वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र युगान्डा...
फागुन २९, २०८१ बिहिबार
काठमाडाैं - नेपालले चीनको भूमि प्रयोग गर्न पाउने गरी दुई देशबीच पारवहन सम्झौताको प्रोटोकलमा सहमति जुटेको छ ।
दुई देशका प्रतिनिधिबीच बुधबार र बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो चरणको बैठकले चीनको भूमि प्रयोग गरेर नेपालले तेस्रो मुलुकमा पनि वस्तुहरुको आयात-निर्यात गर्न पाउने गरी पारवहन सम्झौताको प्रोटोकलमा सहमति जुटेको हो ।
निरन्तरको प्रयासपछि नेपालले चीनको भूमिबाट तेस्रो देशमा आयात, निर्यात गर्न पाउने गरी पारवहन सम्झौताको प्रोटोकलमा सहमति जुटेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँले त्यस महत्वपूर्ण समझदारीलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी छिट्टै सार्वजनिक गर्ने घोषणा पनि गर्नुभयो ।
समझदारीसँगै नेपाल र चीनबीच दुई वर्षअघि केपी ओली नेतृत्वकै अघिल्लो सरकारले गरेको पारवहन तथा यातायात सम्झौता कार्यान्वयनमा आउने बाटो खुला भएको छ । यसले नेपालबाट तेस्रो देशसँग हुने व्यापारका लागि भारतीय परनिर्भरताको अन्त्य गरिदिएको छ ।
नेपालले तेस्रो मुलुकको पारवहनका लागि रेल, सडक, रोपवे लगायतका जुनसुकै सवारी साधन पनि प्रयोग गर्न सक्ने सहमति पनि गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो ।
पारवहनका लागि नेपालले चीनका सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न र हाललाई तियान्जेन, सेनजेन, लियानयुंगाङ, झाङझियाङ ४ वटा बन्दरगाह प्रयोग गर्न सक्नेछ ।
सहमति अनुसार नेपालले पारवहन ढुवानीका लागि ६ वटा नाका प्रयोग प्रयोग गर्न पाउनेछ । यसमा नेपालतर्फको रसुवा, कोदारी, किमाङथाङका, नेचुङ, यारी र ओलाङचुंगोला नाका प्रयोग गर्ने सहमति पनि जुटेको सचिव घिमिरेले बताउनुभयो ।
त्यसैगरी नेपालले पारबहनका लागि नेपालमा दर्ता भएका ढुवानीका सबै साधन प्रयोग गर्ने व्यवस्था पनि गरिएको छ ।
सहमति कार्यान्वयनका लागि अनुगमन गर्न नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीन सरकारको यातायात मन्त्रालयका उपमन्त्री स्तरमा एक संयुक्त परामर्श संयन्त्र रहने व्यवस्था पनि गरिएको छ ।
प्राविधिक क्षेत्रमा समस्या देखिए समाधानका लागि यातायात विभागका महानिर्देशक स्तरीय प्राविधिक विषयमा वार्ता गर्न एक संयुक्त परामर्श उपसमिति पनि बनाउने प्रोटोकलमा सहमति गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीको दोस्रो चीन भ्रमणपछि नेपालले चीनको भूमि प्रयोग गरेर तेस्रो मुलुकको वस्तु आयात तथा निर्यात गर्ने महत्वपूर्ण सहमति जुटेको हो ।
मन्त्री यादवले सहमति नेपाल र नेपालीका लागि खुशी र गौरवको विषय भएको पनि स्मरण गराउनुभयो ।
मन्त्री यादवले शुक्रबार अपराह्न सिंंहदरबारमा पत्रकार सम्मेलन गरी सहमतिलाई छिट्टै औपचारिक कार्यक्रमका बीच सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।
नेपाल–चीनबीच ऐतिहासिक पारवहन सम्झौता, भारतसँगको निर्भरता हट्यो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।