कतारमा आइपुग्यो कोरोना विरुद्धको खोप, भोलिदेखि लगाउन सुरु गरिने

 पुष ७, २०७७ मंगलबार १५:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीको मुख्य श्रम गन्तव्य कतारमा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप आइपुगेको छ । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन सोमबार राती हमाद इन्टरनेशनल विमानस्थलमा आइपुगेको  दोहा न्युजले जनाएको छ । कतार सरकारले भोलि २३ डिसेम्बरदेखि निःशुल्क रुपमा खोप लगाउने अभियान सुरु गर्नेछ ।

 पहिलो चरणमा निःशुल्क रुपमा वृद्धवृद्धा र फ्रन्टलाइनमा काम गर्नेलाई खोप लगाउने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

७० वर्ष नाघेका दीर्घरोगी  र स्वास्थ्य क्षेत्रमा काम गर्ने मुख्य कर्मचारीहरु जसले कोरोना सङ्क्रमितको नजिक भएर काम गरेका छन् उनीहरुलाई प्राथमिकतामा राखेको छ । छनोटमा परेका व्यक्तिहरुलाई फोन र एसएमएसमार्फत जानकारी दिएर खोप लगाउन बोलाउने कतारले जनाएको छ । 

कतारले २०२१ भित्रमा आफ्नो देशमा रहेका सबैलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने रणनीति अनुसार अघि बढे पनि अहिले सीमित सङ्ख्यामा भ्याक्सिन आएकाले प्राथमिकताको आधारमा दिइने जनाएको छ । 

यो कम्पनीको भ्याक्सिन अमेरिका, बेलायत, क्यानडाजस्ता देशले प्रयोगमा ल्याइसकेका छन् । जसले यो खोप लगाएका छन् उनीहरुमा एकदमै कम मात्रमा साइड इफेक्ट भेटिएको छ । 

कोरोना महामारी संसारभरीका देशमा फैलिएको छ । बेलायतमा नयाँ खालको सङ्क्रमण देखिने थालेको छ । तर पछिल्लो समय कतारमा भने केही स्थिर देखिएको छ । दिनमा लगभग १५० नयाँ सङ्क्रमित भेटिएको छ । तर पनि कोरोना सङ्क्रमण फैलने क्रम नरोकिएको र खोप आए पनि सचेत रहन कतार सरकारले आग्रह गरेको छ ।

कतारमा झण्डै चार लाख नेपाली कार्यरत छन् । कतारमा सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले खोप ल्याएसँगै अब कतारमा रहेका नेपालीले पनि चरणबद्ध रुपमा खोप लगाउन पाउनेछन् ।

कतार सरकारले त्यहाँ बस्ने हरेक व्यक्तिले निःशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाउन पाउने यसअघि नै बताएको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया