शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरुबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने छ ।
प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरको विद्युत् जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत् आयोजना र ती आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिवार आयोजनाहरुको निरीक्षण गरेको हो ।
टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लिको ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत् आयोजनाहरुको भ्रमण गरेको थियो ।
टोलीले ती आयोजनाहरुको अहिलेसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरुसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजनाहरु जतिसक्दो छिटाे निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइनमा अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताउनुभयो ।
प्राधिकरणले दोर्दी खोलाका जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो ।
तर, १ असार २०७८ मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये ४ वटालाई बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुमा पनि ठूलो क्षति पुर्याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत् आयोजनाहरुको पुनर्निर्माण भइरहेको छ । ४ वटा टावरमध्ये २ वटाको जग हालिएको, १ वटा खडा गरिएको छ भने दुई वटाको जग हाल्ने काम भइरहेको छ । यो काम वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
‘निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन बाढीले बगायो भने जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पुर्यायो, अहिले प्रसारण लाइन तथा जलविद्युत् आयोजनाहरको पुनर्निर्माण तथा मर्मतसम्भार भइरहेको छ, यो काम सम्पन्न गर्न बढीमा दुई महिना लाग्ने देखिएको छ, त्यसैले जलविद्युत् आयोजनाहरुको बाँकी काम सक्ने बेलासम्म प्रसारण लाइन पनि तयार हुन्छ’, उहाँले भन्नुभयो ।
‘एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि सबै पक्ष मिलेर जतिसक्दो छिटाे काम सम्पन्न गरौँ, प्रसारण लाइन छैन भन्दै काममा ढिलाइ नगरौँ, ठेकेदारले प्रसारण लाइनको संवेदनशीलतालाई ध्यान दिएर श्रमिक थपेर निर्माण तत्काल सम्पन्न गरिदिनु पर्यो’ उहाँले भन्नुभयाे ।
आयोजनाहरुमध्ये दोर्दी खोला र दोर्दी–१ जलविद्युत् आयोजनाको काम केही छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उहाँले बताउनुभयो । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षणहरु सम्पन्न गरी २० दिनभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएको थियो ।
आयोजनाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्था अन्तर्गत अहिले सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत् गृहकाे स्वीचयार्डमा जोडिने छ । यसका लागि उदिपुर–मार्कीचोक २२० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाख भित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीजयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ ।
उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी–१ आयोजनाको विद्युत् पनि मध्यमर्स्याङ्दी स्वीचयार्डमै जाडिने छ ।
‘अहिलेको ऊर्जा सङ्कटको प्रसारण लाइन अभावमा २७ मेगावाट र १२ मेगावाट विद्युत् जोड्न नसक्ने अवस्था आउन दिनुहुँदैन, यसमा मुख्य रुपमा ठेकेदारले गम्भीर भएर काम गरिदिनुपर्यो’, कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भन्नुभयो ।
बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावर लिले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले शुक्रवारबाट परीक्षण उत्पादन सुरु गरेको छ ।
‘स्थानीयको अवरोधले खुदी–उदीपुर प्रसारण लाइन निर्माणका केही ढिला हुँदा वैकल्पिक व्यवस्था अन्तर्गत चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत् आयोजनाको प्रसारण लाइनमा न्यादीको विद्युत् जोडिएको छ, चिनियाँहरुले जोड्न नदिने अडान लिइरहेका थिए तर प्राधिकरणको निरन्तरको प्रयासपछि अन्ततः न्यादीलाई जोड्न सफल भयौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।