कृषिमन्त्रीको पहलमा पतञ्जली घ्यूको मूल्य बढाइयो

 भदौ २०, २०७५ बुधबार १७:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्वदेशी घ्यूलाई प्रवर्द्धन गर्न भारतबाट आयातित घ्यूको मूल्य बढाइएकाे छ । न्यून बिजकीकरण र चोरीपैठारी भएर भारतबाट आयात भएको घ्यूलाई नेपाली घ्यूले प्रतिस्थापन गर्न मुल्यांकन बढाएर महंगो बनाइएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको विशेष आग्रहमा अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतन्जलीको घ्यू र अमुलको घ्यूको मुल्यांकन बढाएर ४०० भारु अर्थात ६४० रुपैयाँ बनाइएको छ । यसअघिको मुल्यांकन २५० भारु थियो ।

अब ६४० मा ३० प्रतिशत भन्सार महसुल र त्यसको १३ प्रतिकर भ्याट समेत गरी प्रतिलिटर घ्यूको मूल्य ९४० रुपैयाँ कायम भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले प्रति लिटर घ्यू ८५० रुपैयाँमा बेचिरहेको छ । 

अब नेपाली घ्यूभन्दा भारतीय घ्यू महंगो भएपछि प्रतिस्पर्धा गर्न सजिलो हुने नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताउनुभयो । 

मुल्यांकन पनि सस्तो र भन्सार पनि छलेर भारतीय घ्यू नेपाली बजारमा भित्रँदा नेपाली डेरी उद्योगहरुले पनि मुल्यांकन बढाउन र भन्सारमा कडाई गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका थिए । त्यसमा डिस्ट्रिब्यूटर, होलसेलर, रिटेलरले थप नाफा खाएर बेच्नु पर्ने हुँदा नेपाली घ्यूले प्रतिस्पर्धा गर्न सक्ने भएको छ । राजभण्डारीले भारतीय घ्यूको मुल्यांकन बृद्धिले नेपाली किसानलाई निक्कै राहत महसुस भएको बताउनुभयो । 

खुल्ला सिमानाका कारण कतिपय अवस्थामा भन्सार छलेर पनि भारतीय घ्यू नेपाल भित्रने गरेको किसानको गुनासो छ । सुनौली र भैरहवा नाकाबाट धेरै घ्यू नेपाल भित्रने गरेको छ । नेपाल दुग्ध संस्थानका अनुसार गएको साउन महिनामा मात्रै भैरहवा नाकाबाट २० हजार लिटर पतञ्जलीको घ्यू नेपाल भित्रेको छ ।

काठमाडौंका भाटभटेनी र बिग मार्टहरुमा पतञ्जलीको घ्यू नभेटिए पनि साना खुद्रा पसलहरुमा छ्यास्छ्यास्ती पतञ्जलीको घ्यू बिक्री भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

नेपालले भारतीय पाउडर दूध पनि आयातमा प्रतिबन्ध लगाएको छ । झण्डै दुईमहिनादेखि पाउडर दूध आयातमा कृषि मन्त्रालयको पहलमा प्रतिबन्ध लगाइएको हो । 
पहिले नै अनुमति  लिएको बाहेक अरु पाउडर नेपाल नभित्रिएको डीडीसीले बताएको छ ।

डीडीसी र डेरी उद्योगहरुले भारतीय पाउडर दुधलाई अझै केही समय प्रतिबन्ध लगाउन र आइसक्रिममा पनि भन्सार दर बढाउन माग गरिरहेका छन् ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • GURURAJ BARUWAL

    Sept. 5, 2018, 5:30 p.m.

    आहा कस्तो कानून ! अनि हाम्रो मन्त्रीको दिमागकि, कसरि हुन्छ मुल्य घटाउन तिर लाउनु छैन, श्थानीए उत्पादन स्थापनाको लागि प्रोथ्साहन गर्नु छैन कि जनतालाइ कसरि हुन्छ धिकारिक तरिकाले लुट्नु तिरपो। अचम्म पो छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया