फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरू पनि थिए जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङकङ फ्लुको नामले परिचित इन्फ्लुइन्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । ती बिरामीले केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरू देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोस्ट भाइरल कफ’ भन्ने गरिन्छ । र यस्तो अवस्था अहिले समुदायमा धेरैमा भएको देखिन्छ । सामान्यतया ३ देखि ८ हप्तासम्मको निरन्तर खोकीलाई ‘पोस्ट भाइरल कफ’ वा ‘पोस्ट इन्फेकसियोस कफ’ भन्ने गरिन्छ ।
सामान्यताः नेपालमा फ्लु भाइरस वर्षमा दुई पटक बढी सक्रिय हुने गर्दछ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्दछ भने अर्को जुलाई–सेप्टेम्बर महिनामा देखिने गर्दछ । यसैले यो भाइरसलाई ‘मौसमी फ्लु’ पनि भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बी’ भाइरसले विशेषतः स्वास्थ्यमा समस्या निम्त्याउने गर्दछ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा महामारीकाे रूप दोहोरिने गरेको विगतका अनुभवहरू छन् ।
कोभिड–१९ भन्दा अगाडि सन् २००९ मा फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसलाई विश्व स्वास्थ सङ्गठनले महामारी घोषणा गरेको थियो । यो भाइरसलाई शुरूमा ‘स्वाइन फ्लु’ भन्ने गरिएको भए पनि पछि ‘एचवान एनवान पीडीएम ०९’ नामकरण गरिएको थियो । अहिले यो प्रजातिको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ । हरेक वर्ष फ्लुको सिजनमा यो प्रजातिको भाइरस नेपालमा देखिँदै आइरहेको छ । त्यस्तै सन् १९१८ मा पनि फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसले महामारीको रूप लिएको थियो । भनिन्छ, यो भाइरसलाई आधुनिक इतिहासको उच्चतम घातक सङ्क्रामक रोगका रूपमा पनि लिने गरिन्छ । त्याे समयमा यो प्रजातिको भाइरसले विश्वको झन्डै एक तिहाइ जनसङ्ख्यालाई सङ्क्रमित गरेको अनुमान गरिन्छ । अनि झन्डै पाँच सय लाख मानिसको मृत्यु यही भाइरसका कारणले भएको पनि अनुमानित तथ्याङ्क छ ।
फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचफाइब एनवान’ प्रजातिको भाइरस अर्थात् ‘बर्ड फ्लु’ पनि पर्दछ । यो प्रजातिलाई पनि उच्च घातक सङ्क्रमणका रूपमा लिने गरिन्छ । यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिने गरेको छ । यो रोग सङ्क्रमित पक्षीबाट मानिसमा सर्ने गर्दछ । यद्यपि अहिलेसम्म यो भाइरस मानिसबाट मानिसमा भने सहजै सरेको देखिँदैन । चाखलाग्दो कुरा के छ भने बर्ड फ्लु पक्षीबाट मात्र मानिसमा सर्ने देखिएकामा केही महिना अगाडि अमेरिकामा गाईवस्तु वा त्यसकाे दूधबाट पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको थियो । उच्च घातक मानिने ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिमको स्रोत थपिँदा मानिसका लागि यो नयाँ चुनौतीका रूपमा खडा भएको देखिन्छ ।
नेपालमा सन् २०१९ मा पहिलो पटक मानिसमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिएको थियो । तर दुर्भाग्यवश ती सङ्क्रमित युवाको भने त्यही भाइरसको जटिलताबाट मृत्यु हुन गएको थियो । यस अर्थमा नेपालमा देखिएको बर्ड फ्लुको मृत्युदर शतप्रतिशत मान्न सकिन्छ । नेपालमा सन् २००९ पछि बर्सेनि कुखुरा–हाँसजस्ता पक्षीमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिँदै आइरहेको छ । तर नेपालको कृषि क्षेत्रमा अझै पनि जैविक सुरक्षाप्रति पर्याप्त ध्यान दिने गरेको भने पाइँदैन । यसका कारणले नेपालमा ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिम मानिसमा उच्च रहेको मान्न सकिन्छ ।
के हो त ‘हङकङ फ्लु’ ?
फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचथ्री एनटु’ अर्को मुख्य प्रजाति हो । नेपालमा यो भाइरस ‘एचवान एनवान पीडीएम ०९’ प्रजातिको भाइरससँगै वर्षेनि देखिने गर्दछ । यसलाई ‘हङकङ फ्लु’ को नामले पनि चिनिने गर्दछ । सन् १९६८ मा पहिलो पटक हङकङमा प्रकोपका रूपमा देखिएको यो भाइरसले १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान गरिन्छ । तर अहिले यो भाइरस पनि ‘मौसमी फ्लु’ का रूपमा परिणत भइसकेको छ । दुई महिना अगाडिसम्म पनि व्यापक रहेको ‘एचवान एनवान पीडीएम ०९’ प्रजातिको भाइरसलाई नयाँ साल सन् २०२५ लागेसँगै ‘हङकङ फ्लु’ ले तीव्र गतिमा प्रतिस्थापन गरिदिएको छ ।
‘हङकङ फ्लु’ फैलन शुरू भएसँगै धेरै मानिसहरू बिरामी भई घरमा नै आराम गर्नुपर्ने अवस्था/बाध्यता सिर्जना गरिदिएको छ । माथि उल्लेख गरे झैँ धेरैलाई लामो समयसम्म खोकीले समेत नछोडेको अर्थात् ‘पोस्ट भाइरल कफ’ को समस्यासमेत देखिने गरेको छ । ‘पोस्ट भाइरल कफ’ को कारणमा ‘हङकङ फ्लु’ सँगै वायु प्रदूषणको समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन । अहिले वायु प्रदूषणले नेपाल आक्रान्त भइरहेको छ ।
लक्षणहरू के के हुन् त ?
यसमा समान्यतया सङ्क्रमण भएको दुई दिनमा फ्लुका लक्षणहरू देखिन शुरू हुन्छ । अचानक ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, मांशपेशी तथा जोर्नी दुख्नु, घाटी दुख्नु, नाकबाट पानी बग्नु, बालबालिकामा विशेषतः बान्ता हुनु जस्ता फ्लु भाइरसका प्रारम्भिक तथा मुख्य लक्षणहरू हुन् । अरू लक्षणहरू केही दिनमा (एक हप्तामा) कम हुँदै जाने भए पनि खोकी भने दुई हप्ता वा त्याेभन्दा बढीसम्म रहन सक्दछ । कतिपयमा भने निमोनिया वा सेप्सिस जस्तो जटिलताहरू पनि देखिने गर्दछ । ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका, दीर्घरोगी आदि फ्लु जटिलताको जोखिम पर्ने समूहहरू हुन् ।
उपचार के छ त ?
खोक्दा, हाच्छिउँ गर्दा वा सङ्क्रमितले खोक्खा र्यालको छिटा सतहमा रहेको र त्याे ठाउँलाई हातले छोई नाक, मुख वा आँखामा छोए सङ्क्रमण सर्ने गर्दछ । तसर्थ सङ्क्रमित व्यक्तिले खोक्दा हातको बाहुलीले छोपेर मात्र खोक्नु पर्दछ । फ्लु पुष्टि भई लक्षणहरू देखिए ‘ओसेल्टेमिभिर’ नामक ‘एन्टिभाइरल’ औषधि दिन सकिन्छ । यो औषधि नेपाल सरकारले विशेषतः जोखिम समूहकालाई भाइरस पुष्टि भएमा निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (केन्द्रीय प्रयोगशाला) मा हुने गर्दछ । यद्यपि कोभिड–१९ को लहरपछि भने निजी अस्पताल वा प्रयोगशालाहरूले पनि परीक्षण गर्ने गरेको पाइन्छ । भाइरसको जटिलताबाट बच्ने उत्तम उपाय भनेको खोप नै हो । यो खोप शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललगायत विभिन्न निजी अस्पतालहरूमा लगाउने गर्दछ ।
अन्तमा मध्य डिसेम्बरसम्म चार प्रतिशतको हाराहारीमा देखिएको फ्लु भाइरस सन् २०२५ लागेसँगै ह्वात्तै बढेर झन्डै ३१ प्रतिशतको हाराहारीसम्म पुगेको छ । ‘स्वाइन फ्लु’ अर्थात् ‘एचवान एनवान पीडीएम ०९’ लाई प्रतिस्थापन गर्दै ‘एचथ्री एनटु’ अथवा ‘हङकङ फ्लु’ अहिले तीव्र गतिमा फैलिरहेको तथ्याङ्कले देखाउँछ । तीव्रता पाएको मात्र होइन, धेरै मानिसमा लक्षणले कडा रूप लिएको समेत देखिन्छ । अनि कतिपयमा खोकीले हप्तौँसम्म दुःख दिएको वा लम्बिएको पनि देखिन्छ । फ्लु वर्षेनि देखिने भाइरस हो र धेरैले केही दिनको आराम पनि स्वास्थ लाभसमेत गर्दछन् तर जोखिम समूहका व्यक्तिहरूले भने जटिलताको सामना गर्नुपर्ने जोखिम भएकाले सङ्क्रमित भएको अवस्थामा चिकित्सकको परामर्श लिनु उत्तम हुनेछ । फ्लुविरुद्धको खोप पनि सहज उपलब्ध भएकाले फ्लुको जटिलताबाट बच्न जोखिम समूहकाहरूले खोप लिनु सबैभन्दा राम्रो उपाय हुनेछ ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।