काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाण्डौ – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको जिम्मा कसैलाई नदिएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले अहिलेसम्म निर्माणको जिम्मा कसैलाई नदिएको स्पष्ट पार्नुभएको हो ।
विपक्षी दलका सांसदहरुले कांग्रेस नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना नेपालकै लगानीमा गर्ने निर्णय गरेको स्मरण गराउँदै फेरी किन चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको भन्दै प्रश्न गरेका थिए ।
मन्त्री पुनले सरकारले भने अनुसार चिनियाँ कम्पनीसँग पाँच महिनाअघि तीन चरणमा छलफल भए पनि निर्माण गर्ने गरी कुनै सम्झौता नभएको स्पष्ट पार्नुभयो । उहाँले गेजुवालाई निर्माणको जिम्मा दिने भनी मिडियामा आएको समाचारमा सत्यता नभएको पनि दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, 'अहिले कुनै पनि सम्झौता भएको छैन । हामीले तीन चरणमा पाँच महिना अगाडि छलफल गर्यौँ । त्यसपछि अगाडि बढेको छैन । हामी उपयुक्त मोडालिटीमा अगाडि बढ्छौँ । र अहिले सरकारले सोचेको ईपीसी मोडालिटीमा काम अगाडि बढाउने कि भनेर छलफल सुरु गरेका हौँ । त्यसकारण यसलाई कुनै भकुण्डो बनाउने कुरो, यसमा कुनै चलखेलको कुरा, यसमा कुनै अनियमितताको कुरा सोह्रै आना असत्य कुरा हुन् । झुट कुरा हुन् । यसमा कुनै सत्यता छैनन् । बाहिर मिडियामा आएका कुराको कुनै सत्यता छैनन् ।'
उहाँले राष्ट्रिय गौरवका आयोजनालाई राष्ट्रिय हितमा नै प्रयोग गर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा सरकारले आयोजनाका लागि छुट्याएको बजेट बाँकी मुआब्जा वितरणका लागि मात्रै भएको बताउनुभयो ।
मन्त्री पुनले बूढीगण्डकी आयोजनाका लागि पेट्रोलमा लगाएको पाँच रुपैयाँ करबाट ३० अर्ब संकलन भएको र २५ अर्ब आयोजनाको मुआब्जा वितरणमा खर्च भैसकेको बताउनुभयो । एक खर्ब जति मुआब्जा वितरण गर्नुपर्ने अनुमान अनुसार कर संकलनबाट नै ती रकम परिपूर्ति हुने अनुमान सरकारले लिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले हाल पिक आवरमा भारतबाट पाँच सय मेगावाट विद्युत् आयात भैरहेको भए पनि नेपालले आगामी वर्षदेखि नै विद्युत् निर्यात गर्ने र पाँच वर्षपछि पूर्ण रुपमा निर्यात मात्रै गर्ने देशको रुपमा स्थापित हुने दावी गर्नुभयो । उहाँले सिक्टा आयोजनामा भ्रष्टाचारजन्य काममा संलग्न हुनेविरुद्ध अख्तियारमा मुद्धा चलिरहेको बताउनुभयो । उहाँले विगतमा जस्तो ‘झोलामा खोला बोक्ने प्रवृत्ति’ को अन्त्य भएको दाबी पनि गर्नुभयो ।
देशभरका सिँचाइ आयोजना र डायर्भसन आयोजनाका बारेमा पनि उहाँले सदनलाई जानकारी गराउनुभयो । उहाँले कालीगण्डकी तिनाउ डायर्भसनमा समस्या आएको स्वीकार गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।