थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना बन्न नदिए ललितपुरमा लोडसेडिङको सम्भावना

 वैशाख १९, २०७६ बिहीबार १२:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । 

विद्युतको माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताउनुभयो ।  

आर्थिक वर्ष २०५५/०५६बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् । काठमाण्डाै र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन । 

स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षण गर्नुभएको छ । घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुङ्गमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिनुभएको थियो । 

उहाँले ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गर्नुभएको थियो । स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो । 

‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिँदैन’, घिसिङले भन्नुभयो । ‘स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खाडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाण्डाै उपत्यकामा विद्युत आपूर्ति दिने ? प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ ।’ 

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाण्डाै–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उहाँले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताउनुभयो । अहिले लिलितपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । 

ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनु पर्नेलगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् । 

खोकनाका स्थानीयले काठमाण्डाै–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै  र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नु पर्ने माग गरेका छन् ।  प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामासमेत काम गर्न दिएका छैनन् ।

प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ । प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ ।  काठमाण्डाै र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो । 

प्रसारण लाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन । 

२८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष ०६६/६७ मा ठेक्का तोडेको थियो ।

टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताउनुभयो । उहाँले अवरोध हटेर काम सुरु भएको  ६ महिना भित्रमा निर्माण सकिने अवस्था रहेको बताउनुभयो। 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया