बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
आफ्नो जीउमा बुधबार दिउँसो प्रत्यारोपण गरिएको दोस्रो मिर्गौलाले काम गर्न थालेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अर्को खड्को पार गर्नुभएको छ । त्यसो त ओलीको जीवन अभाव, राजनीतिक सङ्घर्ष र पटकपटकको अस्वस्थतामा बितेको छ । प्रधानमन्त्री ओलीको मिर्गौला १२ वर्षअघि पहिलो पटक खराब भएपछि उहाँले निरन्तर स्वास्थ्यसम्बन्धी झमेला बेर्होनु परेको छ ।
विसं २०६४ सालमा प्रत्यारोपण गरिएको मिर्गौलाले केही महिनाअघि काम गर्न छाडेपछि उहाँले डायलासिस गराइरहनु भएको थियो । पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुअघि पनि उहाँले विभिन्न स्वास्थ्य समस्या र अभाव झेल्नुपरेको थियो ।
बाल्यकालमै आमाको निधन
प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको इवा गाउँ हो । उहाँ विसं २००८ साल फागुन ११ गते मोहनप्रसाद र स्वर्गीय मधुमायाको जेठो छोराको रुपमा जन्मिनुभयो । जन्मेको डेढ वर्षमै उहाँले आमा गुमाउनुभयो । गाउँकै तत्कालीन प्रणामी प्राथमिक विद्यालयमा उहाँले पढाइ सुरु गर्नुभयो ।
ओली २०२० सालमा परिवारसँगै बसाइ सरेर झापा झर्नुभयो । सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने ओलीको परिवारको आर्थिक अवस्था राम्रो थिएन । सानै छँदा कन्काई नदीमा आएको बाढीले ओलीको घरजग्गा बगाएर उहाँको परिवार सुकुम्बासी भएको थियो । एक किसिमले ओली परिवारको उठिबास भएर उहाँको जीवन गरिबी र अभावतिर धकेलिएको थियो । आमाको मायाबाट बञ्चित हुनुभएका ओलीलाई हजुरआमा, हजुरबुवा र बुवाले हुर्काउनुभएको थियो ।
१४ वर्षे जेल जीवन
कम्युनिस्ट नेताको रुपमा पञ्चायत विरोधी आन्दोलनमा लाग्दा प्रधानमन्त्री ओलीले १४ वर्ष जेल जीवन बिताउनुपर्यो । पहिलो पटक उहाँ २०२७ सालमा गिरफ्तार हुनुभएको थियो । विसं २०३० सालसम्म उहाँ १० पटकसम्म गिरफ्तार हुनुभयो । विसं २०३० सालदेखि विसं २०४४ सालसम्म उहाँले १४ वर्ष जेल जीवन बिताउनुभयो ।
त्यस अवधिमा उहाँले रौतहटको गौर जेल, वीरगञ्ज थाना, भद्रगोल जेल र नख्खुको केन्द्रीय कारागारलगायतमा जेल जीवन बिताउनुपर्यो । कठोर काराबासका कारण उहाँको खानपान र स्वास्थ्यको राम्रो हेरचाह भएन । त्यही कारणले उहाँको मिर्गौलामा समस्यालगायत स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्यो ।
पहिलो प्रत्यारोपण २०६४ मा
प्रधानमन्त्री ओलीले १२ वर्षअघि २०६४ सालमा दिल्लीको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । पहिलो मिर्गौला प्रत्यारोपणपछि उहाँले राजनीतिमा झन् बढी सक्रिय हुनुपर्यो । चिकित्सकहरुका अनुसार पहिलो मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेन । किनभने मिर्गौला प्रत्यारोपण गराएका बिरामीले जीवनभर औषधि सेवन गर्नुपर्छ । यसबीचमा उहाँलाई उच्च रक्तचाप र पायल्सजस्ता रोगले पनि दुःख दिए । पछिल्लो समय विभिन्न औषधि सेवन गरिरहेका कारण सुगरको मात्रा बढेर उहाँले थप दुःख पाउनुभयो ।
मेनिन्जाइटिसको रोगी
प्रधानमन्त्री ओलीलाई झण्डै सात वर्षअघि मेनिन्जाइटिस रोगले समातेको थियो । पहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभयो । त्यसपछि ग्राण्डी अस्पतालमा भर्ना हुनुभयो । ग्राण्डीमा पनि निको नभएपछि उहाँ उपचारको लागि बैङ्कक जानुभयो । कडा खालको मेनिन्जाइटिस भएकोले उहाँलाई निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो ।
सिङ्गापुरमा उपचार
पछिल्लो पटक मिर्गौलामा समस्या देखिएपछि उहाँ गएको साउन १८ गते सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गर्न जानुभयो । महिना दिन नबित्दै ओली फेरि सिङ्गापुरको त्यही अस्पताल जानुभयो । मिर्गौलासम्बन्धी एण्टिबडीको मात्रा बढेका कारण त्यसलाई शरीरबाट निकाल्न र मिर्गौलाको क्षमता बढाउने उपचारका लागि उहाँ सिङ्गापुर जानुभएको थियो । भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको ओली १५ दिनपछि स्वदेश फर्किनुभयो ।
‘प्लाज्माफेरेसिस’ गरिए पनि उहाँको स्वास्थ्यमा सुधार भएन । त्यसैको परिणाम स्वरुप प्रधानमन्त्रीको मिर्गौला फेरि बिग्रिएको निष्कर्ष निकालियो र उहाँले हप्तामा दुई/तीन पटक डायलासिस गराउन सुरु गर्नुभयो ।
एपेन्डिसाइटिसको शल्यक्रिया
प्रधानमन्त्री ओलीको नियमित डायलासिस चल्दै थियो । यसबीचमा मङ्सिर १३ गते अचानक उहाँलाई मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना गरियो । लगत्तै उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया गरियो । त्यसबेला उहाँले १० दिन अस्पतालको बेडमा बस्नुपरेको थियो । चिकित्सकहरुका अनुसार त्यसबेला उहाँलाई जटिल अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यहीबेला डाक्टरहरुले उहाँलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएका थिए ।
दोस्रो पटक प्रत्यारोपण
गएको कार्तिक १३ गतेदेखि प्रधानमन्त्री ओलीको डायलासिस चल्दै थियो । त्यही दिनदेखि डाक्टरहरुले नियमित डायलासिस वा अर्को प्रत्यारोपणमध्ये एउटा विकल्प रोज्न सुझाव दिएका थिए । प्रधानमन्त्रीले अर्को प्रत्यारोपण रोज्नुभयो । दोस्रो प्रत्यारोपण झनै जटिल हुने भएकोले प्रधानमन्त्रीले धेरैसँग सरसल्लाह र भेटघाट गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली गएको सोमबार अस्पताल भर्ना हुनुभयो । भान्जी पर्ने समीक्षा सङ्ग्रौलाले आफ्नो दाहिने मिर्गौला दान गर्नुभयो । गएको बुधबार उहाँमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरियो । मिर्गौला प्रत्यारोपण गर्न डाक्टरहरुलाई पाँच घण्टा लाग्यो । लगत्तै डाक्टरहरुले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको सुखद् जानकारी दिए ।
यसरी प्रधानमन्त्री ओलीले फागुन २१ गते आफ्नो जीवनको अर्को खड्को पार गर्नुभयो । उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।