असारभित्र थप ७४ मेगावाट बिजुली उत्पादन हुने, कुलेखानी तेस्रोको सुरुङमा पानी भरियो

 वैशाख ४, २०७६ बुधबार १३:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्र ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।  

कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली थ्री एको झण्डै ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ‘विभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगेर विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनको महत्पूर्ण माइलस्टोन हो, विद्युत् गृहका टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, असारभन्दा अगाडिनै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको छ ।’ 

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो । विद्युत गृह,सुरुङ लगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडे पछि आयोजनाको निर्माण प्रभावित भएको थियो । 

प्रसारण लाइनको पनि तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिनुभयो । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी झण्डै ५ सय मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’ उहाँले भन्नुभयो । 

मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । 

यस्तै रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् १७ वैशाख (३० अप्रिल २०१९) भित्र ल्याउने गरी काम भइरहेको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट,  बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घिसिङले जानकारी दिनुभयो । उहाँले मुख्य सुरुङमा पानी हाल्ने प्रक्रिया सुरु भएको बताउनुभयो । 

‘१७ वैशाखभित्रमै एउटा युनिटबाट विद्युत उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ’, उहाँले भन्नुभयो ।

दोस्रो युनिट (३० मेगावाट)बाट भने असारभित्रमा विद्युत उत्पादनको लक्ष्य राखिएको छ । 

प्रसारण लाइनसहित कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत गृह, बँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) स“ग २०६७ जेठ १८ गते ठेक्का सम्झौता भएको थियो ।  भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । 
 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया