ।

सबैलाई च्याउका सबै प्रकारहरुको ज्ञान नहुने हुँदा सकेसम्म राम्ररी ज्ञान नभएको प्रजातिको च्याउ प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । यसका साथै च्याउ सङ्कलन र प्रयोग गर्दासमेत विशेष सावधानी अपनाउनुपर्ने च्याउ अभियन्ता रुकशना थापा भन्नुहुन्छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया