पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

 असार २७, २०८० बुधबार १७:१९:३९ | रासस
unn.prixa.net

काठमाण्डौ – ‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविकरूपमा अन्तरसङ्घर्ष भइहाल्छ तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम भट्टराईजी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु’, झन्डै एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ । 

निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित हुनुभएका सीताको आज बिहान निधन भएको उहाँको उपचारमा संलग्न प्रा. डा. युवराज शर्माले जानकारी दिनुभएको थियो । खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम् पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन् । 

सञ्चारकर्मीसँगको एक भेटमा सीताले भन्नुभएको थियो, ‘पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए । मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थेँ ।’

तत्कालीन नेकपा (माओवादी) भित्रका अन्तरविरोध समाधान गर्न उहाँले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ । लामो समय डा. भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहनुभएका विश्वदीप पाण्डेका अनुसार देशमा भएको राजनीतिक परिवर्तनमा उहाँले खेलेको भूमिका महत्वपूर्ण छ ।

‘यो परिवर्तनमा तपाईँको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ । सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो । तपाईँको महाप्रस्थानमा निकै दुःखी छु । तपाईँको अभाव महसुस भइरहनेछ’, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘केही वर्षदेखि तपाईँलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरू भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईँको सबैभन्दा बढी अभाव खड्किनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल । खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना ।’ 

पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराउनुभयो । माओवादी जनयुद्धको समयमा उहाँले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्नुहुन्छ माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा । ‘हामी सबैको आमाका रूपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो’, उहाँले भन्नुभयो ।  

जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए । नेताहरू मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उहाँहरूसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । यदि त्यस दिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्नुहुन्छ । 

माओवादीका नेताहरूका अनुसार सीता प्रचण्ड पत्नीमात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत हुनुहुन्थ्यो । माध्यमिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिनुभएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्त्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ । 

प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ । जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो । छोरा प्रकाशको पनि छ वर्ष पहिले निधन भयो । आज पत्नी सीताको पनि निधन भयो । 
    
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मनुभएकी सीता आठ वर्षको हुँदा पारिवारसँगै चितवन बसाइँ सर्नुभएको थियो । औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उहाँ पढेलेखेका महिलाभन्दा कम हुनुहुन्नथ्यो ।

विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो । उहाँले २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमानको भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो । 

माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रूपमा पुर्‍याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन । खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहनुभएका सीतालाई बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो । 

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै अहिले माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । सीता देशमा जनयुद्ध शुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी हुनुभएको थियो । 

महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, नागरिक र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्नुहुन्छ । पार्टी पङ्क्तिले अभिभावकका रूपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिनु भएन । 

लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रूपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रूपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउनुहुन्छ । ‘पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो । त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि ?’, उहाँले भन्नुभएको छ ।  

माओवादी नेताहरूका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो । त्यस बेला सीता उपचारका क्रममा भारतमा हुनुहुन्थ्यो । पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उहाँले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाउनुभएको थियो । 

‘तपाईँहरू सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्’, सीताले भन्नुभएको थियो, ‘जनताको रगत बगिसकेको छ । तपाईँहरूको ताल के हो यस्तो ? यस्तै हो भने तपाईँहरूलाई जनताले छाड्दैनन् ।’ 

यस्तै सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादी नेताहरूको भनाइ छ । प्रधानमन्त्री पत्नी भए पनि उहाँले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा पर्नुभएको थिएन । कवि अर्जुन पराजुलीले त्यही विषयलाई केन्द्रमा राखेर एउटा कविता लेख्नुभएको छ ।  

    श्रीमान् चलाइनौ तिमीले 
    छोराछोरी चलाइनौ 
    न आँखा चलायौ, न नाक चलायौ 
    न रवाफ न धाक चलायौ 
    न हात चलायौ तिमीले 
    न मुख चलायौ 
    बालुवाटारमा बसेर 
    न बालुवाटार चलायौ 
    कसैलाई नचलाईकन आज 
    तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई । 

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उहाँको स्वभाव थियो । माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिस्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । 

जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो । नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया