उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लक्ष्मीपूजाको साँझ घरमा लक्ष्मी भित्र्याउन नपाउँदै लक्ष्मी माग्दै केटाकेटीको हुल आइपुग्यो । लाज मान्दै एकजना अघि सर्यो र भट्याउन थाल्यो ।
ए भनभन भाइ हो : देउसिरे ।
राम्ररी भन : देउसिरे ।
साइकलको घण्टी : देउसिरे ।
छिटो गर्नुस् अन्टी : देउसिरे ।
छानामाथि घिरौँला : देउसिरे ।
कति दिन्छन् हेरौंला : देउसिरे ।
आकुमपाकुम : देउसिरे ।
सेलरोटी चाखुम : देउसिरे ।
हामी त्यसै आएनौँ : देउसिरे ।
बलीराजाले पठाएको : देउसिरे ।
ए साइकलको घण्टी : देउसिरे ।
छिटो गर्नुस् अन्टी : देउसिरे
छानामाथि घिरौंला...........
देउसिरे भन्न जानेको यति नै रहेछ । केटाकेटीले दुई मिनेटमै देउसी सके र त्यही दोहोर्याउन थाले । सकियो त भाइबहिनी हो देउसी भनेर सोधेको, यति हो हामीले जानेको, खै पैसा दिनुस् अर्को घर जान्छौँ भनेर टाउको कन्याए । लौ जाडोमा भाइबहिनीलाई के दुःख दिनु भनेर बिदा गरियो । तँगारोमा पुगेपछि ए आशिष दिन भुलिएछ भन्दै उही भट्याउने केटो अघि सर्यो ।
ए यो घर कस्तो : देउसिरे ।
ए सिंहदरबार जस्तो : देउसिरे ।
ए आँगन कत्रो : देउसिरे ।
आँगन नै रहेनछ, हिँड जाउँ भन्दै केटाकेटी आशिष नै पूरा नगरी दगुर्दै अर्को घरतिर लागे । केटाकेटी निस्केर हिँडेपछि किशोरकिशोरीको अर्को हूल आयो । एक दुईजनाले गितार पनि बोकेका रहेछन् । देउसीको शैली उस्तै छ : साइकलको घण्टी, छानामाथि घिरौंला, आकुमपाकुम, बली राजाले पठाएका.......। गितारसमेत बोकेका उनीहरुले चाहिँ दुई, चारवटा गीत पनि गाए । अनि दानदक्षिणा पाएपछि उही शैलीमा अपुरो आशिष दिएर उनीहरु पनि बाटो लागे ।
उनीहरु हिँडेपछि फेरि अर्को टोली आइपुग्यो । उनीहरुलाई पनि बलीराजाले नै पठाएका रहेछन् । हामी त्यसै आएनौ : देउसिरे । बलीराजाले पठाएका : देउसिरे ।.............
जो आउँछन्, बलीराजाले मात्र पठाएका भन्छन् । बलीराजा पनि कस्ता रैछन्, जति भए पनि नपुग्ने ! अलिअलि भएको पैसा दान दिँदादिँदै सकिन लागिसक्यो । पालैपालो देउसी पठाएर वाक्क पारिसके ।
बलीराजाले पठाएका देउसिरेलाई चित्त बुझाउँदा बुझाउँदा पल्लो घरका छिमेकी दाइ पनि वाक्क भएका रहेछन् । उनले सोधे – हैन बली राजा भनेका को हुन् ? हत्तुहैरान पो बनाए त ? कतिलाई दिएर साध्ये लाग्छ ।
खै मलाई पनि के थाहा र ? चिनेजानेका राजा त उहिल्यै हटिसके । यी चिन्दै नचिनेका को हुन् खै बली राजा ?
एकछिन घोरिएर दाइले भने – बलीराजाले हैन, वलीराजाले चाहिँ पठाएका हुनुपर्छ । कसैकसैले व लाई पनि ब भन्छन् । वली राजा भन्दा बली राजा भनेका हुन् । व लाई ब त भन्न सक्छन् । बली नभएर वली नै होलान् रे । तर वली त राजा हैनन् नि ? मेरो सिधा मनले भन्यो ।
राजै त हुन् नि । गाउँगाउँमा सिंहदरबार पुगेपछि त्यहाँ त राजारानी पुगिसके । झन् केन्द्रकै सिंहदरबारमा बस्ने मान्छे कसरी प्रधानमन्त्री र अध्यक्ष मात्रै हुन्छ ? वली त राजै हुन् । ती दाइले व्याख्या गरे ।
अनि देउसीको हुल चाहिँ किन पठाएका त ?
उनैले भने – वलीको मुख्य सपना सुख र समृद्धि । सुख र समृद्धि कसरी हुन्छ भन्दा हातमा पैसा भएपछि । हातमा पैसा कसरी हुन्छ ? कि कमाएर, नभएर मागेर या चोरेर । चोर्न त डर हुन्छ, त्यसैले माग्नुपर्छ । अरुबेला भन्दा तिहारको बेला माग्दा कात्तिकको दान भनेर सबैले दिन्छन् । अनि माग्ने जति सुखी र समृद्ध हुन्छ । त्यसैले बलीराजा हैन, वलीराजाले नै देउसी खेलेर माग्न पठाएका हुन् ।
माग्ने त सुखी होलान्, तर दान दिइरहने कसरी सुखी र समृद्ध हुन्छ त भन्ने अर्को प्रश्न भूइँमा खस्न नपाउँदै तिनै छिमेकीले तर्क गरे – जसले दिन सक्छ, उसकै घरमा त माग्न जाने हो नि । दिन सक्ने त पहिल्यै सुखी र समृद्ध भैसकेको छ । कथम्कदाचित दिंदादिंदै उ पनि टाट पल्टियो भने जसले धेरै मागेर लगेको छ, उसैकहाँ गएर फेरि देउसी खेल्ने । यसको, उसको, त्यसको, सबैकोमा सबै गएर देउसिरे भन्ने र पैसा जम्मा गर्ने । यति भएपछि सबै सुखी र समृद्ध हुन्छन् ।
ए भनभन भाइ हो : देउसिरे
माग माग भाइ हो : देउसिरे
विदेशीसित माग : देउसिरे
स्वदेशमै माग : देउसिरे
लाज नमानी माग : देउसिरे
लम्पसार पर : देउसिरे
घुँडा टेक : देउसिरे
सपना देख : देउसिरे
सुखी छु भन : देउसिरे
समृद्धि आयो भन : देउसिरे
हामी त्यसै आएनौं : देउसिरे
वलीराजाले पठाएका : देउसिरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।