इरानमा गएकाे वर्ष ३१ महिलासहित ९ सय ७५ जनालाई मृत्युदण्ड

 फागुन ८, २०८१ बिहीबार १८:७:१२ | एजेन्सी
unn.prixa.net

इरानले गएकाे वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९ सय ७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बताएका छन् ।

नर्वेमा रहेकाे 'इरान ह्युमन राइट्स' (आईएचआर) र फ्रान्सेली समूह 'टुगेदर अगेन्स्ट द डेथ पेनल्टी' (ईसीपीएम) का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा धेरै सङ्ख्या हो ।

इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’ का रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ, यो तथ्याङ्कले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ ।

आईएचआरका निर्देशक महमुद अमिरी मोगद्दामले भन्नुभयो, यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा आफ्नो पकड कायम राख्न आफ्नै जनताविरुद्ध गरेको युद्धको एक हिस्सा हो ।

इरान र इजरायलबीच युद्धको खतरा बढ्दै जाँदा वर्षको अन्तिम तीन महिनामा हरेक दिन औसतमा पाँच जनालाई मृत्युदण्ड दिइएको छ, उहाँले भन्नुभयो ।

इरानमा सन् २०२३ मा ८ सय ३४ जनालाई मृत्युदण्ड दिइएको थियो । गएकाे वर्षको तुलनामा यो वर्ष मृत्युदण्डको सजाय पाएकाको सङ्ख्या १७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्युदण्ड दिइएका ९ सय ७५ जनामध्ये ४ जनालाई सार्वजनिक ठाउँमा फाँसी दिइएको थियो भने ३१ जना महिला थिए ।

विरोध प्रदर्शन गर्नेलाई समेत मृत्युदण्ड

मानव अधिकारवादी समूहका अनुसार चीनपछि इरान विश्वकै सबैभन्दा बढी मृत्युदण्ड दिने देश बनेको छ । सन् २०२२ मा देशव्यापी विरोध प्रदर्शन शुरू भएपछि नागरिकमा डर कायम राख्न अधिकारीहरूले मृत्युदण्डको प्रयोगलाई वृद्धि गरेको आरोप उनीहरूले लगाएका छन् ।

सन् १९७९ को क्रान्तिले पश्चिमा समर्थित मोहम्मद रेजा पहलबी (शाह) लाई सत्ताच्युत गरेपछि स्थापित शरियामा आधारित न्यायिक प्रणालीको प्रमुख खम्बा मृत्युदण्ड हो ।

मृत्युदण्डको सजाय हुने अपराधहरूमा हत्या, बलात्कार र लागूपदार्थका अपराधहरू समावेश छन् तर ‘सामाजिक मूल्य मान्यता र मानवीय मर्यादा विपरीत’ आचरण र ‘राज्यविरोधी गतिविधि’ जस्ता अस्पष्ट शब्दहरूको प्रयोग गरी पनि मृत्युदण्डको सजाय दिइने गरेको अधिकारकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार यी शब्दजाल सरकारसँग भिन्न धारणा राख्ने असन्तुष्टहरूविरुद्ध प्रयोग गरिने गरेको पाइन्छ ।

पछिल्ला वर्षहरूमा मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई प्रायजसो जेल परिसर र कहिलेकाहीँ सार्वजनिक रूपमा फाँसी दिएर मृत्युदण्ड दिइने गरेको छ । यद्यपि अन्य विधिहरू विधान पुस्तकहरूमा उल्लेख गरिएअनुसार रहन्छन् ।

सन् २०२२ को सेप्टेम्बरमा इरानको अनिवार्य ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी इरानी–कुर्दिश महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि शुरू भएको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा गएकाे वर्ष दुई जनालाई मृत्युदण्ड दिइएको थियो ।

सन् २०२२ को अक्टोबरमा भएको प्रदर्शनका क्रममा एक प्रहरी अधिकारीको कारले हानेर हत्या गरेको आरोपमा २३ वर्षीय मोहम्मद घोबादलुलाई जनवरी २०२४ मा मृत्युदण्ड दिइएको थियो । मानव अधिकारवादी समूहहरूले उनको मुद्दा निकै त्रुटिपूर्ण भएको आरोप लगाएका छन् र न्यायाधीशहरूले उनी द्वीध्रुबी विकार (बाइपोलर डिसअर्डर अर्थात् म्यानिक डिप्रेसन) बाट पीडित भएको प्रतिरक्षामा प्रस्तुत प्रमाणलाई बेवास्ता गरेका छन् ।

सन् २०२२ को प्रदर्शनका क्रममा रिभोल्युसनरी गार्डको हत्या गरेको आरोपमा ३४ वर्षीय घोलामरेजा रसाइलाई गएकाे अगस्टमा गोप्य रूपमा मृत्युदण्ड दिइएको थियो । अधिकारकर्मीहरूले उहाँको स्वीकारोक्ति यातनाबाट प्राप्त भएको बताएका छन् ।

अधिकारवादी समूहहरूले इरानले गएकाे वर्ष थप मृत्युदण्ड दिएको हुन सक्ने प्रमाण रहेको र उनीहरूले आफ्नो प्रतिवेदनको पुष्टि गर्न नसकेको बताएका छन् ।

उनीहरूले सन् २०२४ मा थप ३९ जनालाई मृत्युदण्ड दिइएको खबर आएको र दोस्रो स्रोतबाट पुष्टि गर्न नसकिएको बताएका छन् ।

आईएचआरको तथ्याङ्क अनुसार यस वर्ष इरानले कम्तीमा १ सय २१ जनालाई मृत्युदण्ड दिइसकेको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया