नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
कृष्णभिरको पहिरो पाँच/छ वर्ष लगाएर वायो इन्जिनियरिङ प्रविधि प्रयोग गरेर नियन्त्रण गरियो । सन् २०१९ मा हामीले मुग्लिन–नारायणगढ सडक विस्तार गर्यौँ । विस्तार गर्ने क्रममा स्थिर भइरहेको भिरलाई हामीले चलायौँ । त्योभन्दा बाहेक हामीसँग अर्को विकल्प पनि थिएन । त्यो बेला ३०/४० ठाउँमा पहिरो जान्थ्यो । ३०/४० ठाउँको पहिरोलाई हामीले विभिन्न पद्धति अपनाएर त्यसलाई स्थिर गर्यौँ । हामीलाई सबैभन्दा समस्या भनेको १४ किलोमिटरको एउटा, २६ किलोमिटरको अर्को अनि ३१ किलोमिटरको अर्को गरेर तीन/चार वटा पहिरोले दुःख दिइरहेको थियो । १४ किलोमिटरको पहिरोलाई हामीले नियन्त्रण गर्यौँ ।
हामीलाई अहिले समस्या भनेको मौरी खोलाको पहिरो र चार किलोको पहिरो अर्थात् मुग्लिनबाट जाँदा चार किलोको पहिरोले दुःख दिएको छ । त्यसमा अर्को एउटा थपिएको छ तुइन खोला नजिकको पहिरो । तुइन खोलाको पहिरोको बारेमा हामीले सोचेकै थिएनौँ । कारण त्यो एकदम स्थिर थियो । एक वर्षअघिसम्म पनि केही त्यस्तो अवरोध र पहिरो जाने लक्षण नै थिएन । हामीलाई मौरी खोलामाथिबाट आउने पहिरोले दुःख दिन्छ भन्ने थियो । मुग्लिनबाट जाँदाको चार किलोमिटर अर्थात् चार किलोको पहिरोले चाहिँ दुःख दिन्छ भन्ने थियो । तर, त्यसले भने दुःख दिएन । मौरी खोला र अहिले आएको तुइन खोलाको दुई किलोमिटरको पहिरोले भने दुःख दिएको छ ।
४० वटा जस्तो पहिरोमध्ये सबैलाई विभिन्न पद्धति र प्रविधिले नियन्त्रण गर्दैगर्दै अहिले हामीले तीन/चार वटामा झारेका छौँ । हामीलाई अहिले चार किलोमिटरको पहिरो नियन्त्रण गनै अलि कठिनाइ भइरहेको छ । अनि अर्को भनेको मौरी खोला हो । मौरी खोलामा सडकको सीमाभन्दा धेरै माथिबाट पहिरो आउँछ । खोलाले त्यही पहिरोको माटो बगाउँदै पुल जाम हुन्छ । र, पुल जाम भएपछि पुलमाथि नै पहिरो आएर बस्छ । त्यसले गरेर आउजाउ गर्न कठिनाइ हुन्छ ।
त्यस्तै चार किलोमिटरमा पनि तीन/चार सय मिटर माथिबाट पहिरो आउँछ । अहिले आएको भनेको तुइन खोलाको पहिरो हो । तुइन खोलामा भने नियन्त्रण गर्ने ठाउँ पनि छैन । त्यहाँ एकदमै ठाडो भिर काटेको हुनाले अहिले त्यहाँ गएर केही गर्ने स्थिति पनि छैन । चार किलोमिटरमा पनि धेरै माथिबाट पहिरो आएको हुनाले त्यहाँ गएर रोकथामको उपाय गर्न सकिएको छैन ।
अहिले दुःख दिएको तीन वटा पहिरोमध्ये मौरी खोलामा भने चेक ड्यामहरु बनाएर त्यसलाई नियन्त्रण गर्न सकिन्छ । यहाँ भने कृष्णभिरमा अपनाएको प्रविधिले त्यहाँ काम दिन्छ । चार किलोमिटरमा भने धेरै माथिबाट पहिरो आएको हुनाले त्यो प्रविधि प्रयोग गर्न पनि कठिन छ । त्यसकारण त्यहाँ भने हामी पनि पर्ख र हेरको स्थितिमा नै छौँ । तुइन खोलामा आएको समस्या भने हल हुन्छ । अहिले नै पनि त्यसले त्यति धेरै दुःख दिएको छैन । अर्को वर्षसम्म यो नियन्त्रणमा आइसक्छ । त्यसपछि बाँकी भएको दुई वटामध्ये मौरी खोलामा हामी चेक ड्याम बनाउनेलगायतका केही काम गर्छौँ । यसो गर्दा त्यसको प्रभाव अहिलेको वर्षभन्दा कम हुन्छ । चार किलोमिटरलाई भने अहिले हामीले पर्ख र हेरको स्थितिमा राखेका छौँ ।
हामीले पहिरो जाने सम्भावना देखेर बेलैमा नियन्त्रण नगरेको भए अहिले त्यसको अवस्था कति भयानक हुन्छ त्यो कल्पना पनि गर्न सकिन्न । हामीले पहाडमा ड्रिल गरेर बाहिरबाट जालीले पुरै भिरलाई छोपेका छौँ । जालीले पुरै भिरलाई हलचल गर्न नदिएर अनि त्यसमा बोटबिरुवा लगाउने काम गरेका छौँ । र, अहिले त्यो हेर्दा पनि प्राकृतिक देखिन्छ ।
रह्यो ३०/३२ किलोमिटरमा तीन/चार ठाउँमा त समस्या नै भएको हो । हामीले काम नगरेका होइनौँ । हामीलाई पनि आम नागरिकको गुनासो सुन्ने रहर छैन । अरुलाई पनि हुँदैन होला । अब यसमा कतिपय हाम्रो क्षमताले पनि भ्याएन होला । कतिपय बजेटले पनि भ्याएन होला । यी विविध कारणले गर्दा पहिरो पूर्णरुपमा नियन्त्रण गर्न सकिएन ।
चार किलोमिटरमा भने हाम्रो क्षमताले पनि भ्याएन र हामीले जापानीहरुलाई पनि गुहार्यौँ । जाइकालाइ पनि गुहारेर जाइकाले पनि रक सेड बनाइदिने भन्ने कुरा भएको छ । जाइकाले पनि त्यसमा हात हालेको छ । हाम्रो आर्थिक क्षमता पनि भएन र प्राविधिकरुपले पनि कठिन लागेको हुनाले जाइकालाई भनेका हौँ । मौरी खोलामा जहाँ पहिरो गएको छ त्यहाँ आजभन्दा १०/१२ वर्ष अगाडि जाइकाले मौरी खोलामा समस्या देखेर नियन्त्रणको उपाय अपनाएको हो । जाइकाले गरेको काम पनि पहिरोले सबै भताभुङ्ग पारिदियो ।
नागढुंगाभन्दा पश्चिमतर्फको भाग हामी सबैले देखेकै छौँ । सुरुङबाट निस्कने ठाउँभन्दा केही पश्चिममा त्यहाँ पहिरो गएको छ । जहाँ छोयो त्यहीँ पहिरो गएको छ । त्यहाँ जापानीहरुले बनाएको पर्खाल पनि बगायो । उनीहरुले फेरि अर्को बनाए । कतिपय कुरा प्रविधि छ भन्दैमा पनि गर्न सकिँदैन । केही समय पर्र्खेर हेर्नुपर्ने नै हुन्छ । हामीले गरेको भए काम गर्न नजान्नेदेखि के के भन्थे होलान । तर, त्यस्तो होइन । हामीले आफूले पढेको, जानेको, सकेको सबै प्रविधि गरेका छौँ ।
यही हिसाबले नारायणगढ मुग्लिनको यो समस्या समाधान हुन अझै दुई/तीन वर्ष लाग्छ । नारायणगढ मुग्लिन जस्तो पहिरोको जोखिम भएको सडकमा सधैँ निस्फिक्री भएर हिँड्न चाहिँ सम्भव छैन । यस्तो पहिरो, जापान, कोरिया, अमेरिका सबैतिर जान्छ । तर, पहिरोले एक डेढघण्टाभन्दा धेरै बाटो बिथोलिनुहुन्न भन्ने मान्यता हो । क्यालिफोर्नियामा पनि कति पहिरो जान्छ जान्छ । त्यहाँ पनि पहिरो जान्छ अनि एक डेढ घण्टामा पहिरो पन्छाएर चलाउने हो । तर, हामीकहाँ पनि अहिले जसरी १८/१९ घण्टा सडक बन्द भयो त्यो भने अर्को वर्षदेखि हुँदैन ।
यसको स्थायी समाधान यही हो भन्ने छैन । केही न केही समाधान भन्ने चाहिँ हुन्छ । तर, स्थायीरुपमा ल समाधान भयो भन्ने चाहिँ हुँदैन । हाम्रो जस्तो वर्षाको स्थिति भएको देशमा स्थायी समाधान भन्ने हुँदैन । जस्तै अस्ति भर्खर पाँचथरको हेवा खोलामा पुल अनि जलविद्युत् आयोजना नै बगायो । पुल बग्छ भनेर अनि जलविद्युत् आयोजना पनि बग्छ भन्ने जस्तो लागेको भए बनाइँदैन थियो होला । तर, हाम्रो जस्तो देशमा जलवायु परिवर्तनका कारण अनुमान गरेकोभन्दा धेरै पानी पर्यो भने जहाँ पनि यस्तो दुर्घटना हुनसक्छ । तथ्यांकले के देखाएको छ भने हाम्रो देशमा प्रत्येक वर्ष एउटा निश्चित क्षेत्रमा अत्यधिक धेरै पानी पर्छ । पानीका कारण कल्पनै नगरेको बाढी, पहिरो जाने गरेको छ । तर, कहिले पूर्व अनि कहिले पश्चिममा यस्तो क्षति हुने गरेको छ । यस्तो हुन्छ भन्ने कारण पत्ता लाग्यो तर, यहीँ नै हुन्छ भन्न चाहिँ सकिँदैन ।
हाम्रो यो अनुभवले अब हामी यस्ता जोखिममा बाटो बनाउनुभन्दा सुरुङ बनाउनेतिर जानुपर्छ । किनकि सुरुङ यसरी डाँडो काटेर बनाउनुभन्दा धेरै सुरक्षित हुन्छ । भूकम्पका दृष्टिकोणले पनि सुरुङ सुरक्षित छ । तुइन खोलामा पनि हामीले सुरुङ बनाउने कुरा चलेको थियो । तर, सुरुङको लागि ३०/४० करोड रुपैयाँ लाग्ने भएपछि हामीले त्यो आँट गर्न सकेनौँ । सीमित पैसाले पुल बनाउनुपर्छ, राजमार्ग चलाउनुपर्छ । तर, त्यो प्रविधिमा एक न एक दिन भने जानैपर्छ । त्यो प्रविधिमा गयो भने अहिलेका यस्ता बाढीपहिरोले सडक अवरुद्ध हुने समस्याबाट भने पार पाइन्छ ।
बनेपा–बर्दिबास खण्डमा पनि पहाड त धेरै नै छ । हाम्रो देश नै पहाडै पहाडले भरिएको छ । तर, त्यहाँ पहिरोले नसताउनुको कारण त्यहाँ प्रयोग गरिएको प्रविधि हो । जुन एकदमै महँगो थियो । सन् १९९५ बाट २०१२/१३ सम्म नै सडक बन्यो । २० वर्ष लगाएर उनीहरुले एक सय ६८ किलोमिटर सडक बनाए । त्यो सडकमा लागेको लागत भनेको एक किलोमिटरमा २० करोड रुपैयाँ छ । मुग्लिन नारायणगढ हामीले जम्माजम्मी तीन अर्ब रुपैयाँले ३६ किलोमिटर बनायौँ । झण्डै तीन करोडले एक किलोमिटर सडक बनाएका छौँ त्यो पनि त्यति चौडा भनेपछि यो काम नै पनि एकदमै सस्तो भयो । त्यसकारण यसमा हामीले पहिरो नियन्त्रणका सबै उपाय अपनाएर काम गर्न अवश्य पनि सक्दैनौँ ।
पहिरो नियन्त्रणका लागि मुग्लिन नारायणगढमा पनि हामीले विभिन्न प्रविधि प्रयोग गरेका छौँ । १७ किलोटिरमा नारायणी नदीले हानेर जहिले पनि सडक तल बगाइ रहेको अवस्था थियो । त्यो ठाउँमा हामीले पाइ प्रयोग गर्यौँ । त्यो भनेको कंक्रिटको लट्ठा पानीभन्दा मुनि गाडेर लट्ठाबाट पर्खाल बनाएर नदीलाई छेक्यौँ । र, त्यसमाथि उठाएर १७ किलोमिटर सडक बनायौँ । त्यस्तै २६ किलोमिटरमा रक एङ्कर प्रविधिको प्रयोग गर्यौँ । त्यो भनेको २० मिटर भित्रसम्म खोपेर त्यसमा फलामको रड घुसाएर त्यही रडमा अड्याएर पर्खाल बनायौँ । वायर मेसबाट भित्ता अड्याउने अर्को प्रविधि पनि प्रयोग गर्यौँ । त्यसकारण हामीले प्रयोग गर्न सकिने किसिमका प्रविधिहरु प्रयोग गरिरहेका छौँ । चेक ड्याम बनाउने, बायो इन्जिनियरिङ विधि पनि प्रयोग गरेका छौँ । त्यो यथेष्ट भएन होला त्यो आफ्नो ठाउँमा छ । हाम्रो जस्तो भौगोलिक अवस्था भएको देशमा यो चुनौती सधैँ रहन्छ नै ।
(भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा सडक विभागका पूर्व महानिर्देशक थापासँग बैद्यनाथ पौडेलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव हुनुहुन्छ ।