विदेशमा रोजगारी गुमाएर फर्केकालाई राष्ट्रिय गौरवका आयोजनामा रोजगारी दिनुपर्छ : एनआरएनए

 मंसिर २२, २०७७ सोमबार १८:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा जागिर गुमाएर फर्केका श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिनुपर्ने जनाएको छ ।

हाम्रो सम्मान परियोजनाको संयोजकत्वमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड १९ को सन्दर्भमा गैर आवासीय नेपाली संघको भूमिका’ शीर्षकको भर्चुअल कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष डा. बद्रि केसीले यसबारेमा बताउनुभएको हो ।

नेपालमा विभिन्न राष्ट्रिय गौरवका आयोजना रहेता पनि उक्त आयोजनामा अधिकांश विदेशी श्रमिक भएकाले त्यहाँ नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ । करिब २८ लाख नेपाली श्रमिक विदेशिएर वार्षिक ८ खर्ब नेपालमा रेमिट्यान्स भित्र्याउँदा करिब ४ खर्ब रकम नेपालबाट विदेशिएकाले सो रकममा नेपाली श्रमिकलाई व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘नेपालका विभिन्न ठूला–ठूला आयोजना तथा राष्ट्रिय गौरवका आयोजनामा अधिकांश विदेशी श्रमिकले खाडी देशमा नेपालीले गरेको जस्तै काम गरेर ४ खर्ब रकम देशबाहिर लगेका छन्,’ उहाँले भन्नुभयो, ‘अब ती आयोजनामा विदेशी श्रमिकको ठाउँमा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्छ ।’

साथै, विदेशबाट आएका श्रमिकको जुन सीप विदेशमा सिकेर आएको छ, त्यही क्षेत्रमा रोजगारी पाउन निकै कठिन भएकाले सीप पहिचान गरेर लगानी गरी विकास गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी, एनआरएनले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एनआरएनए, सरकार र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर आगाडि बढ्नुपर्ने जनाउनुभयाे । 

एनआरएनएले कोरोनाको समयमा विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका श्रमिकलाई व्यवस्थापन गर्न करिब २५ करोड खर्च भएको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया