गेटा अस्पताल भाेलिदेखि सञ्चालनमा आउने

 असोज ३०, २०८० मंगलबार १९:५९:३५ | विमल बिष्ट
unn.prixa.net

डाेटी – सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेकाे गेटा अस्पताल भाेलि बुधवारदेखि सञ्चालनमा आउने भएकाे छ । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा भाेलिदेखि १ सय शय्या क्षमताकाे अस्पताल सञ्चालनमा आउन लागेको हो । गेटामा पत्रकार सम्मेलन गरेर भाेलिदेखि अस्पताल सञ्चालनमा आउने जानकारी दिइएकाे हाे ।

अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहीन गरेर १ सय १० जना र नेपाल सरकार मन्त्रिपरिषद्को यही असोज १६ गतेको निर्णयअनुसार राजपत्राङ्कित तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएकाे छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटालाई १ सय शय्या क्षमताको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो ।

साथै गएकाे भदौ १३ गतेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार वार्षिक विकास कार्यक्रम स्वीकृत भई प्राप्त भएको एवम् चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन गेटा अस्पताललाई प्राप्त भएपछि भाेलिदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताउनुभयो ।

अस्पतालमा ओपीडी सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो । सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको डाक्टर जोशीले जानकारी दिनुभयो ।

भाेलिदेखि गेटा अस्पतालबाट जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला र फार्मेसी सञ्चालनमा आउने जनाइएको छ । साथै एमसीएच क्लिनिक सेवा कात्तिकभित्र, खोप सेवा विस्तार र अन्तरङ्ग सेवा मङ्सिरभित्र, इमरजेन्सी सेवा र प्रसूति सेवा पुस महिनाभित्र, शल्यक्रिया सेवा चैत महिनाभित्र, आईसीयू तथा एनआईसीयू सेवा आउँदाे वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाटै सहजै सेवा पाउने भएका छन् । गेटा अस्पतालमा क्रमिक रूपमा शय्या सङ्ख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाइएको अस्पतालका निर्देशक डाक्टर जोशीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया