नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डाैसहित पूर्वमा पानी नपर्ने

 माघ ९, २०८१ बुधबार १२:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – नेपालमा आज बेलुका नयाँ मौसमी प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुने यो प्रणालीको असर सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । नयाँ प्रणालीले आज राति र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यो प्रणालीको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना सामान्यतया नरहेको माैसमविद् मानन्धरले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाण्डाै र पूर्वमा छिटपुट बादल लागे पनि बदली र वर्षाको सम्भावना छैन । नयाँ प्रणाली सक्रिय हुँदा गण्डकीदेखि सुदूरपश्चिमसम्मको तापक्रम घट्न सक्छ ।

यसपालि माघ पहिलो हप्ता बितिसक्दा पनि धेरैजसो ठाउँमा हिउँदे वर्षा भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएका छन् । पश्चिममा पनि पर्याप्त पानी परेकै छैन । हिउँ नपर्दा सेतै हिउँ हुनुपर्ने माघ महिनामा पनि हिमाल कालै छन् ।

यस्तै सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपालि माघको पहिलो हप्ता नै चिसो धेरै घटिसकेको छ । हिउँद सुक्खा हुँदा हिउँदे बालीमा प्रत्यक्ष असरसँगै स्रोतमा पानी घट्ने, डढेलोको जोखिम, वायु प्रदूषणलगायतका समस्याहरू आउने जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया