सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
सप्तरी – तराईमा हतियार बोकेर सशस्त्र आन्दोलनमा होमिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा आएको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे नेतृत्वको टोलीसँगको वार्तामा मोर्चा हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो । मोर्चाले आज सप्तरीमा हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिक बाटो तय गरेको हो ।
सप्तरी जिल्ला प्रशासन कार्यालयमा वार्ता टोलीका संयोजक पाण्डे, सदस्य ताराकान्त चौधरी, सुरेश आले मगर, गृहमन्त्रालयका विश्वराज न्यौपाने, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडले लगायतको उपस्थितिमा मोर्चाका सहसंयोजक उपेन्द्र यादव ‘अविनाश’ सहित ११ जना सार्वजनिक भएका हुन् ।
सार्वजनिक हुनेहरुमा संयोजक अविनाश सहित सप्तरीको डाक्नेश्वरी नगरपालिका -७, का रामपुकार साह ‘रोशन’, सिरहाको गोलबजारका कमल भनिने योगेन्द्र यादव, सप्तरीको प्रसवनीका भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव, सिरहाको मिर्चैया निवासी बद्री यादव रहेका छन् । यस्तै सप्तरीको रुपनी गाउँपालिका -१ , का राहुल भनिने मोहमद नसीर, सप्तरीकै कञ्चनपुर नगरपालिका -११, का सञ्जय भनिने देवेन्द्र खड्गा, सिरहाको बिष्णुपुर गाउँपालिका -२, का शंकर भनिने सञ्जय यादव, गौरीपुर ५ अर्नाहाका नथुनी यादव ‘प्रदीप’ र फुलबाबु भनिने फुलकुमार यादव रहेका छन् ।
मोर्चाले सानो नालको कटुवा पेस्तोल १० थान, लामो नालको कटुवा पेस्तोल एक थान, रिभल्भर दुई थान, कटुवामा प्रयोग हुने नौ थान गोली, रिभल्भरमा लोड भएको एक थान गोली तथा डेटोनेटर एक थान हतियार प्रशासनलाई बुझाएको वार्ता टोलीका संयोजक पाण्डेले जानकारी दिनुभयो ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइतले नेतृत्व गरेको सशस्त्र संगठन हो । तर सार्वजनिक भएका अविनाशले मोर्चाको १५ सदस्यीय केन्द्रीय कमिटी रहेको त्यसबाट ११ जना विद्रोह गरी निस्केर आफूहरुले गएकाे जेठ २ गते नै छुट्टै मोर्चा बनाएको जानकारी दिनुभयो ।
गोइत भने भारतमा आफ्नै व्यवसाय गरेर बसेकाले अहिले वार्तामा नआएको बुझिएको छ । सरकारले गएकाे असोजमा संविधानभन्दा बाहिर रहेका र असन्तुष्ट समूहहरुसँग वार्ता गर्न भन्दै गठन गरेको राजनीतिक वार्ता समितिले शान्तिपूर्ण मूलधारमा ल्याएको समूह यो नै पहिलो हो ।
यो समूहसँग ६ बुँदे सहमति भएको राजनीतिक वार्ता समितिका संयोजक पाण्डेले जानकारी दिनुभयो । बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता, प्रहरी र सेनामा मधेशी समावेसी भर्नासहितका सहमति भएपश्चात उहाँहरु हतियारसहित सार्वजनिक भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।