पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको निष्कर्ष

 फागुन २२, २०८१ बिहीबार ९:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विपद विज्ञहरुले पहिरोको पूर्वानुमान गर्ने विश्वसनीय विधि विकास गर्न सकिने निष्कर्ष निकालेका छन् ।

सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गएको विषयमा वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो । अध्ययनमा सहभागी विज्ञ टोलीले पहिरोको पूर्वानुमान गर्न सकिने निष्कर्ष निकालेको हो ।

अध्ययनको नेतृत्व गर्नुभएका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा.रञ्जनकुमार दाहालले अध्ययनको उद्देश्य,अनुसन्धान विधिलगायतबारे जानकारी गराउँदै तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने बताउनुभयो ।

यस्तो विधिको विकास गरी जोखिम सञ्चार रणनीति र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । विज्ञहरुको निष्कर्षसहतिको प्रतिवेदन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमासमेत बुझाइएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख डा.भीष्मकुमार भुसालले प्राधिकरणले विभिन्न विपद्हरुको पूर्वसूचना प्रणाली विकासमा काम गरिरहेकाले सिन्धुपाल्चोकका दुई पालिकामा भएको अध्ययनले महत्त्वपूर्ण आधारका रुपमा काम गर्ने बताउनुभयो ।

अध्ययनले हेलम्बुमा २४ घन्टामा १२४ मिलिमिटर पानी परेमा र पाँचपोखरी थाङपालमा त्यही अवधिमा ११८ मिलिमिटर पानी परेमा पहिरो जान शुरु हुने देखिएको छ । मनसुनमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामध्ये सिन्धुपाल्चोक पनि हो ।

नेपालका लागि हालसम्म गरिएका अध्ययनका अनुसार प्रति दिन एक सय १५ मिलिमिटरदेखि एक सय ६० मिलिमिटर पानी पर्दा पहिरो निम्तिने गरेको छ ।

अध्ययनले कति वर्षाले पहिरो जाने कुराको तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने औँल्याएको छ ।

अध्ययनमा वर्षाको मात्राले पहिरो जाने सीमा निर्धारण गर्न सकेमा पहिरोको पूर्व चेतावनी प्रणाली र विपद् जोखिम व्यवस्थापनको रणनीति विकास गर्न सजिलो हुने सुझाव दिइएको छ ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया