नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
मजदुरको हकहितका लागि भनेर संसारभर प्रत्येक वर्ष मनाइने मे दिवस नेपालमा पनि मजदुर तथा श्रमिकको हक, अधिकार र मुखरित हुन नसकेको आवाजलाई अगाडि ल्याउनु नै हो । तर, जुन उद्देश्यका साथ मजदुर दिवस मनाइने हो त्यसले आफ्नो लय समाउन नसक्दा न वास्तविक मजदुरलाई त्यसमा चासो छ न फुर्सद नै ।
मजदुर दिवसले मजदुरका हकहितका सवालमा आवाज बुलन्द गर्न नसक्दा आज १ सय ३४ औँ मजदुर दिवस मनाउँदै गर्दा पनि याे केवल कर्मकाण्डकारुपमा मात्र सीमित हुन पुगेको छ ।
२० वर्षदेखि मकै पोलेर गुजारा गर्दै आउनु भएकी साइँली तामाङलाई मजदुर दिवस वा मे डे भनेको के हो थाहा छैन । ओखलढुंगा सोताङ गाउँपालिकाकी ६० वर्षीया तामाङलाई मजदुर दिवस मजदुरका हकहितका लागि मनाइन्छ वा मनाउनु पर्छ भन्ने विषयमा केही जानकारी छैन । उहाँलाई थाहा भएको भनेको कालीमाटीबाट मकै ल्याउने पोलेर बेच्ने र गुजारा टार्ने हो । त्यो बाहेकका केही कुरा उहाँलाई थाहा छैन । उहाँ भन्नुहुन्छ, ‘यो मजदुर दिवस सिवस भनेको केही थाहा छैन । आफूले मकै ल्याएर पोलेर नबेचे कसैले खान दिँदैनन् । त्यै त नगरपालिकाले बसेर पोल्न दिए हुन्थ्यो ।’
पहिले उहाँ ललितपुरको जावलाखेलमा बसेर मकै बेच्नुहुन्थ्यो । अहिले महानगरले त्यहाँ बस्न नदिएपछि उहाँ मानभवनमा बसेर मकै बेच्नुहुन्छ । एक घोगा मकै ३५ रुपैयाँमा बेच्ने उहाँको दिनमा झण्डै ३०/४० घोगा बिक्री हुन्छ । सधैँ यति नै हुन्छ भन्ने छैन । खुला आकाशमुनि बसेका कारण पानी, हुरीमा बेच्ने भन्ने कुरा हुँदैन । यही पैसाले कोठाभाडादेखि नुनतेल टार्नुपर्छ । यसकारण उहाँलाई मे दिवससँग कुनै चासो पनि छैन ।
उहाँ भन्नुहुन्छ, ‘दिवसले हामीलाई केही हुँदैन । थाहा पाएर पनि के काम ?’
ललितपुर बडीखेलका ७० वर्षीय रामबहादुर पहरीको काम भनेको डोको, डालो, नाङ्लो बुन्ने हो । उहाँको पुर्ख्याैली पेसा पनि हो यो । तर,यसैले गुजारा भने चल्दैन । थोरै खेतीपाती छ त्यसैले केही भरथेग गर्छ । अहिले भने डोकोको त्यति धेरै प्रयोग नहुने हुँदा उहाँ अचेल भने नाङ्लो बुन्ने काममा बढी व्यस्त हुनुहुन्छ । एउटा नाङ्लोको हेरीहेरी ४ सयदेखि ५ सयसम्म लिने पहरी अचेल भने नाङ्लो, डालो बुन्न बााँस नपाउने हुनाले चिन्तित हुनुहुन्छ । उहाँलाई पनि मजदुर दिवसका बारेमा थाहा छैन ।
उहाँ भन्नुुहुन्छ, ‘खोइ यस्तो केही थाहा छैन । केही जान्दैन ।’
काभ्रेपलाञ्चोक बेथानचोककी ५० वर्षीया सरस्वती नेपाली ललिपुरको इमाडोलमा लुगा सिउने काम गर्नुहुन्छ । पहिले उहाँको पसल इमाडोलको कृष्णप्रणामी मन्दिर चोकमा थियो । अहिले रातामकै चोकभन्दा अलि तल सरेको तीन वर्ष भयो । उहाँ नयाँ लुगा सिउनेभन्दा पनि पुराना लुगाहरुको मर्मत धेरै गर्नुहुन्छ । यसमा खासै पैसा त छैन । तर पनि काम नगरि बस्ने कुरा पनि भएन ।
सानो तिनो मर्मतको ५० रुपैयाँदेखि सय रुपैयाँ लिने उहाँको गुजारा भने यसैले चल्दैन । गुजाराका लागि भने उहाँको श्रीमानको वर्षादी तथा ज्याकेट बनाउने पसल छ । मजदुर दिवसका बारे उहाँ पनि जानकार हुनुहुन्न ।
उहाँ भन्नुहुन्छ, ‘खोइ मैले त खासै सुनेकै छैन । अब हामी भनेको काम गर्ने खाने हो । सबै कुरा कहाँ थाहा हुन्छ र । त्यसमाथि पढेको पनि छैन ।’
भक्तपुर जगातीका श्रीकृष्ण न्याछ्योँ ट्र्याक्टर चलाउनुहुन्छ । उहाँ सामान्यतया एक ट्रिपमा ४ सयदेखि ५ सयसम्म सामान र दूरी हेरर भाडा लिनुहुन्छ । कहिले ट्रिप राम्रै पनि हुन्छ कहिले हुँदैन । तर, ट्राफिकले दुःख दिएर हैरान बनाउने उहाँको गुनासो छ । सामान्यतया महिनाको २५/३० हजार रुपैयाँ कमाइ हुन्छ । यसले घरमा भरथेग हुन्छ । त्यसका अलावा खेतीले पनि धेरै धानेको छ ।
आठ कक्षासम्म पढेको उहाँलाई मे दिवसका बारेमा थाहा छ । तर, रुचि भने छैन । देशको बिग्रँदो राजनीति अनि नेताहरुले आफ्नो स्वार्थ अनुरुप काम गर्ने गरेकोले उहाँलाई राजनीतिमा रुचि नभएको हो । उहाँ भन्नुहुन्छ, ‘मे दिवस भनेर कसैले मजदुरका लागि केही गर्ने होइन । त्यो भन्दा त आफ्नो काम गर्यो खायो । कुरै सकियो ।’
रसुवा कालीका गाउँपालिकाकी सरस्वती आचार्य तरकारी बेच्ने काम गर्नुहुन्छ । लगानीका लागि धेरै पैसा नभएका कारण गाडा वा पसल नगरि फिँजाएरै उहाँ सडक पेटीमा तरकारी बेच्नुहुन्छ । अहिले उहाँको पसलमा लट्टे, धनियाँ र लुँडेको साग छ । थोरै पैसाले नै केही मुनाफा होस् भनेर उहाँले स्थानीयरुपमा उत्पादन भएका सागसब्जी र अरु समयमा पनि मौसम अनुसारका तरकारी बेच्नुहुन्छ । लट्टे र लुँडेको साग अहिले उहाँले मुठाको पच्चीस रुपैयाँमा बेचिरहनु भएको छ । यसरी थोरै व्यापार गर्दा पनि महिनाको २०/२५ हजार रुपैयाँ हुन्छ जस्ले गर्दा उहाँलाई केटाकेटी पढाउन सजिलो भएको छ । उहाँको श्रीमान निजी अफिसमा काम गर्नुहुन्छ भने छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हेर्दा थोरै भए पनि कमाइ राम्रै छ । यसले अरु भन्दा पनि केटाकेटी पढाउन सजिलो भएको छ । श्रीमानको कमाइले घर चल्छ ।’
उहाँलाई मे दिवसका बारेमा राम्रै थाहा छ । श्रमिकको हकहितका लागि भनेर मनाइने यस्तोे दिवसले श्रमिकलाई भने कुनै लाभ नगरेकोमा उहाँ चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हुनत यस्ता दिवसले श्रमिक वा काम गरिखानेको आवाज त उठाउँछ । तर, अब नेताहरुले केवल त्यसको लाभ लिँदा श्रमिकहरु जहिले पनि पीडितको पीडित नै छन् । उनीहरुलाई केही भएको छैन ।’
यी केही प्रतिनिधि पात्र मात्र हुन् जसमा कसैलाई मे दिवसका बारेमा थाहा नै छैन भने कसैलाई राम्रै जानकारी छ तर रुचि छैन । रुचि नहुनुका पछाडि भने मे दिवस जुन उद्देश्यका साथ मनाइन्छ त्यसले त्यही अनुरुपको आचरण र व्यवहार देखाउन नसक्नु नै । मजदुर दिवस मनाउँदै गर्दा मजदुर भने शोषित, पीडित हुनु अनि कामका लागि सधैँ भौँतारिरहनु पर्ने भएका कारण पनि मजदुरमै पनि मे दिवसको खासै चासो देखिँदैन ।
श्रमिकहरुको हकहितका लागि सन् १८८६ को मे १ तारिखमा अमेरिकाको शिकागोमा मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै गरेको आन्दोलनको स्मरणस्वरुप मे दिवस मनाउन थालिएको हो ।
सन् १९८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरुको बैठकबाट पारित भइ विश्व श्रमिक दिवस मनाउने निर्णय गरिएको थियो । त्यसपश्चात सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको १ तारिखलाई विश्व श्रमिक दिवसका रुपमा मनाइन्छ ।
नेपालमा भने २००७ सालमा भएको मजदुर आन्दोलनसँगै मे दिवस मनाउन थालिएको हो । दिवसका रुपमा २००७ सालदेखि नै मनाउन थालिए पनि २०४६ सालदेखि मात्रै मे दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।