उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
नेपालबाट रोजगारीको लागि खाडी र मलेसिया जाने लहर पछिल्लो समय युरोपतिर मोडिएको छ । खाडी मलेसियाबाट फर्केकाहरु हुन् या उच्च शिक्षा सकेर बसेकाहरु, युरोपको रोजगारी भनेपछि ठूलै उपलब्धी ठान्छन् । कति त देशमै गरिरहेको व्यवसाय छाडेर, भएको जागिर नै राजीनामा दिएरसमेत युरोप जान लालायित हुन्छन् । ८/१० लाख रुपैयाँ तिरेरै भए पनि एकपटक युरोप छिर्न पाए हुन्थ्यो भन्ने सपना साँच्छन् । तर काभ्रेका सुजन चौलागाईं भने यस मामलामा अपवाद बन्नुभयो ।
६ वर्ष पहिले वैदेशिक रोजगारीको लागि युरोपेली देश पोल्याण्ड जान अन्तर्वार्ताको लागि भारतको नयाँ दिल्ली पुग्नुुभएको थियो सुजन । दुई महिनापछि बल्ल अन्तर्वार्ता भयो । तर अन्तर्वार्ता दिएपछि भने सुजन पोल्याण्ड नजाने मनस्थितिमा पुग्नुभयो । कारण थियो तलब चित्त नबुझ्नु ।
‘मलाई जुन सम्झौता गरेर दिल्ली लगेको थियो, त्यो भएन, एग्रिमेन्ट चेन्ज भयो, अनि मैले पोल्याण्ड जाने सोच रद्ध गरेँ’, ६ वर्ष पहिलेको क्षण सम्झिँदै सुजन भन्नुहुन्छ, ‘सुरुमा एक हजार युरो कमाइ हुन्छ भनेको थियो तर पछि पाँच सय युरो मात्र कमाइ हुने कुरा गर्यो, त्यत्तिको लागि पनि विदेश के जाने भन्ने लाग्यो मलाई ।’
अन्तर्वार्ता कुर्दाको फुर्सदिलो समयमा सुजनले दिल्ली घुम्नुभयो । बाटोमा हिँड्दै गर्दा अनेक व्यवसाय देख्नुभयो । नियाल्नुभयो । दीलवालोंका सहर दिल्लीमा सुजनको दील बस्यो त्यहाँका उद्यम तथा व्यवसायहरुमा । कमाइका विभिन्न तरिकामा । त्यही क्रममा उहाँले लन्ड्री (लुगा धुने) व्यवसाय अनलाइनबाटै गरेको थाहा पाउनुभयो । प्रत्यक्ष रुपमा कम्पनी भ्रमण त गर्नुभएन तर यसरी पनि यो व्यवसाय गर्न सकिँदो रहेछ है भन्ने कुरा बुझ्नुभयो ।
एक व्यवसायीको रुपमा नागरिकका आवश्यकतालाई कसरी ‘डेलिभर’ गर्न सकिन्छ भन्नेबारे सुजन पहिलेदेखि नै राम्रैसँग जानकार हुनुहुन्थ्यो । वि.स. २०६५ सालमा काठमाण्डौ लोडसेडिङको अँध्यारोमा रुमल्लिरहेको थियो । त्यही बेला उहाँले नागरिकको त्यही समस्यालाई व्यवसायमा उतार्नुभयो र केही वर्ष इमर्जेन्सी लाइटको पसल चलाउनुभयो । मौकामा राम्रै कमाइ पनि गर्नुभयो । तर पछि काठमाण्डौ लोडसेडिङमुक्त भयो । त्यसको असर उहाँको व्यापारमा पर्यो । त्यहीबेला नेपाली युवाहरुमा वैदेशिक रोजगारीको लागि युरोपेली देश जाने लहर सुरु हुँदै थियो । त्यही लहरमा मिसिएर सुजनले पनि पोल्याण्डको सपना देख्नुभएको थियो । तर त्यो सपनालाई उहाँले दिल्लीमै त्याग्नुभयो । त्यसपछि उहाँ सरासर नेपाल फर्किनुभयो र उताको जस्तै गरी नेपालमा पनि धोबी व्यवसाय कसरी गर्न सकिन्छ भन्ने अध्ययनमा जुट्नुभयो ।
एउटा भनाइ छ, ‘फरक काम गर्नु भन्दा त्यही कामलाई फरक तरिकाले गर्दा सफल भइन्छ ।’ सुजनले पनि नयाँ काम गर्नु भन्दा चलनचल्तीकै कामलाई नौलो ढंगले गर्ने आँट गर्नुभयो । धेरैले अँगाल्दै आएको लुगा धोइदिने काम अर्थात् लन्ड्री व्यवसायलाई ‘स्मार्ट’ तरिकाले कसरी गर्ने भनेर बुझ्नमै ६ महिना लगाउनुभयो । अनलाइन, युट्युब हेर्नुभयो । चाहिने सामानदेखि कसरी सेवा दिने लगायत सबै कुराबारे राम्रोसँग जानकारी बटुल्नुभयो । काठमाण्डौमा पानीको समस्या र व्यस्त दैनिकीका कारण लुगा धुनै पाइएन भन्ने गुनासा त सुन्नु भएकै थियो । नागरिकको समस्या समाधान पनि हुने र आफ्नो व्यवसाय पनि चल्ने लागेपछि २०७५ साल बैशाखमा सुरु गर्नुभयो स्मार्ट धोबी नेपाल ।
यही नाम जुराउनुको कारण बताउँदै सुजन भन्नुहुन्छ, ‘धोबीको कामलाई स्मार्ट तरिकाले गर्ने र नेपालमै गर्ने भएकाले स्मार्ट धोबी नेपाल नाम राखेको हुँ ।’
लुगा धोइदिने काम कसरी स्मार्ट ढंगले भइरहेको छ त ?
यसमा सुजनको तर्क छ, ‘हामीले अर्डर लिने काम अनलाइनबाटै गर्छौँ, कसैले हामीबाट सेवा लिन चाहनुहुन्छ भने हामी उहाँकै घरमा पुगेर कपडा लिएर आउँछौँ र धोएर भनेकै समयमा पुर्याइदिन्छौँ । भएन त स्मार्ट ?’ उहाँको अर्को तर्क छ, ‘हाम्रो मुख्य ध्यान भनेको पैसा कमाउनेभन्दा पनि सेवाग्राहीलाई खुसी पार्ने हो, त्यसैले उपत्यकाभित्र पिकअप र डेलिभरी चार्ज लिँदैनौँ, फाइनेस्ट वासमा हाम्रो जोड हुन्छ ।’
स्मार्ट धोबी नेपाल नामकाे फेसबुक पेज छ । लुगा धाेइमाग्न कतिले यही पेजमा म्यासेज गरेर अर्डर गर्छन् भने कतिले फाेन गरेरै अर्डर गर्छन् । सुरु सुरुमा सुजनलाई अप्ठेरो परेको थियो ग्राहक बनाउन । अहिले त धेरैले थाहा पाइसके यसबारे । ग्राहक र व्यवसायबीचको पुल अनलाइनले गरे पनि लुगा धोइदिने काम भने पानीबाटै र मेसिनबाटै हुन्छ ।
काठमाण्डौको बौद्धस्थित नयाँबस्तीमा छ स्मार्ट धोबी नेपालको कार्यालय । यहीँ धोइन्छन् लुगा । केही आफूसँग भएको र केही ऋण गरेर दश लाख रुपैयाँ लगानीमा सुरु गरेको कम्पनीमा अहिलेसम्म आइपुग्दा २० लाख रुपैयाँको लगानी भइसकेको छ । वासिङ मेसिन, ड्रायर मेसिन लगायत लुगा धुनको लागि आवश्यक मेसिनहरु सुजनले केही नेपालमै र केही भारतबाट मगाउनुभएको छ ।
सुजनले अहिले लन्ड्री र कार्पेट क्लिनिङमा काम गरिरहनुभएको छ । होटेल, स्पादेखि अस्पतालसम्मका कपडा आइपुग्छन् स्मार्ट धोबीमा । ब्लांकेट, पर्दा तथा सामान्य लगाउने कपडा धुन एक किलोको एकसय तीस रुपैयाँ लिनुहुन्छ । यही कपडालाई आइरन पनि लगाइमागे दुई सय रुपैयाँ प्रतिकिलो पर्छ । यस्तै कोट, सारी, लेहेङ्गा धोएको दुईसय पचास देखि तीन सयसम्म पर्छ ।
सुजनले आफ्नो कम्पनीमा पाँच जनालाई रोजगारी दिनुभएको छ । लुगा धुने, धोएका लुगालाई सुकाउने, ग्राहकको मागअनुसार धोएका कपडामा आइरन लगाउने । ग्राहकबाट कपडा ल्याउने र पुर्याउने । यस्तै यस्तै काम गर्नुपर्छ । कुनै समय रोजगारीको लागि आफै परदेशिन लागेका सुजन अहिले पाँच जनालाई रोजगारी दिएर नेपालमै व्यवसायी बन्नुभएको छ । यो कुराले उहाँलाई आत्मसन्तुष्टि मिल्छ । ‘विदेश गएको भए के हुन्थ्यो मैले कमाउँथे होला, तर म यहाँ बसेर अरु पाँच जनाले पनि कमाइरहनुभएको छ नि’, सुजन सन्तुष्ट सुनिनुहुन्छ । आत्मसन्तुष्टिसँगै आम्दानी पनि राम्रै छ सुजनको । सबै खर्च कटाएर महिनामा डेढ लाख रुपैयाँ कमाइ हुने उहाँ बताउनुहुन्छ ।
स्मार्ट धोबी सुरु गरेपछि कमाइ सँगसँगै सुजनले युवा उद्यमशीलताको क्षेत्रमा नाम पनि कमाउनुभएको छ । रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा अन्तर्वार्ता दिनुभएको छ । उहाँका अन्तर्वार्ता सुनेर तथा पढेर धेरैले उहाँलाई सम्पर्क गर्छन् । आफ्नो अन्तर्वार्ता सुनेर कतिले विदेश जाने सपना त्यागेर नेपालमै केही काम थालेको भन्दै आफूलाई सुनाउने गरेको पनि सुजन सम्झिनुहुन्छ ।
‘कहिलेकाहीँ नयाँ नम्बरबाट फोन आउँछ, तपाईंको बारेमा पढेर, तपाईंलाई सुनेर मैले पनि नेपालमै केही गर्ने सोचेँ भन्नुहुन्छ, साह्रै खुसी लाग्छ यस्तो सुन्दा ।’
यस्तै कतिपयले लन्ड्री व्यवसाय कसरी गर्ने भनेर सिक्न चाहन्छन् । त्यसैले सुजनले यसरी सिक्न चाहनेलाई एक हप्ते तालिम पनि दिनुहुन्छ । तालिममा कस्ता मेसिन प्रयोग गर्ने, लुगा धुने केमिकलको छनौटदेखि व्यवसाय गर्ने तरिका सबै सिकाउनुहुन्छ ।
अहिले बर्सेनि लाखौँ युवा रोजगारीका लागि परदेशिन्छन् । यसरी परदेशिनेमध्ये धेरैको गुनासो हुन्छ, नेपालमा रोजगारी छैन वा नेपालमा काम गर्ने वातावरण नै छैन । तर यस विषयमा सुजन भन्नुहुन्छ, ‘नेपालमा काम गर्ने वातावरण प्रशस्तै छ, बजारको अध्ययन गरेर गर्नुपर्यो ।’
जसरी आफूले युरोपेली देश जानको लागि जोरजार पारेको पैसाले व्यवसाय थाल्नुभयो त्यसरी नै सबैले यो कदम उठाउन सक्ने उहाँको भनाइ छ ।
‘व्यवसायको गति सधैँ उही रहँदैन । यसमा उतारचढाव भइरहन्छ । त्यसको लागि लगनशीलता र निरन्तरता चाहिन्छ’, उहाँ भन्नुहुन्छ, ‘समयसँगै आफूलाई ढाल्दै गएमा र ग्राहकलाई खुसी पार्न सके व्यवसाय टिकाउन सकिन्छ ।’
स्मार्ट धोबी सुरु गरेदेखि अहिलेसम्म सुजनलाई पछुताउनुपर्ने अवस्था आएको छैन । तर कहिलेकाहीँ यस्ता प्रश्नको सामना भने गरिरहनुपर्छ ।
यसबारे सुजनको धारणा प्रष्ट छ, ‘त्यतिबेला हजार युरो तलबमै पनि पोल्याण्ड गएको भए मलाई पछुतो हुने थियो होला । किनकी त्यहाँ कमाउन्जेल हो, त्यहाँबाट फर्केपछि त मसँगै केही हुने थिएन नि । अहिले यो व्यवसाय छ । थोरैलाई भए पनि रोजगारी दिएको छु । पछुताउनुपर्ने कुनै कारण छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।