एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
डोटी – डोटीसहित यहाँका अन्य पहाडी जिल्लामा अहिले पुतला खेल्ने महिला तथा किशोरीहरुको उल्लेख्य सहभागिता रहेको देखिन्छ । पुतला नाचले यहाँका गाउँघरमा निकै रौनकता बढाएको देखिन्छ । सुदूरपश्चिमलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले यहाँका किशोरी तथा महिला पुतला खेलमा रमाएका दिपायल सिलगढी नगरपालिका–४ की स्थानीय शविता बलायरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुतला खेल हाम्रो मौलिक पर्व हो, वर्षको एक पटक खेल्न पाइने भएकाले हामी अहिले पुतला खेल्नमा रमाएका छौँ ।’ सुदूरपश्चिमका अछाम, बझाङलगायतका गाउँमासमेत पुतला पर्व खेल सुरु भएको जनाइएको छ । परम्परागत रुपमा चल्दै आएको पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा प्रचारप्रसार हुँदै आएको जोरायल गाउँपालिका–५ की स्थानीयवासी दुर्गादेवी विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीका भोगेका पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । पुरानो पुस्तासँगै यो नाच विस्तारै हराउने चिन्ता बढेको महिला बताउँछन् । मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुतला नाच हाम्रो सुदूरपश्चिम चिनाउने नाच (पर्व) हो, यसलाई जगेर्ना गर्न जरुरी छ ।’
नारीका मार्मिक पीरव्यथा झल्काउने यो पुतला नाच गाउँघरमा नारीले छिटो फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पंतिबद्ध भएर बिरहका गीत गाउँदै नाच्दा सुदूरपश्चिमका पहाडी बस्तीमा बेग्लै रौनकता आउँने गर्दछ । पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन नसकेको जनाउँदै बुढापाका चिन्ता व्यक्त गर्न थालेका छन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको केआइसिंह गाँउपालिका–५ रानागाउँकी माधबी शाही बताउनुहुन्छ ।
यहाँ पुतला नाच प्रतेक पर्वको पुसको १५ गतेदेखि माघ ६ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ । यहाँको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातको रुपमा लिई रातभरी गाउँखाने कथा भन्ने, जाग्राम बस्ने, तरुल, सकरखण्ड खाने रातको रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातिदेखि पुतला पर्वको सुरुवात हुने गरेको अर्की स्थानीयवासी धौलीदेवी विष्टले जानकारी दिनुभयो । पुतला पर्वलाई त्यहाँ ठाउँ अनुसार फरक–फरक नामले भन्ने गरिन्छ ।
कुनै ठाउँमा पुतला तथा कुनै ठाउँमा रनपुतला भन्ने चलन रहेको उहाँको भनाइ छ । परापूर्व कालदेखि नै चलिआएकोले कतिपय ठाउँमा संरक्षणको लागि मठ मन्दिर, पुराना धारा, पाटीपौवा नजिकै पुतला सेलाउने गर्दछन् । यो पर्व सयौं वर्षभन्दा अगाडिदेखि सुरुआत भएको पुतला पर्वमा विवाह भएका नभएका छोरीचेली राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी डेउडालगायतका खेल खेल्ने पर्व भएको दिपायल सिलगढी नगरपालिका–४ का वडा अध्यक्ष अशोक सोवले जानकारीदिनुभयो । उहाँका अनुसार विवाह गरेर पराई घर गएकी छोरीबहिनी (महिला) माघी पर्व र बिसौं पर्वको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् ।
सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरकोे मुख्य संस्कृतिको रुपमा हेरिँदै आएको छ । परम्परागत रूपमा चल्दै आएको पुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँगाउँमा आपसी सद्भावको सेतु यसै पर्वले दोहोर्याएको छ ।
सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक भेषभूषा लुकेका छन्, यस्ता संस्कृितलाई जोगाउनको लागि भए पनि पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी हुनुका साथै पालिका तहले कलाको संरक्षणमा ध्यान दिनुपर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमका विभिन्न संस्कृतिमध्ये पुतला पर्व मौलिक पर्व हो, सरकारी क्षेत्रबाट पनि यसको संरुक्षण गरिनु जरुरी छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।