के हो मङ्कीपक्स ? कसरी जोगिने ?

 असार ८, २०८० शुक्रबार ९:५६:५ | डा. विकास पाैडेल
unn.prixa.net

नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ । असार २ गते ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएपछि नेपालमा पनि जोखिम बढेको छ ।

के हो त मङ्कीपक्स ?

मङ्कीपक्स एक प्रकारको भाइरल सङ्क्रामक रोग हो, जसलाई एमपक्स पनि भनिन्छ । यो रोग मङ्कीपक्स भन्ने भाइरसको सङ्क्रमणबाट लाग्छ ।

मङ्कीपक्स कसरी सर्छ ?

मङ्कीपक्स सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुको सम्पर्कमा आउँदा सर्न सक्छ । कुनै सङ्क्रमित व्यक्ति वा पशुको सम्पर्कमा आएको तीन हप्तभित्रमा अर्को स्वस्थ व्यक्तिमा यो रोग सर्न सक्छ ।

सङ्क्रमित व्यक्तिको नजिक जाँदा, सँगै बस्दा, श्वासप्रश्वासको माध्यमबाट वा सङ्क्रमित व्यक्तिको शरीरबाट निस्केको तरल पदार्थ जस्तै– थुक, र्‍यालबाट पनि सङ्क्रमण सर्न सक्छ । चुम्बन गर्दा, यौनसम्पर्क गर्दा वा सङ्क्रमित गर्भवती आमाबाट बच्चामा पनि मङ्कीपक्स सर्न सक्छ ।

सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै– लुगा, भाँडा र अरू वस्तु छुँदा वा प्रयोग गर्दा, एउटै शौचालय प्रयोग गर्दा मङ्कीपक्स सर्ने सम्भावना रहन्छ ।

सङ्क्रमित व्यक्तिको शरीरमा आउने फोका, घाउ बनेर खाटा लागेर नझरेसम्म वा रोग निको भएको कम्तीमा एक महिनासम्म अरूमा सङ्क्रमण सर्न सक्छ । रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिबाट एक महिनाभन्दा लामो समयसम्म सङ्क्रमण सर्न सक्छ ।

बाँदर, लोखर्केलगायतका सङ्क्रमित जनावरको सम्पर्कमा आउँदा पनि मङ्कीपक्स सर्न सक्छ । 

लक्षणहरू :

मङ्कीपक्स भएपछि अनुहारबाट फोकाहरू आउन सुरु हुन्छ र हातखुट्टा हुँदै बिस्तारै शरीरभरि फैलिन्छ । शरीरमा आएको फोकामा बिस्तारै पानी भरिँदै, पाक्दै ठूलो हुँदै जान्छ र एकदमै दुख्छ । घाउका खटिरा एकैचोटि जिउभरि आउँछन् । मङ्कीपक्समा शरीर दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, सुनिने, ढाड दुख्ने, मांसपेशी दुख्नेजस्ता लक्षणहरू देखिन्छन् । 

मङ्कीपक्स ठेउलासँग मिल्दोजुल्दो हुन्छ । ठेउला र मङ्कीपक्स गराउने किटाणु फरक भए पनि यसका लक्षणहरू उस्तै–उस्तै देखिन्छन् । मङ्कीपक्समा देखिने फोका ठेउलामा भन्दा अलि ठूलो हुन्छ । मङ्कीपक्स हुँदा आउने फोका चिलाउने भन्दा बढी दुख्ने हुन्छ । तर मङ्कीपक्स हो कि होइन भनेर थाहा पाउन अस्पताल नै जानुपर्छ । 

कुनै कुनै अवस्थामा जटिल समस्या देखिन सक्छ । जस्तै– आँखामा फोका आए दृष्टिमा समस्या हुन सक्छ । मुखमा आएको फोकाले खाना निल्न गाह्रो हुन्छ । मलद्वारमा फोका आए दिसापिसाब गर्दा अप्ठेरो हुने र रगत पनि देखिन सक्छ । फोकामा ब्याक्टेरियाको सङ्क्रमण भयो भने छालामा दाग धब्बा देखिने सम्भावना पनि रहन्छ । रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई घाउ निको हुन लामो समय पनि लाग्न सक्छ ।

मङ्कीपक्सको लक्षण देखिएमा के गर्ने ?

मङ्कीपक्स शङ्का लागे तुरुन्तै नजिकैको स्वास्थ्य संस्था जानुपर्छ । स्वास्थ्य संस्थाको पहुँच नभएका ठाउँमा बिरामीलाई घरभित्रै आइसोलेशनमा राख्ने, सङ्क्रमण पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । 

यस्तै सङ्क्रमित व्यक्ति सकेसम्म घरबाहिर ननिस्किने, निस्किनै परे मास्क लगाउने गर्नुपर्छ । घाउलाई छोप्नुपर्छ । हाच्छिउँ गर्दा नाक मुख छोप्नुपर्छ र बाहिर जथाभाबी थुक्न र जहाँ पायो त्यहीँ छुन हुँदैन ।

घरमै आइसोलेशनमा बस्दा घाउ छोपेर नराख्ने, सकेसम्म छुट्टै कोठामा बस्ने, आप्mनो स्याहारसुसार आफैँले गर्ने र छुट्टै शौचालय प्रयोग गर्ने गर्नुपर्छ । ज्वरो आउँदा ज्वरोको औषधि खाने, प्रशस्त पानी पिउने गर्नुपर्छ । सङ्क्रमितले सरसफाइमा ध्यान दिनुपर्छ । 

मङ्कीपक्स लाग्नै नदिन के गर्ने ?

मङ्कीपक्स लागेको व्यक्तिको सम्पर्कमा नआउने । सङ्क्रमित व्यक्ति र जनावरबाट सङ्क्रमण सर्ने भएकाले सचेत रहने । सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले तुरुन्तै स्वास्थ्य परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह, ठाउँ वा कोठा डिटर्जेन्टले निःसङ्क्रमण गर्नुपर्छ । मासुजन्य खानेकुरा राम्ररी पकाएरमात्र खाने गर्नुपर्छ । फोहरलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ । 

नियमितरूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका लुगा र भाँडाहरू तातो पानी, साबुन वा डिटर्जेन्टले धुने । यी उपाय अपनाउने हो भने मङ्कीपक्सबाट जोगिन सकिन्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. विकास पाैडेल

पाैडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका छालाराेग विशेषज्ञ हुनुहुन्छ ।
 

तपाईको प्रतिक्रिया