पूर्व राजालाई पार्टी खोल्न प्रचण्डको सुझाव

 फागुन २४, २०८१ शनिबार १५:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिनुभएको छ ।

शाहका समर्थकहरुले भोलि काठमाण्डौमा गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर कार्यक्रम गर्ने तयारी गरेपछि ज्ञानेन्द्र शाहका विरुद्धका दलहरुबाट कडा टिप्पणी र सुझाव आइरहेका बेला माओवादी अध्यक्ष ‘प्रचण्ड’ को पनि यस्तो सुझाव आएको हो । तराई मधेश जागरण अभियानमा रहेका अध्यक्ष ‘प्रचण्ड’ ले दैनिकजसो शाहका बारेमा बोलिरहनुभएको छ ।

यसअघि बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहलाई चुनाव लड्न सुझाव दिनुभएको थियो । आज डोटीमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्कने हल्ला काम नलाग्ने बताउनुभयो ।

यस्तै हिजो सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पूर्व राजा ज्ञानेन्द्र शाहको सम्पत्ति जफथ गरेर जेलमा राख्नुपर्नेमा स–सम्मान राखेको टिप्पणी गर्नुभएको थियो ।

राजसंस्थाको पुनस्र्थापना, प्रदेश संरचना खारेजी, सनातन हिन्दू राज्य स्थापनासहितका पक्षमा बुधवार काठमाण्डौमा र्याली निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि विमानस्थलमा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा पनि अगुवाई गर्दैछ ।

यस अघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्व राजा शाहले जारी गरेको भिडियो सन्देशमा देश जोगाउने हो भने आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीको उत्साह र अरु दलहरुको छटपटी दुवै बढेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्थाको पुनस्र्थापनाकै लागि प्रयास रहेको बताउनुहुन्छ । तर राजनीतिक विश्लेषकहरु भने नेपालमा अब राजतन्त्र पुनर्स्थापना हुने कुरा असान्दर्भिक भइसकेको दाबी गर्छन् ।

एकथरीले नागरिकहरुलाई भ्रमित बनाइराख्न यस्तो हल्ला चलाउने गरेको र दलहरु पनि उही शैलीमा प्रतिवाद गरिरहेको पाइन्छ ।

राजनीतिक विश्लेषक डब्बर खतिवडाले फेसबुकमा लेख्दै नयाँ–वैकल्पिक  राजनीतिको गफले अलिकति चर्चा र लोकप्रियता पाउने वित्तिकै कथित अभियन्ताले राजतन्त्रको हल्ला बढाएको उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया