जय ट्रफी एलिट कप : पुलिस अग्रता बढाउँदै, बाग्मती १ सय ५२ रनले पछि

 पुष २४, २०८१ बुधबार १७:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेलको पहिलो दिनको खेल सकिएको छ ।

पहिलो दिनको खेल सकिँदा मधेश प्रदेशसँगको खेलमा नेपाल पुलिस क्लबले पहिलो पारीमा ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पुलिसले ४५ रनको अग्रता लिएको छ । पुलिसका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ६८ बलमा ६३ रन बनाएर आउट भए । मधेशका हरिशङ्कर शाहले २ विकेट लिए ।

यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १ सय २९ रनमा अलआउट भयो । मधेशका मयन यादवले ५९ रन बनाए । पुलिसका गुल्सन झाले ५ विकेट लिए ।

यस्तै त्रिभुवन आर्मी क्लबसँगको खेलमा बाग्मती प्रदेशले पहिलो दिनको खेल सकिँदा पहिलो पारीमा ५ विकेट गुमाएर १ सय २४ रन बनाएको छ । बाग्मती १ सय ५२ रनले पछि छ । बाग्मतीका शुभ कंसाकरले ३४ रन बनाए । आर्मीका आकाश चन्दले ३ विकेट लिए ।

यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो पारीमा ५ विकेट गुमाएर २ सय ७६ रन बनायो । आर्मीका इमरान शेखले ७२, बसिर अहमदले नटआउट ५३ रन बनाए । बाग्मतीका विपिन आचार्यले ३ विकेट लिए ।

प्रतियोगितामा चार वटा टोली छन् । यसअघि भएका दुवै खेल बराबरीमा सकिएको थियो । यसअघि आर्मी र पुलिस तथा मधेश र बाग्मतीबीच खेल भएको थियो । बराबरीसँगै बाग्मती १५ अङ्कसहित तालिकाको शीर्ष, मधेश १५ अङ्कसहित दोस्रो, पुलिस १५ अङ्कसहित तालिकाको तेस्रो र आर्मी १४ अङ्कसहित पुछारमा छ ।

प्रतियोगितामा प्रारम्भिक चरणका खेल दुई दिवसीय फर्म्याटमा गरिएको छ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया