बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
साइबर अपराधलाई साइबर सक्षम अपराध र साइबर निर्भर अपराध भनेर दुई तरिकाले बुझ्न सकिन्छ । साइबर सक्षम अपराधमा परम्परादेखि चल्दै आएको अपराधलाई प्रविधिको प्रयोग गरेर गरिन्छ । पहिले पनि चोरी हुन्थ्यो तर अब कम्प्युटरको प्रयोग गरेर गरिने चोरी साइबर सक्षम अपराधमा पर्यो । यस्तै साइबर निर्भर अपराधमा अपराध गर्नलाई कम्प्युटर अथवा प्रविधि नभइ हुँदैन । कुनै निकायको वेबसाइटको सर्भर आफू मातहत ल्याई अवरोध सिर्जना गर्ने विधि साइबर निर्भर अपराधमा पर्छ ।
नेपालमा मात्रै होइन विश्वमै साइबर अपराधका घटना बढेका छन् । नेपालमा हरेक वर्ष दुई सय पचासदेखि तीन सय प्रतिशतसम्म साइबर अपराधका घटना बढ्दै गएको देखिन्छ । साइबर व्यूरोमा दर्ता भएका मात्र अहिले २० हजारभन्दा धेरै साइबर अपराधका घटना छन् । दर्ता नभएका घटना पनि धेरै नै छन् । नेपाल प्रहरी, विश्वविद्यालय र विभिन्न संस्थाहरुले बालबालिकासम्बन्धी साइबर अपराधका घटनामा अनुसन्धान गरिरहेका हुन्छन् । तथ्याङ्क बढेर साइबर अपराधका घटना बढ्यो भन्ने हुँदैन । प्रविधिको प्रचुर मात्रामा पहुँच बढ्दै गएपछि हामी प्रविधिमा निर्भर हुँदा साक्षरताको कमीका कारणले साइबर अपराधका घटना बढ्दै गएको देखिन्छ ।
पहिले साइबर अपराध भनेको के हो भनेर धेरैलाई थाहा हुँदैन थियो । अहिले बल्ल साइबर अपराधसम्बन्धी उजुरी दर्ता हुन थालेका छन् । कतिपय झिनामसिना अपराधमा उजुरी नै पर्दैन । मानिसले अपराध भएपछि प्रहरीमा जानुपर्छ भन्ने ज्ञान नभएर पनि साइबर अपराधका घटना सङ्ख्यात्मक रूपमा बढेको देखिन्छ ।
साइबर अपराधमा बालबालिकाको संलग्नता
यसलाई बालबालिका आफैंले अपराध गर्ने र बालबालिका पीडित हुने दुई तरिकाले हर्नुपर्छ । तथ्याङ्क हेर्दा बालबालिकाहरु बढी मात्रामा पीडित भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कमा पनि साढे छ सयभन्दा बढी बालबालिकाविरुद्धको साइबर अपराध सङ्ख्या देखिन्छ । जसमा ६० प्रतिशत बालिका र ४० प्रतिशत बालक पीडित भएका छन् । बालबालिकाहरु आफैं साइबर अपराधमा संलग्न भएको घटना थोरै छन् । यसमा किशोर अवस्थाका बालबालिकाले ह्याकिङ गर्ने, बदला लिने र घृणा अभिव्यक्ति दिने प्रवृत्ति देखिन्छ । बालबालिकाको प्रत्यक्ष सहभागिता भएर साइबर अपराध गर्ने तथ्याङ्क कम छ । साथीहरुसँग सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, वाट्सएप, भाइबर जस्ता सामग्रीमा एक अर्कालाई होच्याउने, रङ्गभेदी कुराहरु गरेको पाइन्छ । योबाहेक केही बालबालिकाले ह्याकिङ गर्ने गर्छन् । यसअघि १२ कक्षामा पढ्ने बालकले त्रिभुवन विश्वविद्यालयको वेबसाइट ह्याक गर्यो भन्ने कुरा हामीले सुनेका छौं । यस्तै नेपाली सेनाको वेबसाइट पनि ह्याक भएको घटना बाहिर आएको थियो । यसैगरी यौन अपेक्षामा पनि बालबालिका संलग्न भएको देखिन्छ । बालबालिकाविरुद्ध हुने हुने साइबर अपराधमा यौन शोषण गर्ने, झुटा प्रचार गर्ने, फिसिङ अर्थात् सामाजिक सञ्जाललाई नियन्त्रणमा लिन खोज्ने लगायत छन् । बालबालिकाको उमेर अलि बढ्दै जाँदा बदलाको भावना बढी उजागर हुँदै गएको देखिन्छ ।
साइबर अपराधबाट बालबालिकालाई जोगाउने उपाय
बालबालिकालाई साइबरसम्बन्धी अपराधमा पर्नबाट बचाउन नीतिगत रूपबाट सोच्नुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिले राष्ट्रियस्तरमा एउटा नीति लिनुपर्छ । साइबर स्वस्थ्य सम्बन्धी कुरा विद्यालयस्तरबाटै पढाउन शुरु गर्नुपर्छ । विश्वका विभिन्न देशहरुले बालबालिकालाई साइबर अपराधका बारेमा पढाउन शुरु गरिसकेका छन् । यसमा अभिभावकसमेत सचेत हुनुपर्छ । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले फेसबुक चलाउँछन् भने त्यहाँ अभिभावकको संलग्नता हुनुपर्छ । सामाजिक सञ्जालका नियम अभिभावकले बुझ्न आवश्यक छ । साथै जनचेतनामुलक कार्यक्रम गरेर बालबालिकालाई सम्झाइ बुझाइ गरी अरू काममा सहभागिता बढाउन प्रेरित गर्नुपर्छ । साइबर अपराध, अनलाइन ठगी, साइबर बुलिङ र गोपनीयता हननबारे बालबालिकालाई जानकारी गराउनुपर्छ । विश्वसनीय वेबसाइटहरू मात्र प्रयोग गर्न सल्लाह दिनुपर्छ । साथै बालबालिकाले कुन वेबसाइटहरू प्रयोग गर्छन्, कस्तो सामग्री हेर्छन् भनेर बेलाबेला जाँच गनुपर्छ । अनलाइनमा अपरिचित व्यक्तिसँग कुरा नगर्न सचेत गराउनुपर्छ ।
बालबालिकालाई व्यक्तिगत जानकारी जस्तै नाम, ठेगाना, फोन नम्बर, स्कूलको नाम आदि अनलाइनमा भन्न हुँदैन भनेर सिकाउनुपर्छ । यसैगरी सामाजिक सञ्जालमा बलियो पासवर्ड जस्तै अक्षर, अङ्क, र विशेष चिन्ह मिश्रित राख्न सिकाउनुपर्छ । यदि कसैले अनलाइनमा दुर्व्यवहार गर्छ भने तुरुन्तै ब्लक गर्न सिकाउनुपर्छ । साइबर बुलिङ वा कुनै अनौठो गतिविधि भएमा अभिभावक वा शिक्षकलाई जानकारी दिन बालबालिकालाई प्रोत्साहित गर्नुपर्छ । साइबर बुलिङका घटना रिपोर्ट गर्न सम्बन्धित निकाय वा सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने कुरा उनीहरुलाई बताउनुपर्छ । साथै अभिभावकले बालबालिकासँग अनलाइन अनुभवबारे कुराकानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ ।
शिक्षामा साइबर अपराध सम्बन्धमा नीति आवश्यक
नेपालमा शिक्षामा साइबर अपराध सम्बन्धमा कुनै नीति छैन । साइबर सुरक्षासम्बन्धी नीतिमा सचेतना बढाउने कार्यक्रम गर्नुपर्छ भन्ने मात्र छ । यो त किताबी कुरा मात्र भयो । बालबालिकालाई अनिवार्य रूपमा साइबर स्वास्थ्य शिक्षा पढाउनुपर्छ भनेर व्यवस्था गनुपर्छ । योसम्बन्धी एउटा पाठ्यक्रम नै बनाएर हरेक विद्यालयमा लागू गर्नुपर्छ । राज्यको तर्फबाट बालबालिकाविरुद्ध साइबर अपराधसम्बन्धी नीतिगत रूपमा जान ढिला भइसकेको छ । नीति मात्र बनाएर हुँदैन । यसमा कार्यान्वयन पक्षको विशेष भूमिका हुन्छ । यो विषयमा सचेतना बढाउनका लागि नेपाल प्रहरीअन्तर्गतको साइबर व्यूरो, जिल्ला मातहत रहेका प्रहरी कार्यालय, विश्वविद्यालय, विद्यालय लगायत विभिन्न संघसंस्थाहरुले गरिरहेका छन् । तर छुट्टाछुट्टै गरिने यी कार्यक्रमले मात्र पुग्दैन । बालबालिकाविरुद्ध साइबरसम्बन्धी अपराधको सङ्ख्या बढिरहँदा सरकारले नै अपनत्व लिएर काम गर्नुपर्छ ।
पछिल्लो सयम इन्टरनेटबाट सुदपयोगभन्दा दुरुपयोग हुँदै गएको छ । कतिपय मानिसलाई इन्टरनेट केको लागि प्रयोग गर्ने भन्ने नै थाहा छैन । यसरी मानिसले चलाउँदा चलाउँदै डिजिटल लत लागेको थाहा हुँदैन । कम सङ्ख्याका मानिसले मात्रै इन्टरनेटको सही सदुपयोग गरेको देखिन्छ । नेपालमा कृषि पेशामा रहेका किसान, डाक्टरहरु, व्यापारी, इन्जिनियर, आमसञ्चार माध्यम लगायतले इन्टरनेटलाई सही सदुपयोग गरेका हुन्छन् । तर धेरै मानिसले आफ्नो मनोरञ्जनका लागि मात्र इन्टरनेट प्रयोग गर्छन् । जब मानिसलाई इन्टरनेट चलाउने लत लाग्छ, त्यसपछि यसबाट बाहिर निक्कन गाह्रो हुन्छ । मानिसले बिहान उठ्ने बित्तिकै मोबाइल चलाउने, शौचालयमा पनि मोबाइल लिएर जाने, बाटोमा हिँड्दै गर्दा पनि मोबाइल चलाउने गरेको देखिन्छ । त्यसैले धेरैजसो मानिसलाई इन्टरनेटको सही तरिकाले प्रयोग गर्न जानेको देखिंदैन । यसमा विद्यालयस्तरबाटै शिक्षा दिन आवश्यक छ । बालबालिकालाई साइबर अपराधबाट बचाउने मात्र होइन इन्टरनेटको सही प्रयोग गर्न जान्यो भने इन्टरनेटले पढाइ लगायत अन्य कुरामा कसरी सुविधा प्रदान गर्न भन्ने कुरा पनि बताउन र सिकाउन जरुरी छ । इन्टरनेटबाट आफूलाई काम लाग्ने विषयको ज्ञान नभएसम्म लत मात्र लाग्छ र दुरुपयोग हुँदै जान्छ ।
इन्टरनेटको लतबारे थाहा पाउने र जोगिने उपाय
इन्टरनेटको लत लगेको छ कि छै भनेर मोबाइलमा फोन नआउँदासम्म कति सयमसम्म नचालाइ बस्न सकिन्छ त्यसबाट थाहा हुन्छ । चिया र चुरोट खाने मानिसलाई लागेको लत जस्तै इन्टरनेटको पनि लत लागेको हुन्छ । हामीले धेरैबेर सामाजिक सञ्जाल नचलाए पनि जिन्दगी चल्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । दिनमा कति समयसम्म इन्टरनेट चलाउने भनेर आफैं सचेत हुनुपर्छ । यति गर्दा पनि मोबाइल नचलाइ बस्न सकिएन र छटपटी भयो भने लत लागेको रहेछ भनेर जान्नुपर्छ ।
मोबाइललाई सकेसम्म आफूभन्दा टाढा राख्नुपर्छ । स्मार्ट मोबाइलको सट्टा सामान्य खालको फोन, मेसेज गर्ने खालको मोबाइल लिँदा पनि हुन्छ । वास्तविक जीवनका गतिविधिहरू खेलकुद, अध्ययन, परिवारसँग समय बिताउनेमा रुची गुमाउनु, अनलाइन नभएको बेला झर्को मान्नु वा तनाव महसुस गर्नु र अनलाइन नभइकन शून्यता वा अधुरोपन महसुस गर्नु पनि इन्टरनेटको लत लागेका लक्षणहरु हुन् ।
इन्टरनेटको लत कम गर्न मोबाइल वा कम्प्युटर चलाउने समय निश्चित गनुपर्छ । यस्तै अनलाइनभन्दा बाहिरको गतिविधिमा ध्यान केन्द्रित गराउनुपर्छ । जस्तैः खेलकुद, कला, सङ्गीत, किताब पढ्ने लगायतमा संलग्न हुँदा पनि मोबाइलबाट टाढा रहन सकिन्छ । बालबालिकालाई परिवार र साथीहरूसँग प्रत्यक्ष भेटघाट गराउने र दैनिक तालिका बनाएर इन्टरनेट प्रयोगलाई नियन्त्रण गरेर पनि इन्टरनेट चलाउने लत कम गराउन सकिन्छ । सङ्गीत, नृत्य, खेलकुद, बगैंचाको काम, किताब पढ्ने जस्ता बालबालिकाको रुचीलाई बढावा दिनुपर्छ । व्यावहारिक सीप जस्तैः खाना पकाउने, हस्तकला लगायतका काम सिकाएर पनि मोबाइल अथवा इन्टरनेटबाट टाढा गराउन सकिन्छ । विद्यालयसँग समन्वय गरी डिजिटल लत नियन्त्रण गर्ने कार्यक्रममा सहभागिता गराउने र बालबालिकालाई सकारात्मक समाजिक गतिविधिमा संलग्न गराएर पनि इन्टरनेटको लत कम गराउन सकिन्छ ।
(साइबर सुरक्षा विज्ञ एवम् मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक डा. राजिव सुब्बासँग मल्लिका थापाले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।