साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मेवारी चाइना रेल्वे २५ औँ ब्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि डीपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
एक वर्षभित्र डीपीआर तयार पारिसक्ने गरी समझदारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिनुभयो । ३ वर्षभित्र त्यो रेलसेवा काठमाडौं र ललितपुर महानगरपालिकाभित्र रहेको चक्रपथमा सञ्चालन गर्ने योजना बनाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले संघीय सरकार र प्रदेश सरकारको समेत सक्रियतामा मोनोरेलको डीपीआर तयार पार्ने सहमति पत्रमा समझदारी गरिएको स्पष्ट पार्नुभयो ।
डीपीआरको खर्च पनि चिनियाँ कम्पनी सीआरसीसीले नै व्यहोर्नेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले प्रतिवेदन ६ महिनाभित्रै आउने विश्वास व्यक्त गर्दै त्यसपछि तत्काल मोनोरेल सञ्चालन मार्ग निर्माणको काम सुरु हुने पनि स्पष्ट पार्नुभयो । उहाँले मोनोरेल सेवा निर्माणका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढाउने योजना पनि सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्दै चिनियाँ कम्पनी सीआरसीसीका प्रमुख झ्यूले डीपीआरसहित मोनोरेल सेवा सञ्चालनका लागि निर्माण कार्य पूरा गर्न ५ वर्ष समय लाग्ने बताउनु भएको थियो । यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोनोरेल सञ्चालन गर्ने आफूहरुको सपना पूरा गर्न चिनियाँ कम्पनी सीआरसीसी सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले रेल सेवा सञ्चालनका लागि संघीय सरकार र प्रदेश सरकारको पनि सहायता लिने स्पष्ट पार्नुभयो ।
यसअघि सीसीआरसीले नै मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन तयार पारेको थियो । अध्ययन अनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथभित्र मोनोरेल सञ्चालनका लागि झण्डै १ खर्ब १६ अर्ब लाग्नेछ ।
काठमाडौं महानगरपालिकाका मेयर शाक्यले त्यसभन्दा कम लागतमा मोनोरेल सञ्चालन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मोनोरेल सञ्चालन भएसँगै काठमाडौंमा ट्राफिक जामको समस्या सदाका लागि समाधान हुने विश्वास गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।