एनआरएनए सचिवालय शेष घले नेतृत्वको समितिलाई बुझाउन सर्वोच्चको...
फागुन १२, २०८१ सोमबार
ताप्लेजुङ – ताप्लेजुङमा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् ।
सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुग्नुभयो । गाउँमा झिँगटीको छाना लगाउने कालिगड गाैतमले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्नुहुन्थ्यो । अहिले उहाँका सहकर्मी कालिगड सबैको निधन भइसक्यो । गाउँमा झिँगटीको छाना लगनाउने उहाँ मात्र हुनुहुन्छ । तर उहाँ अहिले अन्यको साहारामा बाँच्नुपरेको छ ।
गाउँमा उहाँले नै बनाएको झिँगटीको घरसमेत चुहिन थालेका छन् । धेरैले त भत्काएर अर्को घर बनाएका छन् । त्यही गाउँका मदन बरालको बुबाले २००४ साल अर्थात् ७७ वर्ष अगाडि झिँगटी छानो भएको घर निर्माण गर्नुभएको थियो ।
लामो समयपछि छानोबाट पानी चुहिन थाल्यो । घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने हुन थाल्यो । तर मदनको बुबाले बनाएको घर भत्काउन मनले मानेन ।
संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपालले छोपेर राख्नुभयो । त्यो दीर्घकालका लागि नभएपछि बराल झिँगटीको छाना लगाउने कालिगड खोजी कार्यमा लाग्नुभयो । अन्तिममा कालिगड नपाएपछि घर भत्काउनुबाहेक अन्य विकल्प उहाँसँग रहेन । आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्काउन मन नभए पनि घर भत्काएर अहिले अर्कै नयाँ घर बनाइएको छ ।
वि.सं. २००३ अगाडि ताप्लेजुङमा प्रायः झिँगटीको घर बनेको स्थानीयवासीको भनाइ छ । पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएको छ ।
बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई सङ्कटमा पार्दै लगेको छ ।
सिदिङवा गाउँपालिका–४ का दिलकुमार ताम्लिङ काठमाण्डौ बसाइँ सर्नुभयो । तर उहाँका पुर्खाले झन्डै ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आउनुभएको छ । अहिले यस गाउँमा झिँगटीको घर भनेकै उहाँकै घरमात्र बाँकी छ ।
आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो । त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घर देख्न पाइन्थ्यो ।
यस्ता संरचनालाई मात्र होइन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्दथ्यो । यो वास्तुकला शैलीको संरक्षण गरिनुपर्नेमा धेरैजसाे स्थानीयवासी सहमत भए पनि बदलिँदो समयका कारण उहाँहरूले झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका–५ लक्षुमन राईले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय गाउँमा झिँगटी छानाका ठाउँमा आरसीसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ ।
स्थानीयवासी घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन् । यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पुर्याइरहेको छ ।
ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिता बोकेका घर लोप हुँदै गएका छन् । झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन । कला, सीप र स्थानीय परम्परा नै लोप हुँदै गएको छ । झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए ।
स्थानीयवासीले पुराना झिँगटी घरको संरक्षण र प्रवर्द्धन आवश्यक देखेका छन् । तर संरक्षणका लागि आवश्यक जनशक्ति अभाव तथा सहयोग नपाउँदा धेरै पुराना घर विस्तारै हराउँदै गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।