नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शेयरबजार लगातार उच्च अङ्कले बढिरहेको छ । विभिन्न बिदाका कारण पुसको ७ गतेपछि ११ गतेसम्म शेयर कारोबार हुन पाएको थिएन । पुसको ७ गते शेयर बजार परिसूचक नेप्से १ हजार ८ सय ६७ बिन्दुमा रहेको थियो । तर नयाँ सरकार गठन भएको पहिलो दिन ११ गते नै बजार ५६ अङ्कले बढ्यो । १८ सय ६७ बिन्दुमा रहेको बजारले १९ सयको बिन्दु पार गर्यो ।
१२ गते पनि शेयरबजार उच्च अङ्कले नै उकालो लाग्यो । १२ गते बजार ५९ अङ्कले बढ्यो भने तीन अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो । १३ गते बजारमा सामान्य करेक्सन देखियो । १३ गते बजार १२ अङ्कले घट्यो भने दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । १४ गते बजार फेरि ५६ अङ्कले बढेर दुई हजार बिन्दुभन्दा माथि पुग्यो । १५ र १६ गते बिदाका कारण कारोबार भएन । १७ गते आइतवार बजार १७ अङ्कले र १८ गते झण्डै १२ अङ्कले बढ्यो । १८ गते मङ्गलवार बजारमा सामान्य करेक्सन देखियो । शेयर बजार मङ्गलवार तीन अङ्कले घट्यो । अब बजार करेक्सनको बाटोमा जान्छ भन्ने अनुमानकाबीच २० गते बुधवार शेयरबजार फेरि झण्डै ६५ अङ्कले बढेको छ ।
नयाँ सरकार गठन भएपछि ८ दिन कारोबार हुँदा बजार दुई सय ५८ अङ्कले बढिसकेको छ । ८ दिन कारोबार भएकोमा ६ दिन नेप्से बढेको छ भने २ दिन सामान्य घटेको छ । कारोबार रकममा पनि सुधार हुँदै गएको छ ।
विष्णु पौडेललाई बजारको साथ
शेयरबजारले अर्थमन्त्री बनेको बेला एमालेका नेता विष्णु पौडेललाई निकै रुचाएको विगत छ । पौडेल अर्थमन्त्री बन्दा शेयरबजारले दुई पटकसम्म रेकर्ड बनाएको छ । २०७२ सालमा विष्णु पौडेल अर्थमन्त्री बन्दा शेयरबजार ‘बुलिस ट्रेन्ड’ मा थियो । २०७२ सालमा बजारले १८ सय ८१ बिन्दुको कीर्तिमान कायम गरेको थियो ।
त्यसपछि एमालेकै अर्थमन्त्री बने पनि बजारले रुचाएन । एमालेले २०७४ सालमा केपी शर्मा ओलीको नेतृत्वमा युवराज खतिवडालाई अर्थमन्त्री बनाएको थियो तर बजारले रुचाएन । ६ वर्षसम्म बजारले अर्को रेकर्ड बनाउन सकेन । तर २०७७ सालमा विष्णु पौडेल पुनः अर्थमन्त्री बनेर आएपछि २०७८ सालमा बजारले ३२ सय बिन्दुको नयाँ कीर्तिमान बनायो । अहिले पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि बजार बढेको बढ्यै छ ।
लगानीकर्ताको मनोबल उच्च छ, लगानीको उत्तम अवसर छ : भट्टराई
पूर्व बैंकर तथा शेयर बजारका विश्लेषक अनलराज भट्टराई नयाँ सरकारप्रति नागरिकको भरोसा रहेको र आर्थिक सूचक केही सकारात्मक हुँदा बजार बढेको बताउनुहुन्छ । बजार बढ्नका लागि आर्थिक सूचक राम्रो भएर मात्रै नपुग्ने भएकाले विगतमा आर्थिक अवस्था राम्रो हुँदा पनि शेयर बजार बढ्न नसकेको उहाँको भनाइ छ । तर अहिले आर्थिक सूचकहरू धेरै राम्रो नभए पनि सरकारप्रतिको भरोसा र मनोबलकै कारण बजार बढ्न थालेको भट्टराईले बताउनुभयो ।
‘अहिले अर्थतन्त्रका बाह्य सूचक केही सुधार भए पनि आन्तरिकतर्फको सूचक खासै राम्रो देखिएको छैन तर लगानीकर्ताको मनोबल उच्च देखियो । विशेष गरेर नयाँ सरकारका अर्थमन्त्रीलाई लगानीकर्ताले पहिलेदेखि नै रुचाउँदै आएका थिए अहिले पनि त्यै देखियो’, भट्टराईले भन्नुभयो ।
तरलता अभावको समस्या बिस्तारै समाधान हुँदै गएको, ब्याजदर घट्ने सम्भावना रहेको, प्रधानमन्त्री र अर्थमन्त्रीले पटक पटक अर्थतन्त्रको बारेमा चासो राखेका कारण पनि शेयरबजारमा लगानी गर्नेहरु केही हदसम्म ढुक्क बनेको देखिएको उहाँको भनाइ छ ।
‘लगानीकर्तामा अहिले बजारप्रति मनोबल बढिरहेकाले नेप्सेको उकालो यात्रा जारी रहने सम्भावना छ, अहिले लगानी गर्न उत्तम हुन्छ भन्ने मलाई लागेको छ तर लगानीकर्ता आफैंले उचित मूल्याङ्कन गरेर निर्णय लिनुपर्छ,’ अनलराज भट्टराईले भन्नुभयो ।
बजार घट्दा नआत्तिने र बढ्दा नमात्तिने लगानीकर्ताले जहिले पनि शेयरबजारबाट कमाउने सक्ने उहाँको भनाइ छ । ‘धेरै नाफाको लोभ गर्नु हुँदैन, बढेको बेला धेरै होल्ड नगरि किनबेच गरिरहनुपर्छ, घटेको बेला पनि किनेर महँगोमा किनेको शेयरको औसत मूल्य कम गर्नुपर्छ,’ भट्टराईले सुझाव दिनुभयो ।
बजार बढेको बेला धेरै ढुक्क भएर आफूसँग भएको सबै पैसा लगानी गर्दा बजार एकैपटक ओरालो लाग्यो भने समस्या हुने भएकाले आफूसँग भएको रकमको ५० प्रतिशत हाराहारी पैसा मात्रै शेयरबजार लगानी गर्न भट्टराईको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।