नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
नेपालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र राष्ट्रिय वन क्षेत्र एवम् संरक्षित जैविक मार्ग क्षेत्रमा पाटे बाघ अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । पर्यटकले पाटे बाघ लगायतका वन्यजन्तु अवलोकन गरेर जान्छन् । त्यस्तै नेपालको छिमेकी देश भारतका पनि विभिन्न निकुञ्ज तथा आरक्षहरूमा पाटे बाघ अवलोकनका लागि पर्यटक जाने गर्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिबाट हरेक पाँच वर्षमा ठूला निकुञ्ज तथा वन्यजन्तु आरक्ष अवलोकनका लागि भ्रमणमा जाने गरेका छन् । समितिबाट पाँच वर्षअघि एक सिङ्गे गैँडा र पाटे बाघ अवलोकनका लागि भारतको आसाममा रहेको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गएको थियो ।
पन्ना टाइगर रिजर्भ ५ सय ४२ दशमलव ७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । झन्डै ३० वर्षअघि सन् १९९४ मा बाघ पाइने क्षेत्र भन्दै भारत सरकारले मध्य प्रदेशको सबैभन्दा ठूलो पन्ना टाइगर रिजर्भ घोषणा गरेको हो । ७ वर्षअघि ७० वटाभन्दा धेरै पाटे बाघ रहेको पन्ना टाइगर रिजर्भमा अहिले एक सयको हाराहारीमा रहेको अनुमान छ ।
यस वर्ष पनि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका १९ वटा उपभोक्ता समितिका अध्यक्षहरूसहित २१ जनाको टोली भारतको मध्य प्रदेशमा रहेको पन्ना टाइगर रिजर्भ अवलोकनमा गएर फर्किएको छ । जङ्गली हात्ती, एक सिङ्गे गैँडाबाहेक पाटे बाघ, बाह्रसिङ्गे जरायो, निलगाई, चित्तल, बाँदरमात्रै रहेको पन्ना टाइगर रिजर्भ बाघका लागि प्रख्यात क्षेत्र हो ।
बाघसँग जम्काभेट ...
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका संरक्षणकर्मीहरू पन्ना टाइगर रिजर्भमा बिहान ७ बजे जङ्गल सफारीका लागि पुगेर टिकट काटेर भित्र प्रवेश गर्दा ८ बजिसकेको थियो । हामी चार वटा जीपमा २१ जना र साथमा गाइड र चालक गरी २९ जना थियौँ । २६ वटा जीपमा दुई सय आठ जना जङ्गल प्रवेश गरेका थिए । प्राकृतिक बासस्थानमा बाघ हेर्न पाइने भन्दै बर्दियाबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति संरक्षणकर्मीहरूसहितको टोली लिएर पन्ना टाइगर रिर्जभको भ्रमणमा गएको थियो ।
जङ्गल सफारी मलाई नौलो त थिएन । तर पनि नेपालमा झैँ बाघ देख्न पाइएला कि नपाइएला भन्ने कौतुहलता थियो । जीपका चालकले बाघ देखिएको छ, साथीहरूले म्यासेज गरेका छन् भन्दै जीप दौडाए । बाघ देख्न पाइने भयो भनेर हामी सबै जना खुशी भयौँ । जङ्गलभित्रकाे झन्डै आधा घण्टाको यात्रापछि पाटे बाघ सडक किनारमा बनाइएको पानी खाने ठाउँ नजिक आउँदै थियो । बाघ भएको ठाउँ नजिकै जीप रोकियो । बाघ देख्नेबित्तिकै सफारीमा रहेका सबै बाघ भएको ठाउँमा पुगे । झन्डै २०/३० फिटको दुरीमा रहेको पाटे बाघ देखियो । हामीले मोबाइल र क्यामेरामा बाघको फोटो र भिडियो खिच्न थाल्यौँ । बाघ जुरुक्क उठेर हामीतिर फर्कियो । एकछिन हामी सबै जना डरायौँ । गाइडले हामीलाई हल्ला नगर्न भन्दै चालकलाई गाडी अघिपछि गराउन आग्रह गर्दै थिए । डराउँदै भए पनि हामीले मोबाइल र क्यामेरामा बाघकाे फोटो र भिडियो खिच्न थाल्यौँ । हामीतिर फर्किएको बाघलाई जीपका चालकले साइड दिएपछि जङ्गलभित्रको सडकमा दुवैतर्फ रहेका जीपको बीचबाटै बाघ जङ्गलतिर गयो ।
हामी जङ्गल सफारीको यात्रामा थियौँ । केहीबेरपछि त्यही बाघ अर्को ठाउँमा जम्काभेट भयो । बाघ सिकार गर्न तयारी अवस्थामा रहेको गाइडले बताए । फेरि पनि बाघ हामी चढेको जीपको झन्डै १० फिट नजिक आयो, चालकले जीप अघिपछि गरेपछि दुवैतर्फ रहेका जीपको बीचबाट बाघ गयो । बाघले जरायो ताकेर गएको रहेछ । सिकार ताकेर गएको बाघ धेरै होहल्ला भएका कारण एक्सनमा आए पनि फुरुक्कै फर्कियो र रुखमा कोपर्न थाल्यो । त्यसपछि बाघ जङ्गलभित्र पस्यो ।
हरियाली कम सुक्खा क्षेत्र बढी भएको जङ्गलभित्र बोटबिरुवाका पात झरेर सगुन, सलाई लगायतका कुकाठ र केही ठाउँमा बाँसघारी मात्रै थियो । हामी नदी किनारमा बच्चासहितको बाघ भएको ठाउँमा पुग्यौँ । नदी किनारमा डमरुसहित बघिनी खेलिरहेको अवस्थामा देख्यौँ । बच्चासहित चार वटा बाघ देखेपछि फोटो र भिडियो खिचेर हामी अगाडि बढ्याैँ । जङ्गलभित्र बाघसँगै घाँसे मैदानमा चित्तल, बाह्रसिङ्गे जरायो, बाँदर पनि देख्यौँ । तीन घण्टापछि हामी जङ्गलबाट बाहिर निस्कियौँ ।
जङ्गल सफारीका क्रममा देखिएका पाटे बाघ, बाह्रसिङ्गे जरायो, चित्तल, निलगाई, बाँदरका केही तस्बिर–
तस्बिर : भावुक याेगी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।