च्याम्पियन्स ट्रफी : इङ्गल्यान्डसँगको खेलमा अफगानिस्तान पहिला ब्या...
फागुन १४, २०८१ बुधबार
दैलेख – दैलेखमा बहुविवाह गर्नेकाे सङ्ख्या बढ्दै गएकाे छ । तर, बहुविवाहकाे विरुद्धमा उजुरी दिने पीडितहरु भने न्याय पाउनु सट्टा असहाय बन्दै गएका छन् ।
गुराँस गाउँपालिका–३ खुमका २७ वर्षीय कमल विक र ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी मिना नेपाली, दुल्लु नगरपालिका–१ नाउले कटुवालका ३८ वर्षीय रमेश खड्का र ३० वर्षीया डिलु खड्का तथा नारायण नगरपालिका–८ ढकानेका २६ वर्षीय अशोक शाही र नौमूले गाउँपालिका–८ चौराठाकी २२ वर्षीया अनु रिमाल अहिले बहुविवाहकाे मुद्दामा हिरासतमा रहेका छन् ।
फौजदारी कसुरको आरोपमा प्रहरीले मुद्दा चलाएर थुनेका १० जनाको नाम भित्र यी तीन जोडी अर्थात् ६ जना बहुविवाह कसुरमा हिरासतमा राखिएका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखले हिरासतमा राखिएका व्यक्तिहरुको विवरण सार्वजनिक जानकारीका लागि अध्यावधिक गर्ने दैनिक कार्यमा यी नाम परेका हुन्।
कमल विकसँग ९ वर्ष अघि विवाह गरी २ छोरा–छोरी भएकी जेठी श्रीमती लक्ष्मी विक, ८ वर्ष अघि विवाहपछि एक छोरी साथमा भएकी रमेश खड्काकी जेठी श्रीमती निर्मला थापा र ५ वर्षअघि विवाह सम्बन्ध पछि ३ वर्षकी छोरी साथमा भएकी अशोककी जेठी श्रीमती शर्मिला न्यौपानेले दिएको उजुरीका आधारमा ती तीन जोडी एकैसाथ प्रहरी हिरासतमा परेका हुन् ।
प्रहरी हिरासतमा राखिएका १० जनामध्ये ६ जना बहुविवाहको आरोपितहरु हुनुले दैलेखमा बहुविवाह अपराध बढ्दै गरेको छ भन्ने पुष्टि गरेकाे छ। तथ्याङ्कहरु केलाउँदा इन्सेकले सन् २०२१ को जनवरीदेखि सेप्टेम्बरसम्म सङ्कलन गरेको मानव अधिकार ज्यादतीका ८४ घटनामा १५ वटा बहुविवाहका घटना छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखको महिला तथा बालबालिका सेवा केन्द्रले अध्यावधिक गरेको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष ०७७/७८ अवधिमा १९, आर्थिक वर्ष ०७६/७७ अवधिमा १४ र आर्थिक वर्ष ०७५/७६ अवधिमा २० जोडीले बहुविवाह गरेका थिए । २०७६ चैत ११ गतेदेखि ४ महिना लकडाउन भएका कारण त्यो समयमा दोश्रो विवाह हुन नपाएको मानव अधिकार रक्षक सञ्जालका संयोजक विशाल सुनारको भनाइ छ ।
मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ ले बहुविवाहलाई कानुनी मान्यता नदिने भन्दै बहुविवाह गरेमा पहिलेको मुलुकी ऐन २०२० ले तोकेको एक वर्षदेखि तीन वर्षसम्मको कैदलाई बढाएर पाँच वर्षसम्म पुर्याइएकाे छ । कानुनले कडाइ गर्दै गरेपछि पनि बहुविवाह नरोकिनु सामाजिक कुचलन प्रमुख कारण रहेको अधिकारकर्मीहरुको टिप्पणी छ ।
बहुविवाहलाई समाजले सामान्य घटनाको रुपमा लिने गरेको अझै कयौँ घटनाहरु कानुनी प्रक्रियामा नआएका सामाजिक सेवा केन्द्र (सोसेक)को महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले बताउनुभयो । कानुनी प्रक्रियामा आएकाहरुलाई पनि पहुँचवाला पीडकहरुले पीडितलाई बयान बदल्न लगाउने गरेको उहाँले टिप्पणी गर्नुभयो ।
सानै उमेरमा बालविवाह गर्नेहरुले बहुविवाह गर्ने गरेको आफूले पाएको नागरिक समाज दैलेखका संयोजक अधिवक्ता खड्गबहादुर सिजाश्रीमानले आफ्नो विश्लेषण गर्नुभयाे । सानै उमेरमा विवाह गर्दा पढाइ रोकिने गरेको कारण उनीहरुको वौद्धिक क्षमता कमी, आर्थिक अभाव लगायतका समस्याले बेमेल सिर्जना भएर बर्सेनि सय जति जोडीले सम्बन्धविच्छेद गर्ने गरेको र त्यति नै सङ्ख्यामा बहुविवाह हुने गरेको अधिवक्ता सिजाश्रीमानको व्याख्या छ ।
बहुविवाहको मुख्य जड बालविवाह भएकोले बालविवाह रोकथाम गर्न सामाजिक सचेतना बढाउन जरुरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले बताउनुभयो । जनचेतना अभिवृद्धिमा प्रहरीको एक्लो प्रयास असम्भव भएकोले स्थानीय सरकार र नागरिक समाजको अगुवाइ आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
बहुविवाह गर्ने जोडीलाई अधिकतम सजाय गर्ने र उनीहरुलाई कैदपछि पनि सँगै बस्न नदिन कानुन कार्यान्वयन गराएपछि मात्र पीडित महिलाहरुलाई न्याय हुने बहुविवाह पीडित गुराँस गाउँपालिका–७ ओखडेनीकी ३६ वर्षीया भद्रकला बुढाको टिप्पणी छ ।
भद्रकलाका ३७ वर्षीय श्रीमान मानबहादुर मगरले ३३ वर्षीया तुली मगरलाई २०७५ फागुन २० गते बहुविवाह गरेको कसुरमा एक वर्ष कैद र १० हजार जरिबाना भएकोमा कैद भुक्तान गरेपछि श्रीमान घरमा बसेकाे तर भद्रकला तीन बच्चासहित सुर्खेतको पिपरामा माइतीको संरक्षणमा बस्दै आउनुभएको छ ।
भगवतीमाई गाउँपालिका–७ वडाभैरवकी निरा विक उमेरले २१ वर्ष हुनुभयो, अढाइ वर्षको छोरा सन्देश र ५ महिनाकी छोरी सारिकालाई काखमा लिएर श्रीमान २१ वर्षीय खड्कबहादुर विक र सौता १९ वर्षीया डिलसरा विक विरुद्ध कानुनी प्रक्रिया सुरु गरेकै कारण घर निकाला भएर भगवतीमाई गाउँपालिका–६ कट्टीमा रहेकाे माइतीमा बस्न थाल्नुभएको छ ।
गएको साउन २५ गते श्रीमानले बहुविवाह गरेपछि भदौ १६ गते उजुरी गरेकै दिन श्रीमान र सौता प्रहरीले पक्राउ गरेकै विषयमा सासुले घर निकाला गरेकी पीडित निराले इन्सेकसँग दुखेसो सुनाउनुभयो । प्रहरीले अनुसन्धान सकेर असोज ७ गते अदालतमा बहुविवाह अभियोगमा थुनछेक बहसपछि आरोपितद्वय खड्क र डिलसरा पुर्पक्षका लागि आरोपित दुवै जनालाई दैलेख कारागारमा थुनामा पठाएको छ ।
भगवतीमाई गाउँपालिका–७ बडाभैरवकै २६ वर्षीया कृष्णा थापाको विवाह भएको १० वर्ष समयमा तीन छोरा जन्माएर हुर्काउँदै हुनुहुन्छ । उहाँका श्रीमान २८ वर्षीय खर्बजित खड्काले त्यही गाउँकी २५ वर्षीया भगवती बोहाेरालाई दोश्रो श्रीमतीको रुपमा भित्र्याएको घटनामा कृष्णाले प्रहरीमा उजुरी गर्नुभयो ।
उहाँले गएकाे माघ २२ गते बहुविवाह गरेको भनी माघ २५ गते उजुरी गर्नुभयो । आरोपित दुवै जनालाई प्रहरीले पक्राउ गर्याे । घर जहानबाट असहयोग भएसँगै कृष्णा अहिले तीन छोराहरु आशिष, रोशन र प्रतीककाे पालन पोषणका लागि माइतीको सहयोग लिनुपरेको छ । अदालतले यो मुद्दा दुवै जनालाई डेढ वर्ष कैद र १५ हजार जरिबाना गरेको छ, कैद सकेर फर्किएपछि घरबार हुनेमा कृष्णालाई आश छैन ।
अहिले प्रहरी हिरासतमा रहेका कमल विक र मीनाले असोज १४ गते बहुविवाह गरेको भन्दै असोज १८ गते उजुरी गरेकै दिन प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि सासु–सासुराले तनाव दिन थालेपछि कमलकी जेठी श्रीमती लक्ष्मी विक आफ्ना दुई सन्तानसहित बर्दियाको भुरीगाउँमा रहेकाे माइतीमा संरक्षण मागेर बस्नुभएको छ ।
बहुविवाहको पीडा भोगेका सबैले उजुरी गर्न सकेका छैनन् । भद्रकला बुढा, निरा विक, कृष्णा थापा र लक्ष्मी विकले मात्र होइन उजुरी गरेकाहरु सबैजसोले घर निकाला भएका छन् । राज्यको तर्फबाट पहल नगरे पीडित महिलाहरुले अन्याय सहेरै बस्ने स्थिति आउने सक्ने खतरा निम्तिएकाे छ ।
बालविवाह निर्मूल पार्ने, हरेक छोरीलाई माध्यमिक तहसम्मको शिक्षा पूरा गराउने, युवाहरुलाई स्वरोजगारमूलक सिप र ज्ञान दिने,पारिवारिक अनुशासन कायम गर्ने लगायतका पक्षमा ध्यान दिन सके बहुविवाह राेकथाम हुनसक्ने जेष्ठ नागरिक समाज दैलेखका पूर्व अध्यक्ष इन्दिरा थापाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।