एनसेलको फोर जी सेवामा ग्राहकको आकर्षण बढ्दै

 भदौ २१, २०७५ बिहीबार २०:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निजी दूरसञ्चार कम्पनी एनसेलले गएको एक वर्षमा ११ लाख भन्दा बढी ग्राहकलाई आफ्नो फोर जी सेवामा आकर्षित गरको छ । आफूभन्दा पहिला यो सेवाको सुरुवात गर्ने नेपाल टेलिकमसँग प्रतिस्पर्धामा खरो उत्रँदै कम्पनीले देशका २१ शहरहरुमा यो सेवाको विस्तार गर्दै आफ्नो ग्राहक आधार बढाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गएको असार २०७५ सम्मको तथ्याङ्कको अनुसार एनसेलले कुल ११ लाख २३ हजार तीन सय ४८ ग्राहकलाई फोरजी सेवा दिएको छ । उसले सरकारको अनुमति पश्चात जेठ १८, २०७४ मा यो सेवा संचालनमा ल्याएको थियो ।

प्राधिकरणका अनुसार असारसम्ममा देशमा तीन टेलिकम कम्पनीहरुले प्रदान गरिरहेको फोरजी चलाउने ग्राहकको संख्या कुल १७ लाख ७० हजार चार सय ४० पुगेको छ । यो सेवामा नेपाल टेलिकमको ग्राहक संख्या ६ लाख ५ हजार सात सय ९१ र स्मार्ट टेलिकमको ग्राहक ४१ हजार तीन सय १ रहेका छन् । टेलिकमले एक वर्षभित्र देशैभरि फोरजी सेवा पुर्याउने बताउँदै आएको छ ।   

एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको सन् २०१८ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एनसेलले फोरजी सेवा सञ्चालनका लागि देशका विभिन्न भागमा ९३४ बीटीएस जडान गरेको छ । कम्पनीको फोरजी सेवाको सञ्चालनसँग सँगै ग्राहकहरुले गर्ने डाटा खपत पनि बढेको पाइएको छ ।

आजियाटाको उक्त वित्तीय प्रतिवेदन अनुसार, सन् २०१७ को दोस्रो त्रैमासिक जुन बेला एनसेलले आफ्नो फोरजी सुरु गरेको हो । पहिलो त्रैमासिकमा प्रति ग्राहक प्रति महिना औसत डाटा खपत ३४१ एमबी रहेको थियो र कुल डाटा खपत ६८ लाख जिबी थियो । अहिले सन् २०१८ को दोस्रो त्रैमासिकमा प्रति ग्राहक प्रति महिना औसत डाटा खपत ६९८ एमबी र कम्पनीको कुल डाटा खपत १ करोड ५९ लाख जिबी पुगेको छ । यसरी हेर्दा उक्त अवधिमा प्रति ग्राहक प्रति महिना औसत डाटा खपत दोब्बर भन्दा बढी भएको छ भने कुल डाटा खपत करिब डेढ गुणाले बढेको छ ।
   

बढ्दो डाटा खपतका कारण कम्पनीको यो सेवाबाट हुने आयमा पनि उलेख्य वृद्घि भएको छ । ‘एनसेलको डाटा आय ३४ दशमलब २ प्रतिशतले बढेको छ भने डाटा आयको कुल आम्दानीमा २२ प्रतिशत योगदान रहेको छ’ आजियाटाको उक्त रिपोर्टले उल्लेख गरेको छ । सन् २०१७ को दोस्रो त्रैमासिकको तुलनामा २०१८ को दोस्रो त्रैमासिकमा एनसेलको कुल आयमा ५ दशमलब ५ प्रतिशतले वृद्घि भई १५ अर्ब २६ करोड पुगेको आजियाटाले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया