कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
अमेरिकामा डोनाल्ड ट्रम्पले जित्नुको अर्थ समान्यतया चुनावमा प्रतिस्पर्धा गर्दा एउटा पक्षले जित्ने र अर्को पक्ष पराजित हुने हो । तर ट्रम्पले जित्दै गर्दा भू–राजनीतिक र कूटनीतिक अर्थसमेत रहेका हुन्छन् । अमेरिकाको चुनावी प्रणालीमा 'इलेक्टोरल' मतदान प्रणाली छ । जम्मा पाँच सय ३८ 'इलेक्टोरल' हुन्छन् । पहिले राजधानी वाशिङ्टन डीसीका मतदाताले मत हाल्न पाउँदैनथे । अमेरिकाको संविधानमा २३औं संशोधन भएपछि वाशिङ्टन डीसीका मतदाताले पनि तीन 'इलेक्टोरल' मत दिन पाउँछन् । त्यसमध्ये दुई सय ७० भन्दा बढी 'इलेक्टोरल' जित्नेले राष्ट्रपति बन्न पाउँछ । यदि 'इलेक्टाेरल' मत बराबरी भएमा प्रतिनिधिसभामा भएका सदस्यहरूले मत हाल्दा जसले बढी मत पाउँछ ऊ राष्ट्रपतिको पदमा निर्वाचित हुन्छ । अनि सिनेटमा बढी मत पाउनेले उपराष्ट्रपतिको पदमा निर्वाचित हुने अमेरिकाको प्रणाली हो । अहिलेको चुनावमा 'इलेक्टोरल' र 'पपुलर' दुवै मतका आधारमा डोनाल्ड ट्रम्प विजयी हुनुभयो । पहिले हिलारी क्लिन्टनसँगको चुनावमा ट्रम्पले जित्नुभएको थियो । त्याे बेला 'पपुलर' मत क्लिन्टनले ल्याउनुभएको थियो तर राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुनुभयो । अहिलेको चुनावमा 'पपुलर' र 'इलेक्टोरल' मतमा पनि ट्रम्पकै बढी सिट आयो । त्यसैले मतका हिसाबले ट्रम्प बढी शक्तिशाली राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको छ ।
अमेरिकाको नेपालसँगको सम्बन्ध
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएर नेपालसँगको सम्बन्धमा खासै फरक पर्दैन । नेपालमा धेरै कोणबाट व्याख्या विश्लेषण भएका छन् । ट्रम्प अमेरिकामा एक कार्यकाल राष्ट्रपति भइसकेका व्यक्ति हुनुहुन्छ । ट्रम्पको विकास र अन्तर्राष्ट्रिय सहायतासम्बन्धी आफ्नै व्यक्तिगत र पार्टीका अडानहरू छन् । ट्रम्प रिपब्लिकन पार्टी र अर्की उम्मेदवार कमला ह्यारिस डेमोक्रेटिक पार्टीकी उम्मेदवार हुन् । यी दुवै पार्टीका आधारभूत राजनीतिक मामिलाका मुद्दाहरू छन् । अमेरिकाको हरेक चुनावमा दुई वटा पार्टीबीच तीन वटा प्रमुख विषयमा मत भिन्नता हुँदै आएको छ । अमेरिकामा महिलाको गर्भपतन गर्ने अधिकार, गर्भपतनका लागि दिइने अन्तर्राष्ट्रिय सहायता र 'गन राइट' अर्थात् बन्दुक बोक्ने अधिकारका विषयमा मत भिन्नता रहेको पाइन्छ । डेमोक्रेटिक पार्टीमा गर्भपतन गराउने विषयमा उदार नीति छ भने रिपब्लिकन पार्टीमा गर्भपतन गर्ने अधिकार महिलालाई दिनु हुँदैन भन्ने धारणा छ । यस्तै रिपब्लिकन पार्टीले स्वास्थ्यका क्षेत्रमा अमेरिकाले दिने अन्तर्राष्ट्रिय अनुदानमा गर्भपतनसँग सम्बन्धित काममा रकम खर्च गर्न पाइँदैन भन्ने छ । यो सहयोगले नेपालमा एचआईभी एड्स, कठिन गर्भावस्था, गर्भपतन गराउनैपर्ने महिलाका समस्यालगायतका विषयमा ट्रम्पको नीतिले असर पर्न सक्छ । त्यसैगरी अमेरिकाको संविधानमा भएको दोस्राे संशोधनले नागरिकलाई दिएकाे बन्दुक बोक्ने अधिकारबारे दुई पार्टीबीच फरक धारणा छ । यसमा बन्दुक बोक्ने अधिकारमा नियमन गर्नुपर्छ भन्ने डेमोक्रेटिक पार्टीको अडान छ भने नियमन गर्नु हुँदैन भन्ने रिब्लिकन पार्टीको धारणा छ । अमेरिकाको चुनावमा 'राइफल एशोसिएसन' को ठूलो प्रभाव रहेको हुन्छ ।
राजनीतिक, आर्थिक र डायस्परिक सम्बन्ध
नेपालमा अमेरिकामा चुनाव भएपछि राजनीतिक, आर्थिक र डायसस्परिक सम्बन्धका बारेमा चर्चा हुने गरेको पाइन्छ । तर त्यहाँको चुनावले नेपालमा खासै फरक पर्दैन । डायस्परिक भन्नाले अमेरिकामा बस्ने नेपालीहरूको कुरा हो । जो कानूनअनुसार बसेका छन्, उनीहरूलाई खासै असर पर्दैन । म राजदूत भएको बेलामा तत्कालीन राष्ट्रपति बाराक ओबामाकाे पहलमा 'टेम्पोररी प्रोटेक्टेड स्टाटस' (टीटीएस) अर्थात् स्थायी संरक्षण स्थितिका आधारमा गैरकानूनी रूपमा बसेका धेरैजसाे नेपालीले कानूनी रूप पाइसकेका छन् । कागजपत्र नभएका केही सङ्ख्यामा बसेका मानिसलाई चाहिँ असर पर्न सक्छ । ट्रम्प पहिलो कार्यकाल राष्ट्रपति हुँदा पनि यो नीति थियो । तर उहाँले त्यस बेला आक्रामक रूपमा आप्रवासीसँग सम्बन्धित नीति अवलम्बन गर्नुभएन । किनभने ट्रम्पको चुनावी अभियानमा धेरै नेपाली समर्थनमा हिँडेका छन् । त्यसैले आप्रवासी नीतिमा ठूलो समस्या आउँछ जस्तो लाग्दैन ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकाल जनवरी २० तारिखदेखि शुरू हुन्छ । ट्रम्पको चीनसँग फरक नीति हुनेछ । अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइअनुसार ट्रम्पको व्यापारी दिमाग भएका कारण चीन विरोधी अडान लिइरहेका छन् । जसले गर्दा चीनबाट कम मात्रामा वस्तु आयात गर्ने र अमेरिकाकै उत्पादनलाई बढावा दिने उहाँको लक्ष्य छ । खासगरी चीनमा उत्पादित लत्ताकपडा, विद्युतीय गाडी, सोलार प्यानल र कम्युटरका चिप्सको अमेरिकासँगै अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रभाव रहेको छ । चीनका यी उत्पादनमा २० देखि ३० प्रतिशत भन्सार कर लगाएर महँगो बनाउने र अमेरिकी उत्पादनलाई प्राथमिकता दिने ट्रम्पको योजना छ । तर यसको अर्को पाटो पनि छ । कतिपय अमेरिकी लगानीकर्ता र चिनियाँ बजार प्रवर्द्धन गरेर जीविकोपार्जन गर्ने मानिस पनि छन् । ट्रम्पको योजनाले अमेरिकाका नागरिकलाई पनि ठूलो प्रभाव पर्ने हुने भएकाले याे योजना छिटै आक्रमक रूपमा बढ्ला जस्तो लाग्दैन । त्यसैगरी रुस र युक्रेनको युद्धमा ठूलो असर पर्न सक्ने सम्भावना देखिन्छ । अमेरिकाको इतिहास हेर्दा रुससँग डेमोक्रेटिक पार्टी आलोचनात्मक र रिपब्लिकन पार्टीले नजिकको सम्बन्ध राखेको देखिन्छ । यसमा नर्थ एट्लान्टिक ट्रिटी (नेटो) देशहरू सङ्गठित भएर युक्रेनलाई सहयोग गरेर रुसलाई गलाउने पक्षमा छन् । ट्रम्पले आफू राष्ट्रपति भएको भोलिपल्टै रुस र युक्रेनको युद्ध रोकिदिन्छु भन्नुभएको थियो । तर भनाइ र गराइमा फरक पर्छ । साथै ट्रम्पको जीतले नेटोको सैनिक रणनीति, इजरायल र प्यालेस्टाइनको विवादमा पनि असर पर्न सक्छ ।
यसैगरी विश्वमा चीनको प्रभाव रोक्न इन्डो–प्यासिफिक जस्तै नयाँ रणनीति लिएर ट्रम्प आउन सक्नुहुन्छ । नेपाल जस्तो सानो र भूपरिवेष्ठित देशका लागि अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदैमा केही विषयमा बाहेक अन्य विषयमा प्रभाव पार्दैन । यति भन्दै गर्दा जलवायु परिवर्तमा डोनाल्ड ट्रम्प अथवा रिपब्लिकन पार्टीको फरक नीति छ । ट्रम्पले जलवायु परिवर्तन भनेको खोक्रो नारा हो भन्दै आउनुभएको छ । तर अरू देशले जलवायु परिवर्तन सत्य भएकाले यसको विश्वमै प्रभाव र सङ्कट रहेको बताउँछन् । त्यसैले जलवायुका विषयमा अमेरिकाबाट जाने ठूलो अनुदानमा असर पार्न सक्छ । यदि स्वास्थ्य र जलवायु परिवर्तमा अमेरिकाले गरिरहेको सहयोगमा कटौती भयो भने नेपाल जस्ता विकासाेन्मुख देश, भूपरिवेष्ठित, साना टापु र गरिबीको रेखामुनि भएका देशका नागरिकमा नकारात्मक असर पर्न सक्छ ।
अमेरिकाका लागि नेपालको महत्त्व
अमेरिकाका लागि विश्वका सानादेखि ठूला देश उत्तिकै महत्त्वपूर्ण छन् । हामी दुई छिमेकी देश चीन र भारतको बीचमा भएका कारणले विशेष महत्त्व छ कि भन्ने लाग्न सक्छ । तर नेपाल जस्तो चीनका अरू १७ वटा छिमेकी देश छन् । त्यस्तै भारतको पनि १५/१६ वटा छिमकी देश छन् । भारत र चीनकाे बीचमा नेपाल भएकाले अमेरिका हामीसँग सधैँ सकारात्मक हुनुपर्ने बाध्यता छ । ठूलो अर्थतन्त्र भएका चीन र भारतको बीचमा नेपाल हुनु आफैँमा गर्वको विषय हो । दक्षिण एशियाली देश (सार्क) को मुख्यालय रहेको देश भएकाले पनि अमेरिकाका लागि नेपाल महत्त्वपूर्ण देश हो । तर अमेरिकाका लागि नेपाल नभई नहुने देश चाँहि होइन । हामीले सोचे जस्तो चीन र भारतको बीचमा भएकाले अमेरिकाकाले विशेष रूपमा हेर्छ भन्ने लाग्दैन ।
एमसीसी चलिरहन्छ, इन्डो–प्यासिफिकका दुई वटा पक्ष
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति हुँदा नेपालसँग सम्झौता भएको हो । ट्रम्प राष्ट्रपति नहुँदा पनि चलिरहेको छ । उहाँ राष्ट्रपति भएर आउँदा पनि जारी नै रहन्छ । नेपालमा तीन सय एक किलोमिटर प्रसारण लाइन र तीन सय एक किलोमिटर बाटो बनाउने योजना एमसीसी अन्तर्गत हो । ट्रम्पको आगममनले कुनै असर गर्दैन, जस्तो छ त्यस्तै चलिरहन्छ । त्यस्तै इन्डो–प्यासिफिकका 'इन्डो–प्यासिफिक स्ट्राटेजी' र इन्डो–प्यासिफिक क्षेत्र गरी दुई वटा पक्ष छन् । कहिलेकाहीँ नेपालमा दुई वटा विषयलाई छुट्याउन नसकेर भ्रममा परेको देखिन्छ । इन्डो–प्यासिफिक भनेको भूगोल हो । अमेरिकाले संसारलाई ११ वटा क्षेत्रमा बाँडेको छ । पहिले नेपाल इन्डियिन ओसन अर्थात् हिन्द महासागर क्षेत्रमा पर्थ्याे । पछि जापानमा सिन्जो आवे प्रधानमन्त्री भएपछि हिन्द महासागर र प्यासिसिफक ओसन अर्थात् प्रशान्त महासागरका क्षेत्रलाई जोडेर इन्डो–प्यासिफिक भनेर नामाकरण गरिएको हो । अब यो क्षेत्रमा अमेरिकालाई चासो भएको हुँदा इन्डो–प्यासिफिक भूगोलमा काम गर्ने रणनीतिलाई इन्डो–प्यासिफिक रणनीति भनिएको हो । इन्डो–प्यासिफिक क्षेत्रमा काम गर्ने अमेरिकी परराष्ट्र नीतिलाई इन्डो–प्यासिफिक रणनीति पनि भन्न सकिन्छ । यो क्षेत्रमा सबैभन्दा शक्तिशाली चीन र भारतसहितका अन्य देशको लोकतान्त्रिक पद्धति, मानव अधिकार, विकास लगायतका विषयमा अमेरिकाको चासो हुन सक्छ ।
(अमेरिकाका लागि पूर्व नेपाली राजदूत अर्जुन कार्कीसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कार्की अमेरिकाका लागि पूर्व नेपाली राजदूत हुनुहुन्थ्याे ।