सल्यानका किसानले अहिलेसम्मकै धेरै भाउमा गाेलभेँडा बेचे

 साउन १६, २०८० मंगलबार १९:३२:१५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सल्यानका किसानले अहिलेसम्मकै धेरै भाउमा गाेलभेँडा बिक्री गरेका छन् । बेमौसमी तरकारी खेती हुने कपुरकोट क्षेत्रका किसानले आज मङ्गलवार गाेलभेँडा किलोको एक सय ४० रुपैयाँमा बिक्री गरेका हुन् । यो मूल्य अहिलेसम्मकै धेरै रहेकाे किसानले बताएका छन् ।

मङ्गलवारकाे हाट बजारमा एकै दिन ६० लाख ४८ हजार रुपैयाँ बराबरकाे तरकारी र फलफूल कपुरकोटबाट बिक्री भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार दुई सय ८९ किलो तरकारी फलफूल एकै दिन बिक्री भएको हो । जसमध्ये ४३ लाख रुपैयाँ बढी रकम गाेलभेँडा बिक्रीबाट मात्रै आम्दानी भएको छ । किसानले ३१ हजार तीन सय किलो टमाटर बिक्रीबाट ४३ लाख तीन हजार सात सय ५०, चार हजार पाँच सय ६५ किलो काउली बिक्रीबाट एक लाख ९४ हजार १२, तीन हजार आठ सय ९५ किलो भेडे खुर्सानी बिक्रीबाट तीन लाख एक हजार आठ सय ६५ र ११ हजार सात सय किलो बन्दागाेभी बिक्रीबाट दुई लाख चार हजार सात सय ५० रुपैयाँ आम्दानी गरेका छन् ।

मेहनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसान हर्षित देखिन्थे । झन्डै दुई क्विन्टल गाेलभेँडा बिक्री गर्नुभएकी कपुरकोट गाउँपालिका–३ की रामकली विकले यसैगरी राम्रो मूल्य पाए किसानको मेहनत सार्थक हुने बताउनुभयो ।

कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मङ्गलवारकाे तरकारी बजारमा गाेलभेँडा प्रतिकिलो एक सय ३५ देखि एक सय ४० सम्म, पुरानो अदुवा एक सय ४० देखि एक सय ५० रुपैयाँसम्म बिक्री भएकाे हाे । त्यस्तै अकबरे खुर्सानी प्रतिकिलाे एक सयदेखि एक सय पाँच, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपैयाँमा बिक्री भएकाे बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणि खड्काले जानकारी दिनुभयाे । साथै सिमी प्रतिकिलाे ४५ देखि ५० रुपैयाँमा बिक्री गरेका किसानले स्थानीय काँक्राे ५० देखि ५५ र उन्नत जानको काँक्राे १० देखि १२ रुपैयाँमा बिक्री भएको छ ।

कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ जिल्लाका साथै नेपालगञ्ज, बुटवल, नारायणगढ, पोखरा, कैलालीलगायतका शहरमा जाने गरेको छ ।

कपुरकोटमा हप्ताको मङ्गलवार र शुक्रवार दुई दिन तरकारी बजार लाग्ने गर्छ । अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका छ वटै वडामा रहेका तरकारी सङ्कलन केन्द्रमा किसानले आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् ।

तस्बिर : शंकर केसी कपुरकोट/सल्यान

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया