केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
दिनमा पटकपटक मोबाइलमा घण्टी बज्छ । यो मेरो लागि सामान्य हो । तर कुनै कुनै फोनको घण्टी यस्तो हुँदो रहेछ जुन कसैले पनि कल्पना गरेको हुँदैन होला, सायद । तर भन्छन् नि जीवनमा नसोचेकै कुरा धेरै हुन्छन् ।
जेठको १२ गते । कतारमा ११ बजेर ३० मिनेटमा मेरो मोवाइलको घण्टी बज्यो । त्यो फोनमार्फत मैले यस्तो खबर सुनें कि जुन खबर सुन्ने हिम्मत यसअघि कहिल्यै पनि थिएन मसँग । त्यस्ता खबर सामाजिक सञ्जालतिर देखे पनि नदेखेझैं गर्थें । तर आफैंले भोग्नु पर्यो ।
खबर थियो हिजो सुतेको मेरो भाइ बिहान बिउँझिएन । एकछिन त त्यो खबर झुटो होस् भनेर कामना गरें, तर खबर सत्य थियो । कतारमै काम गर्ने मेरो भाइ हिजो मात्रै मसँग बोलेको थियो, आजदेखि नबोल्ने भएछ ।
मुस्लिम धर्मवालम्बीहरुको चाड इदको अवसरमा कम्पनीले बिदा दिएको थियो । छुट्टीको अवसरमा राति ३ बजेसम्म रमाइलो गरेर सुतेको मेरो भाइ बिहान उठेन ।
खबर सुन्नासाथ हतार हतार गर्दै गाडी स्टार्ट गरेर अफिसबाट निस्किएँ । श्रीमतीलाई तयार हुन अनुरोध गरेँ । गाडी दौडाएर घटनास्थलमा पुग्यौं । तर तर त्यहाँबाट उसको शव लगिसकिएछ ।
भाइका साथी र कम्पनीमा काम गर्नेहरु पनि त्यहाँ पुगिसकेका रहेछन् । सोध्दा हिजो रामै्रसँग सुतेको अहिले त बिहान उठेन । अनि यसो हेर्दा उसको शरीर त काठको मुडोजस्तै भएको रहेछ । कतिबेला संसार छाड्यो हामीले त थाहै पाएनौं भनेर साथीभाइले भने ।
केही समयपछि घरबाट आएको फोनले मेरो मोबाइलको घण्टी बज्न थाल्यो । कसरी भनौं भाइ यो संसारमा छैन भनेर । यथार्थ लुक्न त लुक्दैन, तर हामी केही समय भए पनि त्यसलाई लुकाउने झिनो प्रयास गर्छौं ।
एकछिन नै सही तर झुट बोल्नु पर्छ । मैले पनि त्यसै गरेँ । भाइ अस्पताल भर्ना भएको छ भनेर सत्यलाई एकछिन लुकाउन कोशिस गरेँ । तर मनका पीडा दोब्बर बढ्यो । कसरी ढाँट्नु ? ढाँटेर कहिलेसम्म राख्नु ?
आँखामा झलझली घरपरिवार, बुहारी र उसकी सानी छोरी आइन् । २२ वर्षे बुहारी र सानी छोरीलाई तिम्रो श्रीमान् र बुवा छैन भनेर कसरी सुनाउँ ? तर बाध्यता, परिस्थितीले अनेक बनाउँदोरहेछ ।
यो खबर मेरो मनमा मात्र सीमित रहँदैन । आगोझैं गाउँमा पुग्छ । खबरसँगै पीडा पनि । असार ६ गते अर्थात जुन २० तारिखका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा रातो बाकसमा हाम्रो परिवारको भगमा पनि एउटा बाकस पर्ला भन्ने कस्ले सोचेको थियो र ? तर दैबको अगाडि हामी जाबो मानवको के नै लाग्थ्यो र ?
उसको कम्पनी पनि एउटा प्रतिष्ठित कम्पनी भएकै कारण अनि कतारमा रहेको दूतावासले पनि राम्रै भूमिका खेलेको हुँदा २६ दिनपछि मेरो भाइको शरीरलाई यो कोरोना महामारीको बेलामा पनि नेपालसम्म पुर्याउन सफल भएँ ।
बाकसमा सुतेको भाइलाई देख्दा आमाको मन कति रोयो होला । बुहारीले कस्तो अनुभव गरिन् होला म सोच्न सक्दिनँ । तीन वर्षे छोरीले आफ्नो बुवा किन बाकसमा फर्कियो भनेर भेउ पाइन् कि पाइनन् होला ? उनीहरुको मनमा के परेको होला ? यी सबै कुरा एक सपना जस्तो लाग्छ । तर एक परदेशी दाइ यही सपनाजस्तो दुःख भोगिरहेको छ । भाइ तिम्रो आत्माले शान्ति पाओस् । मेरो भाइ युवराज अधिकारीलाई हार्दिक श्रद्धाञ्जली !