विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

 पुष १५, २०८१ सोमबार १२:१९:४६ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी) को आयोजनामा हुने ‘इन्साइट लाइभ, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आउँदाे वैशाख १६ देखि १८ गतेसम्म  काठमाण्डौमा हुन लागेको हो ।

सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आईएपीबीका सदस्य संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आईएपीबीका सदस्य रहन्छन् ।

नेपालमा आईएपीबीका सदस्य संस्थामा नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बीपी आई फाउण्डेशन रहेका छन् ।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थाको छाता सङ्गठनका रूपमा रहेको आईएपीबीले अन्तर्राष्ट्रियरूपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई  प्रवर्द्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।

सन् २०२४ को आईएपीबी  सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपीबीको दक्षिण पूर्वी एशियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार नेपालमा आयोजना हुने सम्मेलनमा झन्डै एक सय राष्ट्रका पाँच सय जनाले सहभागिता जनाउनेछन् ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसारसम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया