फागुन र चैतको महसुल वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने, समय थपिन सक्ने कुलमान घिसिङको भनाइ

 वैशाख ६, २०७७ शनिबार १३:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल यही वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ । 

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिबाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा त्यही अनुसार समयावधि थप हुने प्रष्ट पार्नुभयो । 

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को गएको चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा बिलम्ब बापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । त्यही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको गएको चैत २५ गतेको आठ सय ३० औँ बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । 

‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाईन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ, लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ ।’ घिसिङले भन्नुभयो । 
‘लकडाउनको विषम परिस्थितिमा ग्राहकवर्गलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन हाम्रो टिम अहोरात्र खटिरहेको छ, दैनिक सञ्चालन खर्च, खरिद गरिएको विद्युतको भुक्तानीलगायतलाई रकम आवश्यक पर्छ । महसुल समयमा सङ्कलन नहुँदा हाम्रो न्यूनतम सेवा प्रवाहका लागि खर्च नै नपुग्ने गरी नगद प्रवाह जोखिम आउन सक्ने भएकाले यस्तो सम्भावित अवस्था आउन नदिन अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गर्दछु,  ग्राहकवर्गले प्राधिकरणलाई गर्दै आउनुभएको भरोसा र सहयोग यस्तो विषम परिस्थितिमा पनि निरन्तर रहने छ भन्ने विश्वास गरेका छौँ’, उहाँले भन्नुभयाे ।

प्राधिकरणले चैत र वैशाखको महसुल आउँदो जेठ ६ गतेभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो । 

प्राधिकरणले वर्तमान अवस्थामा ग्राहकको घरघरमा गइ मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिङ्गल फेज ग्राहकहरुको चैत्र र वैशाखको बिल फागुनको बिल अनुसार नै गर्नेछ भने थ्री फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक बिल गर्नेछ । सिङ्गल फेज ग्राहकहरुको यी महिनाहरुको बिल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा त्यही अनुसार बिलमा मिलान गरिने छ ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले ग्राहस्थ्य (सामुदायिक समेत) वर्गका एक सय ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही वैशाखको बिलको इनर्जी शुल्क (न्युनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैत्र महिनाको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाइनेछ भने बिल तिरिसकेका ग्राहकको हकमा वैशाखको बिलमा मिलान गरिनेछ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राजेन्द्र कुवर

    April 18, 2020, 3:36 p.m.

    लक डाउनको समयमा बिधुत महसुल फालगुन महिनाको हिजो अन्लाईन मार्फत तिर्न लाग्दा बिल रकम भन्दा ८०० रुपैयाँ बढी देखाइएको छ। तर यहाँ समाचारहरुमा चै कुनै थप जरिवाना नलाग्ने खबर आउछ सम्बन्धित निकाएको ध्यानाकर्षण गर्न चाहान्छु।। एस सम्बन्धि थप जानकारी को लागि ९८६२४२२५७५ मा कल गर्नु होला।

  •  0 Reply

तपाईको प्रतिक्रिया