झन्डै ३३ हजार वर्गमिटर क्षेत्रमा ढुङ्गा बिछ्याउँदै काठमाण्डौ महानगर

 फागुन ९, २०८१ शुक्रबार १५:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालू आर्थिक वर्षभित्र ३२ हजार ८ सय ५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ ।

सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन् । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, शहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो ।

यी योजना वडा नम्बर ६, ८, १२, २१, २६ र २७ तथा हनुमानढोका दरबार संरक्षण क्षेत्रमा सञ्चालन भएका हुन् । यी योजनाका लागि २८ करोड १४ लाख ९२ हजार ४ सय २७ रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको छ ।

सम्पन्न ५ वटा योजनाबाट १० हजार ७ सय २९ वर्गमिटर क्षेत्रमा ढुङ्गा बिछ्याइसकिएको छ । वडा नम्बर ८ को जयबागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ हजार ४ सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ हजार ८ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा बिछ्याइसकिएको छ ।

यस्तै वडा नम्बर २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५ सय २० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । जमलदेखि असन हुँदै इन्द्रचोकसम्मको ढुङ्गा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ ।

भोटाहिटी, असन हुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ । असनदेखि वीर अस्पताल, महाबौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । बिजुलीको तार भूमिगत गरेपछि ढुङ्गा बिछ्याउने काम शुरू हुने महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया