बिग्रे–भत्केका सडक बर्खाअघि नै बनाउने योजना हो, तर बजेटको समस्या छ

 पुष १३, २०८१ शनिबार ९:९:६ | रामहरि पाेखरेल
unn.prixa.net

असोजको दोस्रो हप्ताको बाढी पहिरोबाट सडकमा क्षति हुनेबित्तिकै गाडी सञ्चालनलाई पहिलो प्राथमिकता राख्यौँ । बाढी पहिरोले भत्किएका सडकलाई पहिले एकतर्फी भए पनि सञ्चालन गर्‍याैँ । अहिले ती सडकमा दुईतर्फी नै गाडी गुड्न सक्ने बनाउने गरी काम शुरू गरेका छौँ । कतिपय सडकमा पर्खाल लगाउने र बाटोमा गिट्टी ओछ्याएर गाडी गुड्न मिल्ने गराएका छौँ । कामचालाउ रूपमा बनेका सडकलाई स्तरोन्नति गर्न बजेट अभाव भएको हुँदा अघि बढ्न सकेको छैन । भविष्यमा के गर्ने भनेर योजना त बनाएका छौँ तर बजेट अभाव हुँदा ठेक्का प्रक्रिया शुरू हुन सकेको छैन ।

वर्षाअघि नै वैकल्पिक सडकको योजना

अब बर्खा लाग्न पाँच महिना बाँकी छ । साथै हिउँदे वर्षा पनि हुन सक्ने सम्भावना छ । बाढी पहिरोबाट क्षति पुगेका सडक स्थायी रूपमा सञ्चालन हुन ढेडदेखि दुई वर्षसम्म लाग्न सक्छ । त्यसैले अहिले सडक विभागले देशभरका मुख्य राजमार्गमा बर्खाअघि र वर्षा भइरहँदा पनि अवरोध हुन सक्ने भएकाले वैकल्पिक बाटोको योजना अघि सारेको छ । वैकल्पिक बाटो बनाउन सडक विभागले भौतिक पूर्वाधार विकास मन्त्रालय र अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । विभागलाई जति छिटो बजेटको व्यवस्थापन हुन्छ, त्यति छिटो काम शुरू हुन्छ । बनेका सडक पनि धेरै ठाउँमा भत्किएका छन् । विभागलाई सडक मर्मत गर्न भनेर सडक बोर्डमार्फत नियमित रूपमा बजेट आइरहेको हुन्छ । त्यसैले विभागले भत्किएका सडकको मर्मत कार्य गरिरहेको हुन्छ । केही निर्माणाधीन सडकमा चाहिँ यात्रुलाई असहज भएको हुन सक्छ ।

बाढी पहिरोले देशका मुख्य राष्ट्रिय राजमार्गहरू अवरोध भएका छन् । मुख्य राजमार्गको मर्मत कार्यमा सडक विभागको पहिलो प्राथमिकता हुन्छ । हामीले उपलब्ध स्रोत साधनलाई प्रयोग गरेर मर्मत गर्ने हो । विशेषगरी नारायणगढ–बुटवल र पोखरा–मुग्लिन सडक निर्माणाधीन सडक हुन् । निर्माणाधीन सडकमा यात्रुलाई सहज हुने गरी सम्बन्धित निर्माण व्यवसायी र परियोजना निर्देशकलाई समय–समयमा निर्देशन दिने गरेका छौँ । विभागबाटै आयोजनाहरूको अनुगमन पनि हुने गरेको छ । यी राजमार्गमा पहिलेकोभन्दा अहिले अवस्था केही सुध्रिएको छ । पूर्ण रूपमा सुध्रिन केही सयम लाग्न सक्छ । पोखरा–मुग्लिन सडकमा पूर्व खण्ड झन्डै सकिन लागेको छ । पश्चिम खण्डमा झन्डै ५० प्रतिशत सडकको काम भएको छ । अर्को वर्षसम्म यी सडकहरूमा राम्रोसँग गाडी चालाउन सक्ने अवस्था आउँछ ।

सबैभन्दा दुःख दिएको भनिएको नारायणगढ–बुटवल सडकमा पछिल्लो समय फेरि सडक निर्माण गर्न ठेकेदार पक्षलाई समय थप गरिएको छ । सडक निर्माणको काम शुरू भएदेखि नै केही न केही समस्या आइरहेको छ । पछिल्लो केही समय पनि सडक निर्माण गर्न अवरोध भयो । अहिले म आफैँले सडक परियोजनाको ठेकेदार पक्षसँग छलफल गरिरहेको छु । अहिले ठेकेदार पक्षसँग बुझ्दा उसले जनशक्ति र स्रोत साधन बढाए पनि पछिल्लो समय थप भएको समयमा पनि काम सक्ने देखिँदैन । यदि यही तोकिएको पछिल्लो म्यादमा वर्षाअघि कम्तीमा दुई लेनसम्मको बाटो बनाइदिए पनि ठेक्का सम्झौताको समयावधिको पुनर्विचार गर्न सकिन्छ । अहिलेकै जस्तो अवस्था रह्यो भने ठेक्का सम्झौता सकिन्छ भनेर स्पष्ट निर्देशन दिएका छौँ ।

काठमाण्डौ उपत्यका जोड्ने विभिन्न सडक छन् । काठमाण्डौलाई पूर्वसँग जोड्ने बीपी राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक बिस्तारको काम चल्दै छ । अहिले यो खण्डको काम तीव्र रूपमा भइरहेको छ । सडकमा घर पर्दा केही विवाद भएर काम अघि बढ्न सकेको थिएन । तर अहिले त्यो समस्या समाधान भइसक्यो । यो सडक परियोजनाको निर्माण कार्य राम्रो छ । अर्को वर्षसम्म सडक निर्माण कार्य सकिने विश्वास छ । अझ त्यसमा पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेकोबारे अर्थ मन्त्रालयलाई जानकारी गराएका छौँ ।

असोज दोस्रो हप्ताको बाढी पहिरोले नागढुङ्गा नाका तीन दिनसम्म बन्द रह्यो । सडक फराकिलो बनाउने काम पनि भइरहेकाले कतै खाल्डाखुल्डी र कतै धुलोले यात्रुलाई असहज बनाएको छ । नागढुङ्गा सडक आंशिक रूपमा बन्द गरेर भए पनि काम चलिरहेको छ । नागढुङ्गा सुरुङमार्गको पश्चिम क्षेत्रमा त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरेर काम भइरहेको छ । काठमाण्डौ जोड्ने मुख्य सडक बन्द हुँदा विकल्पका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडक प्रयोग गर्न विभागले आग्रह गर्दै आइरहेको छ ।

त्यस्तै सङ्घीय राजधानी काठमाण्डौलाई हेटौँडासँग जोड्ने पाँच वटा सडक छन् । असोजको बाढी पहिरोले त्रिभुवन राजपथको हेटौँडा–पालुङ–नौबीसे खण्ड, कान्ति लोकपथअन्तर्गत आँपचौर खण्ड, हेटौँडा–ठिङ्गन–टीकाभैरव, दक्षिणकाली–छैमले–सिस्नेरी खण्ड, कुलेखानी–फाखेल–फर्पिङ र फाखेल–हुमाने–चखेल–मातातीर्थ–सतुङ्गल सडक खण्डका ठाउँठाउँमा क्षति पुर्‍यायो । सबै सडक खुलाउन १० दिनसम्म लाग्यो । थानकोटदेखि चित्लाङसम्मका लागि सामान्य सडक मर्मत गर्न पाँच करोड रुपैयाँको बजेट व्यवस्थापन भएको छ । कान्ति लोकपथको काम अघि बढेको थियो । तर बाढी पहिरोले विभिन्न ठाउँमा धेरै क्षति पुर्‍यायो । यो सडक निर्माणका लागि पनि सडक विभागले बजेटको माग गरेको छ ।

यसैगरी कर्णाली राजमार्गमा वर्षासहित अन्य समयमा पनि यात्रा गर्दा यात्रु र चालकलाई असहज हुन्छ । यो सडक विस्तार गर्नका लागि विभागसँग पर्याप्त बजेटको समस्या छ । उपलब्ध बजेटअनुसार विभागले मर्मत–सम्भार मात्र गर्दै आइरहेको छ । पहाडी भौगोलिक विकटताले पनि कर्णाली राजमार्गमा हिउँदे मौसममा मात्र काम गर्न सकिन्छ । राजमार्गलाई फराकिलो बनाउन नसके पनि सकेसम्म सडक अवरुद्ध नहोस् भनेर विभागले काम गरिरहेको छ ।

धरानदेखि सोलु जाने सडकअन्तर्गत उदयपुरको फोक्सिन्टारमा गएको असोजको दोस्रो हप्ता आएको बाढीले पुल नै बनाएपछि अहिले बेलिब्रिज बनाउने काम चलिरहेको छ । अबको एक महिनामा बेलिब्रिज तयार भएर गाडी गुड्न सक्नेछ ।

राजमार्ग निर्माण र मर्मत गर्न मुख्य समस्या बजेट अभाव

देशभर सडक विभागअन्तर्गत रहेका राजमार्गलाई सुधार गर्न मुख्य समस्या नै बजेट रहेको छ । विभागले गएको वर्षकै निर्माण व्यवसायीलाई साढे आठ अर्ब रुपैयाँ भुक्तानी गर्न सकेन । अहिले त्यो बाँकी रहेको भुक्तानीको समाधान गर्ने अवस्था आएको छ । त्यसैले नयाँ योजनाका लागि पनि विभागले पर्याप्त बजेट दिन सकेको छैन । साथै बजेट भएका योजनामा पनि काम नभएको अवस्था छ । कतै निर्माण व्यवसायीको असक्षमता, कतै स्थानीयवासीबाट सडक निर्माणका लागि चाहिने ढुङ्गा गिट्टी प्रयोगमा अवरोध लगायतका विविध कारण समयमा सडक निर्माण गर्न सकिएको छैन । कुनै सडक परियोजनामा ठेकेदारले काम गरेन भने ठेक्का तोडेर तुरुन्तै नयाँ ठेक्का प्रक्रियामा जान कानूनी जटिलता छ । काम नगर्ने योजनामा ठेक्का तोडेर नयाँ ठेक्का लगाउने प्रक्रियालाई कानूनी जटिलता हटाएर सहज बनाउनुपर्छ । विशेषगरी वन, बिजुलीको पोल हटाउने कामले पनि सडक निर्माणमा ढिलाइ भइरहेको छ । तुलानात्मक रूपमा नेपाली कम्पनीले भन्दा विदेशी कम्पनीले ठेक्का लिँदा सडक आयोजनामा काम भएन भने केही बढी असहज हुन्छ । विदेशी कम्पनीको खास मानिस नेपालमा आउँदैन । सामान्य कर्मचारी मात्रै आएको हुन्छ । सडकका बारेमा पत्राचार, छलफल गर्दा आएको प्रतिनिधि त्यस कम्पनीको निर्णयकर्ता नहुँदा समस्या भइरहेको छ । नेपाली कम्पनीसँग सडकबारे छलफल गर्न पर्‍यो भने सीधै ठेकेदारको मुख्य मानिसलाई नै बोलाएर छलफल गर्न सकिन्छ । सडक परियोजना निर्माणमा पनि नेपाली कम्पनीले जति विदेशी कम्पनीले काम देखाउन सकेका छैनन् ।

देशका मुख्य राजमार्गकै सडक भत्किएका छन् । अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापन नहुँदासम्म विभागले मर्मतबाहेक थप काम गर्न सक्दैन । यसो भनिरहँदा नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडक र नारायणगढ–बुटवल सडकसहित अन्य राजमार्ग पनि अबको केही वर्षमा निर्माण कार्य सम्पन्न हुनेमा विभाग आशावादी छ ।

(सडक विभागका महानिर्देशक रामहरि पोखरेलसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामहरि पाेखरेल

पाेखरेल सडक विभागका महानिर्देशक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया