च्याम्पियन्स लिग : आर्सनलको ऐतिहासिक जीत, पीएसभी ७–१ गोलले पर...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ बनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुई हप्ता घरमै आराम गरेर निको भए पनि उहाँलाई हल्का खोकी अझै लागिरहेको छ ।
भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लूएन्जा) कडा महसूस गर्नुभयो । उहाँले यति लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाउनुभयो ।
घिमिरे र खड्का मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्या भोग्नुपरेको गुनासो गरिरहेका छन् । छाति तथा दम रोग विशेषज्ञ डा.नवीनकुमार मिश्राले पनि फ्लू लाग्ने सिजन सकिसक्दा पनि लामो लक्षणसहितको फ्लू देखापरिरहेको बताउनुभयो ।
सामान्यतयाः नेपालमा जनवरीदेखि मार्च महिना र जुलाईदेखि सेप्टेम्बर महिनामा फ्लू बढी देखिने भए पनि यसपटक निकै लम्बिएको उहाँले बताउनुभयो । डा.मिश्राका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक हप्तामै आफैँ हराएर जाने तर केहीलाई जटिल समस्या निम्त्याउन सक्छ ।
मौसम परिवर्तन भएसँगै फ्लूका बिरामी देखिन थालेका छन् । कतिपयमा कडा लक्षण देखिएको छ । विशेषगरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ । यसमा अचानक ज्वरो आउनु, सुक्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वस्थ्य महसूस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखा पर्न सक्छन् ।
फ्लूमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा त्यो भन्दा बढी पनि रहन सक्छ । यसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको सङ्क्रमण) सँगै अन्य सङ्क्रमणको खतरासमेत हुने सम्भावना सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक उहाँले लामो समयसम्म खोकी लागिराख्ने समस्या लिएर आउने बिरामी बढिरहेको बताउनुभयो । पुनले भन्नुभयो,‘फ्लूले धेरै लामो समयसम्म दुःख दिने गर्छ । सामान्यतयाः हप्ता वा १० दिनसम्म निको हुने फ्लू हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ । हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ ।’
उहाँले कोभिडमा देखिएको गन्ध र स्वाद थाहा नपाउने लक्षण यो फ्लूमा पनि देखिएको भन्दै कोभिडका ‘सव–भेरियन्ट’ पनि हुनसक्ने आँकलन गर्न सकिने बताउनुभयो । सङ्क्रामक रोग विशेषज्ञ डा.पुनले मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लूको जोखिम बढाएको बताउनुभयो ।
‘हाल हङकङ फ्लू देखिएको छ । जोखिम वर्गमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बढी जोखिममा हुन्छन् । चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपनाउन आवश्यक छ’, उहाँ भन्नुहुन्छ,‘मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सङ्क्रमित व्यक्तिबाट सजग रहने, सङ्क्रमण देखिएमा पर्याप्त मात्रामा आराम गर्ने गर्नुपर्दछ । फ्लूविरुद्ध खोप लगाउनु राम्रो हुन्छ ।’
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओे) काअनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन् ।
डब्ल्यूएचओेका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन् । तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर ज्यान गएको तथ्याङ्कले देखाउँछन् ।
खोपले शतप्रतिशत सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन सहयोग गर्छ । चिकित्सकहरूका अनुसार इन्फ्लूएन्जाका लक्षण सामान्यतया भाइरस भएको व्यक्तिबाट सङ्क्रमित भएको दुई दिनपछि शुरू हुन्छ । उच्च जोखिममा रहेका व्यक्तिमा गम्भीर समस्या, अस्पताल भर्ना र ज्यानैसमेत जान सक्छ ।
काठमाण्डौ मेडिकल कलेज श्वासप्रश्वास रोग विभागीय प्रमुखसमेत रहेका डा.मिश्राले दम भएका बिरामी, पाँच वर्षमुनिका बालबच्चा र ६० वर्ष माथिका व्यक्ति, रोगसँग लड्नसक्ने क्षमता कम भएकाहरूमा फ्लूको जोखिम रहने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ,‘लक्षण बिग्रिँदै गइरहेको छ, अक्सिजनमा कमी आएको छ भने तत्काल चिकित्सकलाई भेट्नुपर्छ । लक्षण सामान्य देखिएका छन् भने आराम गरेर निको हुन्छ । आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त खाने गर्नुपर्छ । धेरैजसो आफैँ हराएर जान्छ ।’ जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा सङ्क्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।