पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक : जग्गा र आर्थिक प्रलोभनका कारण हत्या भएको निष्कर्ष

 साउन १५, २०८१ मंगलबार ९:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जग्गासम्बन्धी मत भिन्नता र आर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रायको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार रायको हत्या आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई हिजो सार्वजनिक गरिएको हो । मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रायको गएको साउन ७ गते चन्द्रनगर गाउँपालिका–१, रतनपुरको फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियारले टाउकोका विभिन्न भागमा प्रहार गरी हत्या गरिएको थियो ।

रायले चन्द्रनगर–१ रतपुरमा बनाएको दुई कोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । केही दिन अघि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेवापत दुई लाख र व्यवसायको लागि एउटा फार्म बनाइ दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ ।

हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीको साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको कमान्डमा ६ सदस्यीय अनुसन्धान टोली खटाइएको थियो ।   

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया