मुस्ताङका विद्यालय २ महिनापछि खुले

 फागुन १४, २०८१ बुधबार १५:४:२५ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

मुस्ताङ – मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन शुरुआत भएको छ । दुई महिना हिउँदे बिदापछि मुस्ताङका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् ।

हिउँदयाममा स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक ठाउँ छाडेर बेँसीमा झारिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले जानकारी दिनुभयो ।

मुस्ताङमा ३५ वटा सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ वटा विद्यालय सञ्चालनमा छन् । मुस्ताङका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ वटा विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् ।

यसरी दुई महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो हप्तादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । मुस्ताङमा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ ।

मुस्ताङका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरूमा फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय खुले पनि जिल्लाबाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका धेरैजसाे सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन शुरू भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ ।

उहाँका अनुसार जिल्लाका तीन वटा स्थानीय तहका विद्यालय हिउँदयामको पुस र माघमा विद्यालय पूर्णरूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिशमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ ।

चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्नसमेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयहरूले विद्यार्थीलाई पोखराका विभिन्न ठाउँमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन् । उपल्लो मुस्ताङका विद्यालय जाडो छल्दै घुम्ती कक्षा चलाउन कात्तिकअघि नै बेँसीको न्यानो ठाउँमा स्थान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिकाको तीन वटा सामुदायिक विद्यालयले पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेको उहाँले बताउनुभयो ।

यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आठ वटा सामुदायिक विद्यालयमध्ये सात विद्यालयलाई जाडो छल्न बेँसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभूत विद्यालय भने जाडो छल्न बेँसी नझरी दुई महिने हिउँदे बिदा दिएको थियो । घमी आधारभूत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी सात वटा सामुदायिक विद्यालयले घुम्ती कक्षाका रूपमा बेँसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । लोघेकरका विद्यालय आपसमा अस्थायी मर्ज गरी दुई वटा ठाउँमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले बताउनुभयो ।

तल्लो मुस्ताङका विद्यालय दुई महिने लामो बिदापछि खुले पनि उपल्लो मुस्ताङका विद्यालय भने गर्मीयाम लागेपछि वैशाखमा साविककै ठाउँमा फर्किएर शिक्षण सिकाइ क्रियाकलापलाई नियमित गर्छन् ।

सरकारले गएकाे वर्षदेखि देशभर शैक्षिक सत्रमा एकरूपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दै आइरहेको छ । यसअघि हिमाली जिल्लामा पुसअघि नै चालू शैक्षिक सत्र सकेर फागुनमा नयाँ शैक्षिक सत्रको पठनपाठन शुरू गर्ने गरिन्थ्यो ।

शैक्षिक सत्र एकरूपताले हिमाली क्षेत्रमा पढ्ने विद्यालयका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको जनहित माध्यमिक विद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीले बताउनुभयो । उहाँका अनुसार हिउँदे दुई महिने बिदाले विद्यार्थीले पढेका र सिकेका सिकाइ उपलब्धि बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिक सत्र कार्यान्वयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया