भारतको केआइआइटी मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम रोकिएन

 फागुन १०, २०८१ शनिबार १७:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको उडिसामा रहेको कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गएको मङ्गलवारदेखि आजसम्म काँकरभिट्टा नाका हुँदै २० जना विद्यार्थी नेपाल फर्किएका जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार अझै पनि दैनिक एक–दुई जना फर्किरहेका छन् ।

नेपाली छात्रा प्रकृती लम्सालको मृत्युपछि कलेजले नेपाली विद्यार्थीहरुलाई होस्टलबाट निकालिदिएको थियो । पनि कलेजले माफी मागेर होस्टलमा फिर्ता बोलाएपनि विद्यार्थीहरु अझै विश्वस्त हुन नसकेका हुन् । विद्यार्थीहरु होस्टलमा फर्कने क्रम चलिरहेको भए पनि नेपाल आउने क्रम पनि चलिरहेको हो ।

यसैबीच केआइआइटी प्रक्ररणबारे परराष्ट्रमन्त्री डा. आरजु राणाले उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । मन्त्री राणाले मुख्यमन्त्री माझीसँग प्रकेती लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन उडिसा सरकारले नै पहल गरिदिनका लागि राणाको आग्रह छ । मुख्यमन्त्री माझीले घटनालाई उडिसा राज्यले गम्भीर रूपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम शुरु गरिएको जानकारी गराउनुभएको छ ।

साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि उडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ काम गरिरहेका छन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया