ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
पुस २, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल र चीनका निजी क्षेत्रबीच पहिलो चरणमा नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलर अर्थात नेपाली दुई खर्ब रुपैयाँ भन्दा धेरैको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ ।
काठमाण्डौमा हिजो आयोजित एक कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै पहिलो चरणमा वार्षिक डेढ अर्ब अमेरिकी डलर मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखिएको छ ।
हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु बधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने पनि समझदारी बनेको छ । हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि २०६८ सालमा स्थापना भएको थियो । कम्पनीले विभिन्न देशमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गएको मङ्सिर १७ मा भएको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रशोधित राँगाभैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
पशुपालनमा संलग्न भएका र हुन चाहनेलाई फाइदा पुग्ने विश्वास
चीनमा छ हजारभन्दा धेरै ‘आउटलेट’ भएको खाद्यान्न तथा प्याकेटको मासुजन्य परिकार बेच्ने जियान फुडले राँगाभैँसी पालनका लागि प्राविधिक सहायताका साथै नेपालमा २० अर्ब रुपैयाँ बराबरको लगानी गर्न चाहेको पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा.नवीनकुमार शर्माले जानकारी दिनुभयो ।
यसबाट पशुपालनमा संलग्न भएका वा हुन चाहने युवाले फाइदा लिन सक्ने विश्वास गरिएको छ । कार्यक्रमको कार्यान्वयनसँगै घाँस तथा साइलेज, पशुदाना, कुखुराको दानाका लागि चाहिने मासु र हड्डी, छाला प्रशोधनसँग सम्बन्धित उद्योग, कृषिक्षेत्रमा लगानी बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्न सक्ने छन् ।
सरकारको सहयोगमा खोरेत रोगको नियन्त्रण कार्यक्रम सञ्चालन, घाँस उत्पादनका लागि सरकारी जग्गा उपलब्ध गराउने, पशुपालक किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायत किसानको हितका कार्यक्रम सञ्चालन गरिनेछ ।
‘चिनियाँ मापदण्डको मासु निर्यात गर्न सरकार प्रतिबद्ध’
सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रागाँको मासुको गुणस्तर सुनिश्चित गरेर नेपाली उपभोक्ताले उपभोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले नेपाल र चीनबीच सम्पन्न राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्नेसम्बन्धी समझदारीले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गरेको बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल र चीनबीच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौताबाट नेपालमा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले न्यून लागतमा राँगाभैँसी उत्पादन हुनसक्ने क्षेत्र पहिचान गरेर उत्पादन थाल्ने सुझाव दिनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भएको राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता कार्यान्वयनमा प्रवेश गरेकामा खुशी व्यक्त गर्नुभयो । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले मासुको अभाव हुन नदिन विभिन्न ३० वटा पालिकामा राँगाभैसी पालन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा.तपेन्द्रप्रसाद बोहराका अनुसार सम्झौतामा सुरक्षित र गुणस्तरीय मासुको निर्यात हुनुपर्नेमा मुख्य जोड छ । यसको अर्थ रोगमुक्त, मापदण्ड पुगेका बधशालामा उत्पादन भएको, उपयुक्त किसिमले प्याकेजिङ्ग गरिएकोलगायत प्रोटोकलको पालना हुनुपर्छ ।
चीन विश्वमै सबैभन्दा धेरै राँगाभैँसीको मासु आयात गर्ने देश हो । यसमा नेपालले थोरै हिस्सा ओगट्न सकेपनि भैँसीपालन गर्ने किसानको जीवनस्तर उकास्न सक्ने अवस्था छ । साथै राँगाभैँसी र उनीहरुको मलको प्रयोगबाट कृषिजन्य उत्पादनमा उल्लेख्य सुधार ल्याउन सक्ने अर्को अवसर छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।