जनकपुर–जयनगर रेल निर्माणसँगै स्थानीय बजार सस्तो हुने

 कात्तिक ७, २०७५ बुधबार १५:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जनकपुर–जयनगर रेलको निर्माण सम्पन्न भएसँगै स्थानीय बजार सस्तो हुने भएको छ । 

नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भएसँगै माल सामान ढुवानीको लागत घट्न जाने हुँदा बजार सस्तो हुने भएको हो । भारत सरकारको अनुदान सहयोगमा नेपालको ५ वटा नाकाहरुमा रेल्वेको अन्तरदेशीय लाइन निर्माण भइरहेका छन् । पहिलो चरणमा जोगबनी–विराटनगर र जनकपुर–बर्दिबासको निर्माणको काम भैरहेको छ । 

भारत सरकारको ५ सय करोड बढीको अनुदान सहयोगमा जयनगर–जनकपुर–बर्दिबास रेल्वे ट्रयाक निर्माणको काम भइरहेको छ । आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न हुन लागेको यो आयोजनामा नेपाली निर्माण कम्पनीहरुले पनि काम गरिरहेका छन् ।  

रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले जनकपुर–जयनगर रेल निर्माण भई सञ्चालन हुँदा नेपाललाई महंगी नियन्त्रणसँगै, निर्माण प्रविधि र सीप हासिल हुने बताउनुभयो । साथै यसले नेपाली यातायात तथा पारवहनमा ठूलो परिवर्तन ल्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

भारत सरकारको मुख्य निर्माण कर्ता इरिकोन कम्पनीसँगै काम गरिरहेको रमण कन्स्ट्रक्सनले आउँदो दिनमा रेल्वेसम्बन्धी निर्माणका लागि आफूहरु तयार रहेको बताएको छ । जयनगर–बर्दिबास खण्डको ट्रयाक निर्माणको काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले भारतीय कम्पनी इरिकोनसँग मिलेर गरिरहेको छ । नेपाली निर्माण कम्पनीसँग यसअघि रेल्वे ट्रयाक निर्माणमा अनुभव थिएन । योसँगै नेपाली निर्माण कम्पनी पनि रेल्वेसम्बन्धी निर्माण गर्न सक्षम भएको रमण कन्स्ट्रक्सनका निर्देशक रमण महतोले बताउनुभयो ।

भारतको जयनगरदेखि महोत्तरीको कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन, आवास निर्माण पनि अन्तिम अवस्थामा छ । 

यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गएको असोज २६ गते मालबाहक रेल गुडाएर परीक्षण गरिएको थियो । रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको छ ।
 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया