हमासले पहिलो चरणमा रिहा हुने तीन जना इजरायली बन्धकको नाम सार्वजनिक गर्‍याे

 माघ ६, २०८१ आइतबार १४:४९:३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

प्यालेस्टिनी विद्रोही समूह हमासले पहिलो चरणमा मुक्त गर्ने तीन जना महिला बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले तीन जना इजरायली महिलाको नाम सार्वजनिक गर्दै पहिलो उनीहरूलाई रिहा गर्ने बताएको बीबीसीले जनाएको छ । हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।

यसअघि इजरायलले हमासले बन्धकहरूको नाम सार्वजनिक नगरेको भन्दै युद्धविराम पालनामा ढिलाइ भएको थियो । सम्झौताअनुसार गाजामा युद्धविराम स्थानीय समयअनुसार बिहान साढे ८ बजे शुरू हुनुपर्ने थियो ।

यसैबीच युद्धविराम शुरू भएको एक घण्टामा इजरायली आक्रमणमा १० जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीका अनुसार इजरायली आक्रमणमा गाजा सिटीमा ६, उत्तरी गाजामा ३ र रफाहमा १ जना मारिएका छन् । यस्तै आक्रमणमा २५ जना घाइते भएका छन् । यसअघि इजरायलको सेनाले युद्धविराम शुरू नभएसम्म गाजामा आफ्नो सैन्य कारबाही जारी राख्ने बताएको थियो ।

युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ । युद्धविरामको गाजावासी र बन्धक बनाइएका परिवारले स्वागत गरेका छन् भने यसलाई स्थायी शान्तिको प्रयासका रूपमा हेरिएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया